मकवानपुुरमा बिरामी श्रीमतीको घाटी थिचेर हत्या

गढी न्यूज
मकवानपुर – मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुराली घरमा पतिले बिरामी पत्नीको घाँटी थिचेर हत्या गरेका छन्। शनिबार बिहान ४५ वर्षीय मानबहादुर शिवभक्तीले घरमा कोही नभएको समयमा ४० वर्षीया पत्नी दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिचेर हत्या गरेका हुन् ।
हत्या गरेपछि मानबहादुर स्वयं जिल्ला प्रहरी कार्यालय हेटौंडामा उपस्थित भई पत्नीको हत्या गरेको जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुगेको र उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।मानबहादुरको स्थायी घर भीमफेदी गाउँपालिका–१ हो। उनी बेलाबेलामा ससुराली जाने गरेका थिए। दुर्गालक्ष्मी विगत २ वर्षदेखि प्यारालाइसिसका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा छोराद्वयसहित माइतीघरमा बस्दै आएकी थिइन्। मानबहादुर उनलाई र छोराहरूलाई भेट्न ससुराली जाने गर्थे। हत्या हुनुअघि बिहीबार पनि उनी ससुराली पुगेका थिए।प्रहरीलाई दिएको बयानअनुसार मानबहादुरले पत्नी लामो समयदेखि उपचार सम्भव नभएको अवस्थामा रहेकाले सधैं तनावमा पर्ने गरेको र त्यही तनावकै कारण घाँटी थिचेर हत्या गरेको बताएका छन्।
उनले हत्या पश्चात् झुन्डिएर आत्महत्या गर्ने प्रयास गरे पनि डोरी चुँडिएपछि प्रहरी सम्पर्कमा आएको बताएका छन्।
स्थानीय श्यामलाल थिङका अनुसार ससुराली घरको दोस्रो तलामा डोरी बाँधेर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएको थियो।
Share This Article