फुलिङमा पुर्वाधार विकास कार्यालय स्थापना

गढी न्यूज

बिराटनगर-कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले कार्यालयको उद्घाटन गरेका हुन् ।

सदरमुकाम फुङलिङको हुलाक लाइनमा एउटा घर भाडामा लिएर यो कार्यालय राखिएको हो । यसअघिसम्म पाँचथर कार्यालयले ताप्लेजुङसमेत हेर्दै आएको थियो ।

प्रदेश भौतिक मन्त्रालय अन्तर्गत सञ्चालन हुने सडक, मोटरेबल पुल, भवन लगायतका कार्यक्रमका लागि ताप्लेजुङका सेवाग्राहीले अब पाँचथर धाउनुपर्ने बाध्यता हटेको छ ।

संघीय संरचनापछि पनि जनताले असुविधाको महसुस नगरुन् भनेर जिल्ला जिल्लामा कार्यालय स्थापना भइरहेको मन्त्री राईले बताए । यसै आर्थिक वर्षदेखि नै जनताको सेवा जिल्लाबाटै गर्ने उद्देश्यले आर्थिक वर्षको सुरुमै कार्यालय स्थापना गरिएको मन्त्री राईले बताए ।

ठूला योजनाको ठेक्का, साना योजनाको सम्झौता अब जिल्लाबाटै हुने उनले बताए । उद्घाटन कार्यक्रममा कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गाम, सांसद निर्मला तावा लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा आएका मन्त्री राईले प्रदेश सरकारको बजेटबाट निर्माण भइरहेका जिल्ला अस्पताल भवन लगायतको अनुगमन गरेका थिए ।

Share This Article