झापा– विर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्यका बिक्री केन्द्रहरू प्रभावकारी बन्न थालेका छन ।
नगरका विभिन्न वडामा सातवटा सुपथ मूल्यका बिक्री केन्द्र र विर्तामोडमा मुख्य संकलन केन्द्र सञ्चालन गर्दै आइएको छ । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी संकलन केन्द्रमा जम्मा भएर पसलमार्फत बिक्री हुने गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताए।
उनका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ७३ लाख २३ हजार ५ सय ४० रूपैयाँ मूल्य बराबरको २ सय ७६ मेट्रिकटन तरकारी संकलन भएको थियो।
नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य तोकेर उक्त मूल्य नपाएमा क्षतिपूर्तिबापत रकम भुक्तानी दिने गरेको छ। समर्थन मूल्यभन्दा कम मूल्यमा तरकारी बेचेका २४ जना किसानलाई पालिकाले क्षतिपूर्तिस्वरुप रकम भुक्तानी गरेको उनले बताए।
गत आवमा नगर क्षेत्रका तरकारी किसानलाई नगरपालिकाबाट समर्थन मूल्यबापत १२ लाख ८१ हजार ८ सय ८७ रूपैयाँ भुक्तानी प्रदान गरिएको नगरका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिए।
उनका अनुसार नगरलाई अर्गानिक तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले एक वर्ष अघि पालिकाले तरकारीको समर्थन मूल्य तोकेको थियो । पालिकामा सूचीकृत भएर व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्या एक सय १७ रहेको छ । संकलन केन्द्रबाट ६७ जना किसानले तरकारी बिक्री गर्दै आएको उपप्रमुख संग्रौलाले बताए।
नगरले गत वर्षदेखि ‘पारिको होइन बारीको खाउँ’ भन्ने नारासहित अर्गानिक कृषि प्रवर्द्धनका लागि लगानी गर्दै आएको उनले जानकारी दिए। कृषि शाखाका अनुसार विर्तामोड नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्यबापत प्रतिकिलो काउली २६ रूपैयाँ, बन्दा २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौँला २६, करेला ३२, सिमी ४६, काँक्रा २५, भिण्डी ३६, बैगुन २६, फर्सी ३१, स्क्वास फर्सी २५, भेडे खुर्सानी ५१, बोडी ३०, लौका २७ र टमाटर ३० रूपैयाँ रहेको छ।
किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त होस् भनेर पालिकाले समर्थन मूल्य तोकेर रकम भुक्तानीको व्यवस्था गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले बताइन्। उत्पादित तरकारी बजारीकरणमा समस्या नहोस् भनेर पालिकाले संघीय सरकारको सहयोगमा २६ लाखमा कृषि एम्बुलेन्ससमेत खरिद गरेको उनले जानकारी दिइन्।
ुव्यावसायिक तरकारी उत्पादनमा किसानलाई प्रेरित गर्न हामीले समर्थन मूल्य तोकेका हौँु, नगरप्रमुख प्रसाईँले भनिन्, ‘भारत र पहाडी जिल्लाबाट आएका तरकारीमा अत्यधिक विषादीको मात्र भेटिएपछि अर्गानिक तरकारी उत्पादनमा जोड दिने अवधारणा ल्याएका हौँ।’ नगरमा सबैभन्दा बढी समर्थन मूल्यबापतको भुक्तानी रकम प्राप्त गरेका तरकारी उद्यमी प्रदीप खनालले यसले तरकारी किसानलाई उत्साह र प्रेरणा थपेको बताए। उनले एक वर्षमा समर्थन मूल्यबापत पाँच लाख ३४ हजार ५ सय ११ रुपैया संकलन भएको जानकारी दिए ।
विर्तामोडका तरकारी बिक्री केन्द्र सुपथ मूल्यमा प्रभावकारी बन्दै