काठमाण्डौं–एमालेको एघारौं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वमा को र त्यसको आधार के भन्नेमा बहस बढ्दै गएको छ । ध्रुवीकरण पनि तीव्र बन्दै देखिन्छ । वर्तमान अध्यक्ष केपी शर्मा ओलीकी प्रतिस्पर्धीका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चा पनि छ । सचिवालयदेखि केन्द्रीय कमिटीको अन्तर्य केलाउँदा यो पार्टी ओली गुटकै निजी कम्पनी जस्तो प्रतीत हुन्छ ।
ओली स्वयंले चाहेको अवस्थामा अर्को कार्यकालसम्म नेतृत्वमा अरूको सम्भावना शून्य देखिन्छ । यदाकदा ओलीको विकल्पमा बोलेकाहरू पनि उनको सामुन्नेमा परेपछि ‘गरुडको छायामा परेको सर्प जस्तो’ देखिने गरेको छ ।
यसकारण, उनकै गुटमा रहेर उनीबाटै विरक्तिएका, प्रयोजन सकिएर किनारीकृत हुँदै गएका असन्तुष्ट शीर्ष नेतामा पनि प्रतिस्प्रर्धामा उत्रने हिम्मत देखिँदैन । परिणामतः गणतान्त्रिक नेपालका राष्ट्राध्यक्षका रूपमा शपथ खाइसकेकी र त्यही कारण राष्ट्रिय सम्मान र सुविधामा डुबुल्की मारिरहेकी भण्डारीलाई ओलीको विकल्पका रूपमा अघि सारिएको देखिन्छ । भण्डारी स्वयं पनि सहमतिमै वा चुनावमै जाने माहोल निर्माण र तयारीमा रहेको देखिन्छ ।
हिजो एउटै कित्तामा उभिएका ओली–भण्डारी अहिले किन आमनेसामने भए रु यो क्रम पक्का प्रतिस्पर्धाको तहमा पुगेको हो वा आफ्नो ‘एस म्यान’ लाई सहज नेतृत्व हस्तान्तरण सुनिश्चित गर्ने ओलीको रणनीति हो भनेर शंका गर्ने पनि छन् । धेरैलाई लागेको छ, भण्डारीको हिम्मत र महत्त्वाकांक्षाको आधार वा आडभरोसा ओलीबाहेक के र को रहेछन् रु तर्कवितर्क गर्न सकिए पनि ठोस उत्तर खोज्न भने सहज छैन ।
गृहिणीदेखि एमाले सांसदसम्म
विद्याको विगत र पछिल्लो राजनीतिक यात्रामा उनको विवाहपछिको थर ‘भण्डारी’ लाई छुट्याएर हेर्दा जे देखिन्छ, त्यो यक्ष सवाल हो । कलेज जीवनमै कम्युनिस्ट राजनीति सुरु गरेकी विद्या पाण्डे विवाहपछि मदन भण्डारी पत्नी अर्थात् विद्या भण्डारी बनेर गृहस्थी चलाइन् ।
खरो भाषण गरेर चर्चा कमाइरहेका एमाले महासचिव मदनले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई निर्वाचनमा हराएका थिए । जबकि, भट्टराईले त्यतिबेला मदनकै दलको समेत सहभागितामा अन्तरिम सरकारको नेतृत्व गरिहेका थिए । यससँगै उनको चर्चा थप चुलियो ।
तर दासढुंगा दुर्घटनामा उनको मृत्यु भयो । त्यसपछि रिक्त हुन आएको काठमाडौं–१ मा भएको उपनिर्वाचनमा एमालेले लिएको ‘शोकलाई शक्तिमा बदल्ने’ घोषित नीतिअन्तर्गत श्रीमती भण्डारीलाई उम्मेदवार बनायो । दुई नाबालिका छोरीहरूकी आमा, मदनकी विधवाप्रतिको जनसहानुभूति र सद्भावलाई मतपरिणाममा बदलेर उनलाई सांसद जिताउन एमालेले सेतो पहिरनको नगदीकरण गर्न सफल भयो ।
भण्डारीको विजय सुनिश्चितताका लागि त्यसबेला एमालेले लिएको साम, दाम, दण्ड र भेदका अगाडि सन्तनेता भनेर चिनिने नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई पुनः पराजयको सामना गर्न बाध्य भएको विषय त्यतिबेला चुनावी जिम्मेवारीमा खटिएका त्यसै क्षेत्रका एमाले कार्यकर्ता तथा काठमाडौंका पूर्वमेयरले धेरै पटक सार्वजनिक गरिसकेका छन् ।
जबजको जस, भण्डारीे विरासत
नेपालको कम्युनिस्ट आन्दोलनलाई लेलिनको भाषामा ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ खालको बहुदलीय जनवाद ९बज० को अभ्यास २००७ देखि नै थियो । गणेशमान सिंहसँग पुष्पलाल श्रेष्ठ हारे पनि तुलसीलाल अमात्यलगायत अन्य चार जना कम्युनिस्ट उम्मेदवार २०१५ सालको आमनिर्वाचनबाट संसद्मा पुगेका थिए । महेन्द्रले संसद् विगठन गरेपछि भागेर भारत पुगेपछि संसद् पुनःस्थापना माग गरेकाले पुष्पलालको संसदीय प्रणालीप्रति प्रतिबद्धता देखिन्छ । बीसौं शताब्दीको पछिल्ला दशकमा भारतकै पश्चिम बंगालमा ‘बज’ स्थापित थियो ।
वाक्पटु र वाचाल राजनीतिकर्मी मदनले महासचिव भएपछि ‘बज’ मा ‘ज’ ९जनताको० थपेर ‘जबज’ त बनाए नै, त्यसको आविष्कारक, अभियन्ता र अभ्यासकर्ता, विचारक पनि ठहरिए । एमालेलाई पनि संसदीय राजनीतिमा संस्थागत अवतरण गराए र एमालेका ‘नायक’ स्थापित भए । उनको मृत्युपरान्त जबज र नेकपा एमाले पर्यायवाचीकै रूपमा विकसित गरियो तर उनको मृत्युलाई कहिल्यै गहिरो अनुसन्धान नगरी षड्यन्त्रको सिद्धान्तबाट व्याख्या र प्रचार गरियो ।
बरु उनलाई सधैं एमाले राजनीतिको केन्द्रमा राखियो । कुनै कार्यकारी भूमिकामा परीक्षित हुने अवसर नपाएका वाक्पटु उनका वाणीलाई आदर्श मान्ने दलको नीतिले पनि उनको उचाइ मृत्युपश्चात् थप बढ्यो । एमालेले कहिल्यै जबजलाई आलोचनात्मक ढंगले खोज र व्याख्या विश्लेषण गर्ने सोचेन, बरु गायत्री मन्त्रकै रूपमा घोकिरह्यो ।
हरेक कार्यकर्तालाई राजनीतिक शिक्षा र सामाजिकीकरणमार्फत दीक्षित गरिरह्यो । देवत्वकरण यस्तो प्रक्रियाले श्रीमती भण्डारीलाई मदनको उत्तराधिकारी वा कर्ताका रूपमा विरासत बनाउने, बढाउने र सुदृढ गर्ने गरी भाष्य स्थापित गर्दै लग्यो । साथै, यसले उनलाई शक्ति स्वरूपाका रूपमा ठान्ने र एमालेको आदर्श उनैको वंशजको देन र निरन्तरता मान्ने गरी स्थापित गर्यो ।
किनकि सोभियत संघ विगठनसँगै विश्व कम्युनिस्ट आन्दोलन र दुई ध्रुवीय विश्वव्यवस्थाको ‘इतिहासको अन्त्य’ भएको र उदार लोकतन्त्र फैलिँदै गएको विश्व परिप्रेक्ष्यमा शब्दमा कम्युनिस्ट बचाउने सर्वोत्तम विकल्प र रणनीति थियो, जबज ।
जता विद्या, त्यतै जबज जस्तो गरी दल र दस्ताको मनोविज्ञान विकसित गराइयो । मदनको विरासतका रूपमा जबजलाई एमालेको नीति र श्रीमती भण्डारीलाई नेतृका रूपमा विकसित र स्थापित गराउँदै लगियो । कालान्तरमा एमालेको उपाध्यक्ष र महिला संगठनको शिखरमै पुर्याइयो । प्रस्ट छ, अहिलेसम्म नेपालमा मात्र होइन कि, दक्षिण एसियाकै कुनै पनि केन्द्रीय दलमा महिलाले नेतृत्वको धाप वा विरासतको अदब विना आफ्नै क्षमता र बलबुताले यो तहमा पुग्न सकेको भेटिँदैन ।
यो पनि भन्न सकिन्छ, पछिल्लो दशकमा भण्डारी भर्याङ बनिदिएर नेतृत्वमा पुग्न सहज हुने भएपछि दलका छट्टु नेताहरूले उनको उपयोग गरे । नेतृत्व र संगठन गरेको तुलनात्मक लामो अनुभव नभएको र राजनीतिमा खास लक्ष्य, पथ र गन्तव्यको प्रस्ट खाका परिकल्पना गर्न नभ्याइसकेकी श्रीमती भण्डारी विवशतामै पछि लागिन् । कालान्तरमा राजनीतिमा पार्टी संगठन निर्माणमा खाइनखाई हिँडेका मदनकै राजनीतिक गुरु र अन्य शीर्ष नेतालाई पनि पछार्दै उनी केन्द्रबाटै तानिएर राज्यको शिखरमै पुग्न सफल भइन् ।
गणतन्त्र, ओली र भण्डारी
गणतन्त्र नेपालको निर्माण र स्थापनाका लागि भएको आन्दोलनताका उपचार, आराम र स्वास्थ्य लाभमा दिल्ली–काठमाडौं गर्दै बिताएकी भण्डारीलाई पहिलो महिला रक्षामन्त्री मात्र होइन, राष्ट्रपति नै बन्ने अवसर मिल्यो ।
गुट, जबज र एमालेको राजनीतिभन्दा धेरै माथि राष्ट्रप्रमुख, राष्ट्रकै पहिलो नागरिक, समावेशी सहभागिताकी प्रतिमूर्ति, सेनाको परमाधिपति, राष्ट्रिय एकताकी प्रतीक मानिइन्, जसमा सिंगो नेपाल र परिवर्तनकारी विश्व समुदायले नै गर्वको महसुस गरेर बोल्ने, लेख्ने र बधाई साटासाट गर्ने दिन पनि आए । तर उनको यो यात्रामा उनलाई सघाउने भूमिकामा एमालेको ठूलो गुट थियो ।
त्यो गुटका नेता ओली थिए । सहयात्राको शुभलाभ पनि साझा भयो– जस्तो कि केपी अघिअघि, विद्या पछिपछि । परिणाम, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने, एमालेलाई नेतृत्व दिलाउने कुटिल संकल्पसहित नेकपा ९नेकपा० बनाएर आफूलाई शक्तिशाली प्रधानमन्त्रीका रूपमा चित्रण गर्ने पृष्ठभूमिमा त्यसको सहजीकरणमा महत्त्वपूर्ण कडी हुने राष्ट्रपतिको पद पनि विश्वासपात्र भण्डारीलाई दिलाइयो । तत्कालीन प्रधानमन्त्री ओलीलाई शपथ खुवाउन राष्ट्राध्यक्षका रूपमा उभिएकी विद्यालाई ‘त्यो पर्दैन’ भन्ने ओली–आदेशको स्वीकारोक्तिलाई हेरेर पनि विद्याको हैसियत आकलन गर्न सकिन्छ । भन्न सकिन्छ, त्यतिबेलासम्म उनी पहिला थिइनन्, पहलु थिइन् ।
विरासतको राजनीतिलाई विश्वास गर्ने हाम्रो समाजमा ‘मदन भण्डारीको विचारको जगमा हुर्किएको एमाले’ भनेर मान्नेहरूबीच बिस्तारै बढ्दै गएको विद्याको स्वीकार्यताबाट भने ओली सशंकित भएका हुन सक्छन् । जसले गर्दा, उपाध्यक्ष भण्डारीलाई पार्टी नेतृत्वबाहिर राखेर व्यवस्थापन गर्नतिर लागेका थिए । विद्यालाई राष्ट्रपति बनाउँदा एक त आफ्नै रबरस्ट्याम्प कार्यकर्ता पदमा पुग्ने, सँगसँगै भविष्यमा हुन सक्ने नेतृत्वको टकरावको अवस्था पनि टर्ने भएकाले ओलीले उक्त उपाय रचेका थिए भन्नेहरू पनि छन् ।
राजनीति यति क्रूर हुन्छ कि शक्ति हस्तान्तरणमा ढिलाइ वा अवरोध बन्दा आफ्नै आमाबाउ र सहोदर दाजुभाइलाई सिद्धाएको साक्षात् इतिहास नेपालमै छ । झन् आफैंले अघि बढाएको महिला कार्यकर्तालाई प्रतिस्पर्धी मान्न पुरुष इगोलाई सजिलो कहाँ छ र रु राजनीतिक लाभ र नेतृत्वमा आफ्नो स्थायित्वका लागि कार्यकर्ताको प्रशिक्षण र प्रवर्द्धन त काँधसम्म पुर्याउन गर्ने हो, गर्धनभन्दा माथि जाने स्थितिमा तिघ्रै भाँचिन्छ, राजनीतिमा । यसरी हेर्दा ओली–विद्याबीचको टकराव देखावटी मात्रै भएको दाबा गर्न सकिन्न ।
भण्डारीको विलास र स्वप्नदृष्टि
योजना आयोग होस् कि सचिवालय, संसद् होस् कि मन्त्रीमा आफ्ना गाउँठाउँका एकाध महिलाका लागि आफ्नो कोटा खोजेर अवसर दिलाउनेबाहेक विद्याकालमा राष्ट्रपति संस्थाले राज्य संयन्त्रमा सीमान्तीकृत र खासगरी महिलाको विषयमा काम गर्न भूमिका खेलेको खासै भेटिँदैन । तत्कालीन सरकारको हैसियत र प्रधानमन्त्रीको विश्वास हेर्दा उनले चाहँदा राज्य संयन्त्र र संरचनामा ठूलो र दीर्घकालीन परिवर्तन सम्भव थियो ।
पूर्वराजाको झझल्को दिने आलिसान दिनचर्या, राष्ट्रपति आवास र अन्य संरचनामा भएको असामान्य लगानी र घण्टौं सडक जाम गरेर सर्वसाधारणलाई सास्ती दिँदै आफू मठमन्दिर चहार्ने कार्यमा उनको चेत प्रतिबिम्बित हुन्थ्यो । राजसी संस्कार र ठाँटका नाममा शासक र जनप्रतिनिधिले दुरुपयोग गरेको सत्ता र स्रोतलाई सच्याउन पहल गर्नुपर्छ भनेर कहिल्यै सोचिनन् ।
यहाँनेर ‘राष्ट्रपतिको सवारी’ का लागि सडक खाली गरेका कारण रत्नपार्कबाट हिँडेर हात्तीगौंडा जाँदै गर्दा पानीपोखरीमा हिँड्दै गरेका उनका राजनीतिक सल्लाहकारलाई सडकमै भेट्दाको प्रसंग याद सान्दर्भिक हुन्छ । ‘कम्युनिस्ट पृष्ठभूमिकी राष्ट्रपतिको राजाको भन्दा पनि तडकभडकको जीवनशैली र तामझामको यात्रालाई परिवर्तन गर्न सकिन्न रु’ भन्ने जिज्ञासामा उनले असहज हुँदै भनेका थिए, ‘यो गाह्रो विषय रहेछ । पदमा पुगेपश्चात् पहिलेका क्रान्तिकारीलाई नै संरचनाले राजसीमा परिणत गरिदिँदो रहेछ । अहिले त उहाँ नै सुधार्न पर्छ भन्ने लाइन सुन्न चाहनुहुन्न ।’
जनतालाई अप्ठ्यारो नपारी पनि राष्ट्रपतिको सडकयात्रा सम्भव छ भन्नेमा रामचन्द्र पौडल चुनिएबाटै व्यापक परिवर्तन देखिन्छ । विद्याकालमा भने सुधारको होइन, सत्ताको स्वाद चाख्ने सोख बढी पाइन्थ्यो । परिणामतः उनको दुई कार्यकालका सडक यात्राका दिनहरूलाई जनस्तरले धिक्कारेरै बिताउन विवश भयो ।
राष्ट्राध्यक्षका नाममा हुने कामकारबाहीको निर्णय, जिम्मेवारी र जवाफदेही संविधानतः मन्त्रिपरिषद् नै हुने हो । तर राजकाजका हिसाबले उनी आलंकारिक राष्ट्रपति जस्ती थिइनन् । उनले गणतन्त्रलाई संस्थागत गर्न र प्रणालीगत थिति बसाउन सकारात्मक भूमिका खेल्न सक्थिन् । त्यो उनको पनि रुचिकै विषय रहेनछ । उनले त पूर्वपार्टीमा आफ्नो पक्षलाई टिकट दिलाउन, संसद्मा प्रतिनिधि पठाउन वा संवैधानिक र अन्य नियुक्तिहरूमा राजाले झैं हिस्सा खोजिरहिन् ।
नेकपा बचाउने नाममा उनले शक्तिराष्ट्रका राजनीतिज्ञ र कूटनीतिज्ञसँगको हिमचिम उनको पदलाई नसुहाउने खालको थियो । सार्वभौम मुलुकको सर्वोच्च पदबाट त्यस्तो अपेक्षा पनि थिएन । उनको एमाले मोह पनि उदेकलाग्दो थियो । परराष्ट्र सेवाका तालिमरत नयाँ अधिकृत र सुब्बाहरूलाई उत्प्रेरित गर्ने पहल र परम्परा अनुरूप महिनौंदेखि पछ्याउँदा राष्ट्रपतिको ‘समय मिलेन’ तर त्यसबीचका अधिकांश दिन कुनै न कुनै क्षेत्रमा आबद्ध एमाले कार्यकर्तालाई ‘दर्शनभेट’ मा बिताएका तस्बिर सञ्जालमार्फत बाहिरिएको हेरेर बस्ने लेखक आफैं साक्षी हो ।
आन्तरिक लोकतन्त्र र सरकारको स्थायित्वको सुनिश्चितता र संस्थागत गर्ने सवालमा त उनले हदै पार गरेकी थिइन् । ‘एब्सोलुट पावर करप्ट एब्सोलुट्ली’ भनेझैं निर्वाचित अधिनायकत्वको भयबाट मुक्त रहन संविधानले नै राष्ट्रपतिलाई कार्यकारीबाट आउने सबै निर्णय संविधान र प्रणालीसम्मत नहुन सक्छन् भनेर आफैं अध्ययन गर्ने र पुनर्विचार गर्न पठाउने अधिकार दिएको हो । तर त्यसको न्यायिक र इमानदार प्रयोग गर्न सधैं चुकिन् ।
तत्कालीन प्रधानमन्त्रीले संसद् विघटन गर्दादेखि नागरिकता विधेयक निष्क्रिय गर्दासम्मका घटनाक्रममा संविधानको मर्म र संसद्को मत र मानविपरीत जान कुनै हिच्किचावट देखाइनन् । ओलीजीको जिद्दीलाई सही स्थापित गर्न हरतरहले खटिइन् । राष्ट्रप्रमुखको मान–मर्यादा र विश्वसनीयता नै पटकपटक समर्पण गरिन् । साथै राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीकै सचिवालयलाई माथ गर्ने तहको जम्बो सल्लाहकार समूह र प्रशासन संयन्त्रको निर्माण गरिन् तर त्यसको औचित्य र आवश्यकताको पुष्टि गर्न सकिनन् ।
यो पनि बिर्सिन् कि, उनी नेकपा एमाले दलीय राजनीतिभन्दा माथि पुगेकी, राष्ट्रिय एकताको प्रतीक र गैरराजनीतिक संगठन नेपाली सेनाकी परमाधिपति पनि हुन् । गणतन्त्रले दिलाएको अवसर उपभोग गर्नुबाहेक त्यसको सन्दर्भ, संस्कार, मूल्य, महत्त्व र मर्मप्रति कुनै मोह र महिमा देखिएन । चेतले नभ्याउने प्राप्त पदको गरिमा धान्न सकिनन् । गणतन्त्र संस्थागत र सुदृढ गर्दाभन्दा नयाँ स्वरूपको राजतन्त्र आविष्कार, अभियान, अभिनय र अभ्यासमै लिप्त रहिन् ।
अहिले दाबाका साथ भन्न सकिन्छ, विरासतको पुरस्कारमा दाबा नभएका र जीवन दोस्रो दशकमै मात्र चल्दै गर्दा गणतन्त्रका लागि ज्यानको बाजी लगाएर सडकमा उत्रिएका, गणतन्त्रप्रति गर्व र मर्ममै अपनत्व भएका तत्कालीन विद्यार्थी नेतृ रामकुमारी झाँक्री र विन्दा पाण्डे पुस्तालाई त्यस बखत राष्ट्रपति बनाउने व्यवस्था र अवस्था भएका भए आज नेपालको राजनीतिले फरक दिशा लिने थियो ।
र, अहिले अध्यक्षमा प्रतिस्पर्धी बन्दै गर्दा पनि अमेरिका जस्तो खुल्ला ‘प्रेसिडेन्सियल डिवेट’ गर्ने हो भने राजनीतिक–सामाजिक चेत–चिन्तन, देशले लिनुपर्ने भावी दिशाको खाका प्रस्तुतिमा प्रस्ट र स्तरीय मार्गचित्रमा ‘बहिनी कमरेड’ हरू भेटिने थिए । तर बा, आमा, दाइ, भाउजू दिवंगत नहुँदै मियो लिन नपाउने पितृसत्ताको घनचक्करमा ठूलै कुनै उथलपुथल नभए तिनको जीवनकालमा त्यहाँ पुग्न कठिन छ ।
सारमा भन्दा अहिले भण्डारी सक्रिय राजनीतिमा फर्कनु सिंगो नेपाल राष्ट्र र नयाँ प्रणालीप्रति धोका हो । घातक हो । यो पूर्वप्रतिबद्धता र प्रणालीसंगत देखिँदैन । त्यसैले उनको निर्णय एमालेको मात्र नभएर सारा समाजको चिन्ता र चासोको विषय हो । र, पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा नफर्कन अनुरोध गर्ने अहिलेको एमालेको लाइन सही छ । यसले तत्कालका लागि ओलीलाई फाइदा हुने जस्तो देखिन सक्छ, किनभने यतिबेला ओलीलाई टक्कर दिन सक्ने भनेर भण्डारीलाई बल मिलिरहेको हो ।
ओलीकै लवज र लाइन हेर्दा व्यक्तिकेन्द्रित र आन्तरिक राजनीतिमा आफ्नो सुरक्षा सुनिश्चित गर्न भण्डारीमाथि हमला भन्न पनि मिल्ला । फराकिलो राजनीतिक दृष्टिले मूल्यांकन गर्दा भने आधुनिक नेपालको जग बसाउने सुनौलो अवसर पाएर पनि परिणाम दिन चुकेका यी दुवै असफल पात्रहरू अबको पुस्ताको नेतृत्वलायक छैनन् । तर ओलीको विकल्पको आकांक्षा मनमनै पालेर पनि भावी नेतृत्वमा विरासतधारी भण्डारी देखेका, सधैंभर झोला बोकेरै नथाकेका र नेतृत्व विकासमा आफ्नो समय–सामर्थ्य जुटाउन नलागेका पाकादेखि युवापंक्तिबाट यी दुवैलाई चुनौती दिन एक जना पनि विकल्पमा नदेखिनु विडम्बना नै हो ।
आन्तरिक प्रजातन्त्रको लामो अभ्यास भएको एमाले पार्टीजीवनकै लज्जाको क्षण हो । जनआन्दोलनताका ‘बयलगाडामा अमेरिका नपुगिने’ ओली किस्साले एमाले र ओलीलाई जसरी लखेटिरहेको छ, अहिले चेत नपुर्याए विरासततिरको प्रतिगमन यात्राले भावी एमालेजनलाई माफ गर्ने देखिँदैन । एमालेमा केपी–विद्याको खुल्ला वा छद्म आन्तरिक द्वन्द्वबाट बाहिर आएर तेस्रो नेता जन्माउने समय अझै घर्किसकेको छैन ।
यथास्थिति र प्रतिगमनको दोसाँधमा एमाले