कञ्चनपुर- प्लास्टिकको बोरामा चामल, दाल, नुन, तेललगायत सामग्रीका पोका बोकेर दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका बाढी पीडित शनिबार चाँदनी बजारको चोकमा बसेका थिए । गृहमन्त्री रमेश लेखक दोधारा चाँदनी पुगेको खबर पाएपछि उनीहरू सरकारलाई उपहार दिन उक्त राहत सामग्री बोकेर आएका हुन् । त्यसको दुई दिनअघि उनीहरूले दोधारा चाँदनी नगरपालिकाको कार्यालयमा पुगेर नगरप्रमुख किशोर लिम्बुलाई राहत उपहार दिन खोजेका थिए । नगरप्रमुख लिम्बु कार्यालयमा नभेटिएपछि उनीहरू प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्रालाई ज्ञापन बुझाएर फर्किएका थिए ।

गत साता जोगबुडा नदीमा आएको बाढीले विस्थापित भएका स्थानीय विभिन्न संघसंस्थाबाट पाएको राहत बोकेर ‘अब राहत होइन पक्की तटबन्ध बनाइदेऊ’ भन्दै नगरप्रमुखदेखि गृहमन्त्रीसम्मलाई हारगुहार गरिरहेका हुन् । ‘पानी पर्ने बित्तिकै हामीलाई बाढीको त्रास हुन्छ, जहिल्यै विस्थापित हुने नियति कहिलेसम्म ?’ दोधारा चाँदनी–८ की कमला खडकाले भनिन्, ‘एक बोरा राहत दिएर भुल्याउने काम भइरहेको छ, अब हामीलाई राहत होइन जोगबुडा नदीमा पक्की तटबन्ध चाहियो ।’

गत साता जोगबुडा नदीमा आएको बाढीले सुरन्दरनरगका २५ परिवार विस्थापित भएका थिए । यो पटक मात्रै होइन गत वर्ष असार पहिलो साताको भीषण वर्षापछि आएको बाढीले सुन्दरनगर बस्ती पूरै डुबानमा परेको थियो । त्यसअघिका वर्ष पनि यो बस्तीले डुबानको पीडा बेहोर्दै आएको छ । ‘पानी पर्न थालेपछि छाता ओढेर छतमा बस्नुपर्छ, जोगबुडामा पानी बढ्न थालेपछि बालबच्चा काखी च्यापेर भाग्नुपर्छ,’ सुन्दरनगरकी यमुना मगरले भनिन्, ‘विद्यालयमा बस्दा एक/दुई पोका दाल, चामल दिन्छन्, अब हामीलाई त्यो दालचामल चाहिँदैन पक्की तटबन्ध बनाइदिनुपर्यो ।’ गत साताको बाढीले विस्थापित भएकी उनी तीन दिनपछि घर फर्किएकी थिइन् ।

यो पीडा सुन्दरनगर बस्तीको मात्रै होइन दोधारा चाँदनी नगरपालिकामा रहेका जोगबुडा नदी किनारका सबै बस्तीको हो । जोगबुडा नदीमा बाढी आउने बित्तिकै किनारका बस्तीहरू डुबानमा पर्छन् । त्यसपछि स्थानीयलाई सुरक्षित स्थानमा भाग्नुको विकल्प छैन । यस पटक पनि दोधारा चाँदनी–३ पटेरा खल्ला, ८ को सुन्दरनगर, १० को शान्ति टोल र कुतियाकवर क्षेत्रमा ५२ परिवार विस्थापित भएका थिए ।
