लागू औषध कारोबारको संजाल तोड्दै पर्सा सशस्त्र, ८ केजी गाजासहित युवक पक्राउ
बीरगन्ज- पर्सा जिल्लामा बढ्दो लागू औषध कारोबारविरुद्ध सशस्त्र प्रहरी बलले निरन्तर अभियान चलाई उल्लेखनीय सफलता हात पारेको छ। सशस्त्र प्रहरी पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियानमा ८ केजी गाँजासहित एक युवकलाई नियन्त्रणमा लिइएको हो।
बिओपी अमरपट्टीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण केसी को कमाण्डमा खटिएको संयुक्त टोलीले बिन्दावासिनी गाउँपालिका–४ वर गाछीस्थित ग्रामीण नाकामा शंका लागेका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो। पक्राउ परेका युवकको पहिचान पर्सागढी नगरपालिका–९ एकटाङ्गा बस्ने २१ वर्षीय सरोज प्रसाद यादवको रूपमा खुलेको छ।
अपरेसनको क्रममा लागुऔषध ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया जारी रहेको छ।
घटनाबारे जानकारी दिंदै एसपी पुरन चन्द्र भट्टले भने,“लागू औषध सेवन र कारोबारले युवा पुस्ताको भविष्य अन्धकारतर्फ धकेल्दै लगेको छ। यसलाई रोक्न सशस्त्र प्रहरी कुनै पनि हालतमा पछि हट्ने छैन। पर्सालाई लागुऔषधमुक्त जिल्ला बनाउन थप कडा कदम चालिनेछ।”
सशस्त्र प्रहरी निरीक्षक कृष्ण केसी सहित टोलीको यो सफलताकाे स्थानीयबासी र बुद्धिजीवीहरूले प्रशंसा गरेका छन्। उनीहरूले ग्रामीण क्षेत्रमा बढ्दो लागू औषधको समस्या समाधानका लागि प्रहरीको सक्रियतासँगै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिएका छन्।
सशस्त्र प्रहरी बलको निरन्तर सक्रियता र स्थानीय समुदायको सहकार्यले आगामी दिनमा पर्सामा लागुऔषध नियन्त्रणमा थप प्रभावकारी परिणाम आउने विश्वास लिइएको छ।