मधेश प्रदेशमै पानीकाे हाहाकार किसान चिन्तामा

गढी न्यूज

बीरगंन्ज- सिंगो मधेश प्रदेश पानीको संकटसँग जुधिरहेको छ । रोपाइ हुने बेलामा सुरु भएको पानीको यो संकटले खाद्य प्रणालीमै असर पार्ने देखिन्छ । गत बिहीबार बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खडेरीले मधेश प्रदेशमा चर्किएको खानेपानीको समस्या र सुक्खाग्रस्त क्षेत्र समाधानका लागि सर्वपक्षिय छलफल नै डाकेका थिए । उनले यो समस्या समाधानका लागि लागि प्रदेश सरकारले आफ्नो स्रोतसाधन परिचालन गर्ने बताउँदै सहयोगका लागि दातृ निकायलाई आग्रह गरेका छन् ।

पानीको स्रोत रहेको चुरे क्षेत्रमा अनियन्त्रित बालुवा–गिट्टी दोहन र जंगल मास्नाले खोलाखोल्सी, पैनीमा पानी छैन। पैनीहरूसमेत अतिक्रमणमा परेका छन् । स्थानीय तहले आफ्नो आम्दानी बढाउन चुरे क्षेत्रको खोलाहरू बलुवा–गिट्टीका लागि ठेक्का दिँदा त्यहाँ अनियन्त्रित र जथाभावी कटान गर्दा पानीको मुहान सुकेको अवस्थामा पुगेको हो । खानेपानीको चरम अभाव खेपिरहेको मधेशका जिल्लाहरूमा दमकल र ट्यांकरबाट पानी खुवाउने प्रयासमा प्रदेश सरकार देखिन्छ । मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार संघीय खानेपानीमन्त्री प्रदीप यादवसँग मधेशमा देखिएको भूमिगत खानेपानी संकट मामिलामा छलफल गरेका थिए । खानेपानीको संकट टारेपनि खेतीपाती र वस्तुभाउका निम्ती कसरी पानीको जोहो गर्ने भन्नेमा प्रदेश सरकार स्पष्ट देखिन्न ।

प्रदेश सरकारका अनुसार अहिले मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव देखिएको छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन् । पानीको संकट कतिसम्म देखिन थालेको छ भने,  जिल्ला प्रशासन कार्यालय बाराले गत सोमबार पानीको स्रोत र वितरण प्रणालीबारे पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला सबैलाई बैठक डाकेर सर्वपक्षीय छलफल डाँकेको थियो । जनप्रतिनिधीहरुले पालिकालाई पानीको स्रोत जुटाउन सिँचाइ व्यवस्थापनका दबाब समेत दिएका छन् ।

मुख्यमन्त्री कार्यलयका अनुसार प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या देखिएको छ । मुख्यमन्त्री सिहंले विहिबार डाकेको बैठकमा भनेका थिए,‘सुक्खाका कारण धान रोपाइँ हुन नसके यसले आगामी दिनमा खाद्यान्न संकट निम्त्याउँछ ।’

पानीकै संकटका कारण मधेशका सबैजसो जिल्लामा रोपाइ कम भइरहेको छ । कृषि विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार अहिलेसम्म मधेशमा जम्मा ३३.७८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मधेश प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रमा धान खेती गरिन्छ । यो वर्ष हालसम्म जम्मा १ लाख २५ हजार ८८८ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा यस वर्ष ४० हजार हेक्टरमा धान खेती हुने गरेको छ । असारको पहिलो हप्तादेखि सुरु हुने रोपाइँ सिञ्चित केही क्षेत्रमा मात्र भइरहेको ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव प्रसाद महतोले बताए । महतोका अनुसार बिहीबारसम्म जिल्लामा ४० प्रतिशत हाराहारीमा मात्र रोपाइँ भएको छ । जबकि गत वर्ष यही समयमा झन्डै ८० प्रतिशत रोपाइँ सकिएको थियो ।

 

Share This Article