बागमतीका मुख्यमन्त्री लामाले आज दिए राजीनामा

गढी न्यूज

हेटौडा– बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् ।
संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न र पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा स्पष्ट पारे ।

मुख्यमन्त्री लामाले पदभार ग्रहणपछिको ३ सय ७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते नियुक्त भएका लामाले भोलिपल्ट ९ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।

लामालाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरी केही दिनअघि संसदीय दलको नेताबाट हटाइएको थियो । दलको नेताको हैसियत गुमेपछि लामालाई मुख्यमन्त्रीबाट हट्नुपर्ने दबाब बढेको थियो । अब कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्ने बताईएको छ ।

 

Share This Article