एकै दिन अस्ताए ५२

गढी न्यूज
काठमाडौं -जेन–जी आन्दोलनको पहिलो दिन प्रहरीले जथाभावी गोली चलाएपछि भड्किएको जमातले भोलिपल्ट २४ भदौमा मुलुकभर प्रदर्शन गर्ने क्रममा ५२ जनाले ज्यान गुमाउन पुगे । तिनीहरूमध्ये अधिकांशलाई प्रहरीको गोली लागेको थियो ।

दोस्रो दिनको प्रदर्शनमा ज्यान गुमाएकामध्ये १५ जना विभिन्न जिल्लाका व्यापारिक भवन र निजी घरमा जलेको अवस्थामा फेला परेका थिए । प्रदर्शनकारीको कुटपिटबाट काठमाडौंमा तीन प्रहरीको मृत्यु भयो ।

दोस्रो दिन दर्जनभन्दा कम जिल्लामा भएका घटनामा उनीहरुले ज्यान गुमाएका हुन् तर मृत्यु भएकाहरू डेढ दर्जनभन्दा बढी जिल्लाका छन् र उनीहरु पूर्वका झापा, पाँचथरदेखि सुदूरपश्चिमको बैतडीसम्मका छन् । एक भारतीय महिलाको समेत मृत्यु भएको छ ।

प्रदर्शन चर्किएको मौकामा भाग्ने क्रममा थप पाँच बालबन्दी र पाँच कैदीबन्दीले समेत त्यो दिन ज्यान गुमाए । कैदी/बालबन्दी, प्रहरी र व्यापारिक भवन एवं निजी घरमा जलेकाबाहेक त्यो दिन ज्यान गुमाउने अरु को–को थिए ?
१९ वर्षीया निकिता गौतम २३ भदौमा अरू दिनभन्दा छिट्टै उठिन् । जेन–जीले गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनले उनी उत्साहित थिइन् । आमा र बाबासँग, ‘आज कति मान्छे आउलान् है ?’ भनेर सोधिरहन्थिन् । त्यसो त उनी राजनीतिमा खासै चासो राख्दिनथिइन् ।‘माइतीघरमा त भेला सुरु भएछ नि है ?’ भन्दै उनी आमालाई सामाजिक सञ्जालका भिडियोहरू देखाउँथिन् । तर, उनलाई आन्दोलनमा जाने रहर भने थिएन । घरमै बसेर सामाजिक सञ्जालमा प्रदर्शनको लाइभ हेरिरहेकी थिइन् । रचनात्मक शैलीमा भइरहेको आन्दोलन अचानक रणमैदानमा रूपान्तर भयो । प्रहरी र आन्दोलनकारीबीच झडप सुरु भयो । त्यही झडपमा प्रहरीको गोली लागेर युवा मारिए ।

राज्यको यो दमनले निकितालाई पिरोल्यो । परिवर्तनका लागि आफ्नो अधिकार मागिरहेका युवालाई राज्यले गोली हानेको तनावले रातभर सुत्नै सकिनन् । उनले अबेरसम्मै आमा–बासँग बसेर राज्यको बर्बरताको गुनासो गरिरहिन् । ‘किन मारेको होला है ? यसरी युवा मारिरहने हो भने देशमा को बस्लान् ?’ लगायतका प्रश्न गरिरहिन् । तर, परिवारसँग उनलाई दिने जवाफ थिएन ।

राति अबेरै सुते पनि २४ भदौमा उनी छिट्टै उठिन् । आफ्नै उमेर समूहका साथीहरू मारिएको अघिल्लो दिनको घटनाले उनी विक्षिप्त बनेकी थिइन् । सडक मंगलबार झन् धेरै तात्तियो । राज्यद्वारा गरिएको हत्याको विरोधमा राजधानीसहित देशका विभिन्न स्थानमा युवाले नाराबाजी गरिरहेका थिए । नाराबाजीको भीड गौशालामा पनि पुग्यो । उनी पनि नाराबाजी गर्न मिस्सिइन् । माहोल तनावग्रस्त भएपछि उनी त्यहाँबाट निस्किइन् ।

निकिता आफू बस्ने घरको छतमा बसेर आन्दोलन हेर्न थालिन् । केही समयपछि आन्दोलन थप तनावग्रस्त बन्दै गयो । प्रहरीले अश्रुग्यास चलाएपछि आन्दोलित समूह प्रहरी कार्यालयमा आगो जलाउन हिँड्यो । आगो लगाउने भीडमाथि प्रहरीले गोली चलायो । केही समयअघिसम्म शान्त गौशाला एकाएक रणमैदान बन्यो । निकिता छतमा बसेर हेरिरहेकै थिइन् । दिउँसो १ बजेतिर अचानक एउटा गोली निकिताको छातीमा आएर ठोक्कियो । उनी ढलिन् । सँगै परिवारको खुसी ढल्यो ।

२०६३ मा काठमाडौंमा जन्मिएकी निकिताको १९ वर्षको कलिलो उमेरमै राज्यले ज्यान लियो । भर्खरै १२ कक्षा उत्तीर्ण गरेकी निकिता विदेश जाने तयारीमा थिइन् ।

सिन्धुलीका १९ वर्षीय दिपेश सुनुवार दुई वर्षदेखि ललितपुर महानगरपालिकामा करारमा सरसफाइकर्मी थिए । घरमा नियमितजसो सम्पर्क गरिरहने उनी २४ भदौदेखि कसैको सम्पर्कमा आएनन् । चार दिनसम्म आमा भिममाया छोरा खोज्न काठमाडौं आइन् । काठमाडौं पुगेर हारगुहार गर्दा त्रिवि शिक्षण अस्पतालमा छोराको शव रहेको पत्तो पाइन् । २४ भदौको प्रदर्शनमा सहभागी हुँदा गोली लागेर दिपेशको मृत्यु भएको थियो ।

२२ वर्षीय महेश बुढाथोकीको दिनचर्या थियो, क्यान्सरले ग्रस्त आमाको हेरचाह गर्ने । उनी दोलखाको बिगु गाउँपालिका–३ बुलुङका हुन् । उनल इमाडोलको गम्भीर–समुन्द्र–सेतु विद्यालयबाट कक्षा १२ मा कम्प्युटर साइन्स सकेका थिए । २३ भदौमा आन्दोलनमा आफ्ना साथीलाई गोली लागेको र घाइते भएको थाहा पाएपछि २४ भदौमा उनी आन्दोलनमा सहभागी थिए ।

दिउँसोबाट उनी सम्पर्कविहीन बनेपछि परिवारले खोजी गरिरहेको थियो । घाइते अवस्थामा किस्ट अस्पतालमा फेला परे । ठूलो बुबाका छोरा ईश्वरका अनुसार महेशलाई कोटश्वरमा प्रहरी चौकी नजिक गोली लागेको थियो । ‘उपचारकै क्रममा उसको ज्यान गयो,’ ईश्वरले भने, ‘सानैदेखि हिंसा मन नपराउने उसलाई खोइ कसरी गोली लाग्यो ।’

झापा अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी २४ भदौमा भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा घाइते भए । बीएन्डसी अस्पतालमा उपचारका क्रममा तीन दिनपछि २७ भदौ बिहान उनको मृत्यु भयो ।

दुई वर्ष कतारमा पसिना बगाएर फर्किएका उनले स्वदेशमै केही गर्ने चाहना राखेका थिए । स्थानीय बजार शनिश्चरेमा कुखुराको मासु बेच्ने पसल (फ्रेस हाउस) खोले, भने जस्तो नचलेपछि रोजगारीका लागि रोमानिया जाने तयारीमा थिए ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको भरतपुर–२१ पार्वतीपुरस्थित घरमा २४ भदौमा प्रदर्शनकारीले आगजनी गरे । आगो सल्कँदै जाँदा खाना पकाउने एलपी ग्याासको सिलिन्डर विस्फोट भयो । सिलिन्डरका टुक्राहरू उछिट्टिए । त्यही टुक्राले लागेर १९ वर्षीय सरोज गुरुङ गम्भीर घाइते भए । उपचारका क्रममा तीन दिनपछि २७ भदौमा उनको मृत्यु भयो ।

उदयपुरको चौदण्डीगढी–३ आमसाल घर भएका ५१ वर्षीय सन्तोष राई २४ भदौमा साथीसित बानेश्वर, तीनकुने हुँदै गौशला पुगे । प्रदर्शनकारीले प्रहरी बिटमा पनि आक्रमण गर्न थालेपछि अश्रुग्यासको वर्षा भयो, अन्धाधुन्ध गोली चल्न थाल्यो । सन्तोष भाग्न भ्याएनन् । त्यही बेला उनको टाउकोमा गोली लाग्यो । उनको घटनास्थलमै मृत्यु भयो । उनी काठमाडौंमा ज्यालामजदुरी गर्दै आएका थिए ।

२३ भदौको जेन–जी आन्दोलनमा युवा मारिएको खबर सुनेपछि नुवाकोट–१ ककनीका शुभराज बलामी श्रेष्ठ आन्दोलन गर्न भन्दै भोलिपल्ट साथीहरू सहित काठमाडौं हिँडेका थिए । काठमाडौंको प्रदर्शनमा सहभागी भएर साथीहरू घर फर्किए । तर शुभराजको अत्तोपत्तो भएन । २५ भदौको राति अचानक परिवारले उनी वीर अस्पतालमा अचेत अवस्थामा रहेको खबर पायो ।

शुभराजका सानोबुबा सन्तबहादुर श्रेष्ठका अनुसार आफन्त कोही नभेटिएको भन्दै टिकटकमा हालिएको भिडियोबाट परिवारले शुभराज अस्पतालमा रहेको थाहा पाएको थियो ।

आफन्त वीर अस्पताल पुग्दा शुभराजको ढुकढुकी मात्र बाँकी थियो । ‘भेन्टिलेटरमा राखिएको थियो । त्यसैको सहयोगले ढुकढुकी मात्र चलेको रहेछ,’ सन्तबहादुरले कान्तिपुरसित टेलिफोनमा भने, ‘डाक्टरले टाउकेमा गोली छ, अपरेसन गरेर निकाल्नुपर्छ भन्दै थिए । त्यो निकाल्न पनि होस खुल्नुपर्ने रहेछ । होस खुलेन, ऊ सधैंका लागि अस्तायो ।’

सर्लाहीको लालबन्दीका ३० वर्षीय देवकुमार सुवेदी कालीमाटीस्थित सडक विभागमा सेक्युरिटीको काम गर्थे । २४ भदौको आन्दोलनमा उनी देश परिवर्तन गर्नका लागि भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनी कहिल्यै फर्किएनन् । कालीमाटी क्षेत्रमा प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो । देवकुमारका ससुवार भक्तबहादुर अधिकारीले भने, ‘छोरीले त आन्दोलनमा नजानू भन्दै थिई रे । अब दिन लागेपछि के लाग्दो रहेछ र !’

पालुङटार नगरपालिका–३ बर्देडाँडाका रमेश पराजुली विद्यालय उमेरदेखि समाज परिवर्तन र देश विकासमा रुचि राख्थे । वैदेशिक रोजगारीमा १० वर्ष दुबई बसेका उनले काठमाडौं बनियाँटार नजिकैको भत्किएको भर्‍याङमा खाद्यान्न पसल सञ्चालन गर्दै आएका थिए । फुर्सदको समयमा ‘पठाओ’ चलाउने काम पनि गर्थे ।

जेन–जी आन्दोलन घोषणा भएसँगै पसलको काम थाती राखेर उनी पनि सहभागी बने । प्रदर्शनका क्रममा छातीमा गोली लागेर उनको मृत्यु भएको छिमेकीसमेत रहेका पालुङटार–३ का वडाध्यक्ष रवीन्द्र अधिकारीले बताए । ‘निकै सहयोगी थिए, गाउँबाट कोही काठमाडौं गयो भने आफैं लिन आउँथे, सामाजिक काममा पनि सक्रिय थिए,’ उनले भने, ‘यस्तो खबर सुन्दा गाउँ शोकमा छ ।’

साथीभाइसँगै आन्दोलनमा गएका पराजुली साँझसम्म नफर्किएपछि सोधीखोजी गर्दा महाराजगन्जको अस्पतालमा रहेको जानकारी पाएको अधिकारीले बताए । ‘आन्दोलनमा गएको मान्छेको फोन पनि नलाग्ने, साथीहरू धापासीबाट अघि बढेपछि छुिट्टएको भने । हस्पिटलमा बुझ्दा त मृत्यु भइसकेको थाहा पायौं ।’

उनका बुवा भीमबहादुर पराजुली छोराको खाद्यान्न व्यवसायमा सघाउन केही वर्षदेखि काठमाडौंमा बस्छन् । दुई छोरा र श्रीमती पनि काठमाडौंमा सँगै थिए । आमा कृष्णमाया भने बर्देडाँडाकै घरमा बाख्रा, भैंसी पालेर बस्दै आएकी छन् ।

गण्डकी गाउँपालिका–४ ढावेका २७ वर्षीय अर्जुन भट्ट वैदेशिक रोजागारीमा जापान जाने योजनामा थिए । जापानी भाषा अध्ययन गरिरहेका अर्जुनले जेन–जी आन्दोलनका क्रममा मंगलबार काठमाडौं कालिमाटी प्रहरी वृत्त अघिको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाए ।

अर्जुन काठमाडौं कीर्तिपुरमा होटल ब्यवसाय गर्दै आएका बुबासँगै बस्थे । वैदेशिक रोजगारीका लागि करिब डेढ वर्ष दुबईमा बसेर डेढ महिनाअघि मात्र अर्जुन फर्किएका थिए । ‘बाबु हुर्केको नै काठमाडौं हो,’ उनका आफन्त जितबहादुर भट्टले भने, ‘यस्तो अवस्था छ, घरबाहिर निक्लन हुन्न भन्दा पनि हामी नगए को जान्छ भनेर जिद्दी गरेर गएछ, प्रहरीले हानेको एउटै गोली तीन जनालाई लागेको थाहा पायौं, सबैभन्दा अघि ऊ नै रहेछ ।’

देशमा व्याप्त भ्रष्टाचार, बेथितिकोबारे अर्जुन परिवारसँग पनि चिन्ता गर्थे । ‘जेन–जीको टिममा नै रहेछ, आन्दोलनमा पनि अंग्रपत्तिमा थियो रे, गोली लागेपछि सडक नै रगताम्मे बनेको थाहा पायौं,’ जितबहादुरले भने ।

इटहरी–१४ का ३५ वर्षीय मोहन सरदार निर्माण मजदुर हुन् । इटहरी आसपास घर तथा बाटो निर्माणको क्षेत्रमा काम गर्दै आएका सरदार आन्दोलनको दिन पनि मजदुरी गरेर फर्कंदै थिए ।

इटहरी उपमहानगरपालिका अगाडि मात्रै पुगेका थिए । उत्तेजित भीड उनी भएकै तिर मोडियो । प्रहरीले खेदाउँदै गोली चलाउँदा सरदारलाई गोली लागेको स्थानीय गोविन्द थापाले जानकारी दिए । उनको ढाडमा गोली लागेको थियो । प्रहरी र स्थानीयको सहयोगमा उनलाई एम्बुलेन्समा हालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । चिकित्सकले मृत घोषणा गरे ।

चौतारा साँगाचोकगढी नगरपालिका इर्खुका २१ वर्षे उमेश महतले पनि जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाए । आन्दोलनको सुरुमा सकुशल फर्किएका उनी पुनः जान लागेपछि परिवारले सम्झाउन खोज्यो । तर उनको जवाफले कसैले रोक्न सकेनन् । उनकी दिदी सुमित्रा भक्कानिँदै भन्छिन्, ‘सरकारको भर छैन, जे पनि हुनसक्छ नजाऊ भन्दा मानेन, उल्टै देशका लागि हो, म मरे पनि नराम्रो मान्नुपर्दैन, भावी पुस्तालाई राम्रो हुन्छ भन्यो ।’

जेन–जी आन्दोलनका क्रममा गोली लागेका उमेशलाई बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा लगिएको थियो, जहाँ उनको उपचारका क्रममा मृत्यु भएको थियो । उमेश काठमाडौंमा कक्षा १२ को पढाइ सकेर दुबई जाने तयारीमा थिए ।

लहान नगरपालिका–१५ का विजय चौधरी श्रीमती र चार वर्षकी छोरीसहित ६ वर्षदेखि काठमाडौंस्थित पेप्सीकोलामा भाडामा बस्दै आएका थिए । विजयको सात वर्षअघि मात्रै बिहे भएको थियो । बुबा हरिप्रसादका अनुसार १२ कक्षासम्म पढेका उनी त्यहाँ हाउसवायरिङको काम गर्दै आएका थिए ।

दैनिकजस्तै काम सकेर गत मंगलबार साँझ उनी डेरातर्फ फर्किरहेका थिए । तर, नयाँ बानेश्वरमा आन्दोलन भइरहेको देखेपछि उनी रोकिए । त्यही बेला उनी घाइते भए । त्यसपछि सिभिल अस्पताल पुर्‍याइएका उनलाई त्यहाँ मृत घोषणा गरियो ।

उनी कसरी घाइते भए वा कसले अस्पताल पुर्‍यायो भन्ने परिवारले थाहा पाउन सकेको छैन । ‘हामी त जसोतसो आफूलाई सम्हालेका छौं, तर विजयकी आमा र बुहारी घरिघरि मुर्छा परिरहेकी छन्,’ हरिप्रसादले भक्कानिँदै भने ।

२४ भदौको बिहान प्रहरीले कालिमाटीमा गोली चलायो । त्यो गोलीले बझाङका २८ वर्षीय भीमराज धामीलाई पनि सधैंका लागि ढलायो । कीर्तिपुर बस्ने भीमराज कृषि व्यवसायी थिए । बिहे भएको एक वर्ष मात्र उकालो लाग्यो । २ महिनाका छोरा थिए । ७५ वर्षकी आमा उनकै भरमा थिइन् ।

भीमराज आन्दोलनमा होमिएको माइला दाइ बलरामलाई पत्तै थिएन । ‘बेलुका फोन नलागेपछि भाइलाई हस्पिटलमा खोजतलास गर्‍यौं । अनि त ऊ हामीमाझ नरहेको थाहा भयो,’ बलरामले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका नीरज पन्त र श्रीमती कमला काठमाडौंको महाराजगन्जमा आयुर्वेदिक औषधि व्यवसाय गर्थे । २४ भदौमा ४८ वर्षीय नीरज पन्त छेउबाट प्रदर्शन हेरिरहेका थिए । त्यही क्रममा प्रहरीको गोली लागेर उनी ढल्न पुगे ।

२५ वर्षअघि महेन्द्रनगरको कञ्चन विद्या मन्दिरबाट एसएलसी गरेर पढाइका लागि उनी काठमाडौं आएका थिए । व्यवसायबाटै काठमाडौंमा घर बनाएर बसोबास गरिरहेका थिए ।

गोली लागेर नीरजको मृत्यु भएपछि आमाबुबालाई कैलाश मानसरोवर पुर्‍याउने धोको मात्र अधुरो भएको छैन, आमाबुबाको सहारा पनि गुमेको छ । ‘दाइ एक पटक बुबाआमालाई कैलाश पुर्‍याउँछु भन्नुहुन्थ्यो,’ नीरजकी बहिनी हेमा (काकाकी छोरी) ले भनिन्, ‘अहिले आफैं छोडेर जानुभयो ।’

नीरज योग प्रशिक्षक पनि थिए । अप्ठेरो पर्दा सहयोग गर्ने, बिरामीलाई अस्पताल पुर्‍याउनेदेखि आफैं खर्च दिएरसमेत उपचार गराउँथे । ‘आफ्नै पसलबाट पनि निःशुल्क औषधि दिने गर्नुहुन्थ्यो,’ हेमाले भनिन्, ‘हाम्रो त परिवारकै खम्बा ढलेको छ ।’

वीरगन्ज–१२ मुर्लीका असहाब आलम १२ कक्षा पास गरेर होटल म्यानेजमेन्ट पढ्न काठमाडौं आएका थिए । काठमाडौंमा पढाइ खर्च जुटाउन पठाओ राइडरका रूपमा बाइक चलाउँथे । उनले पनि जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउनुपर्‍यो । असहाबलाई २४ भदौमा काठमाडौंको गोंगबुमा गोली लागेको थियो । ना५४प ४७११ नम्बरको उनको बाइक पनि हराएको परिवारजनले जनाएका छन् ।

५६ वर्षीय अमरुद्दिन मियाँ ठकुराईका साहिँला छोरा हुन् असहाब । छोराको मृत्युको खबर सुनेपछि अमरुद्दिन जेठा छोरा राजाबाबुसित कतारबाट काठमाडौं आइपुगेका छन् । उनीहरू त्यहाँ रोजगारी गर्छन् । कतारमै रहेका माइला छोरा आरिफ भने बिदा नमिलेर आउन पाएनन् । अमरुद्दिन र राजाबाबुले असहाबको शव शुक्रबार राति घर पुर्‍याउँदा रुवाबासी चलेको थियो ।

२३ भदौमा जेन–जीको आन्दोलनका क्रममा १९ जनाभन्दा बढीको मृत्यु भएको खबर आएपछि देशभर आक्रोश चुलिएको थियो । त्यही घटनाले पाँचथर हिलिहाङ–१ घर भई हाल बिर्तामोड–१० मा बसोबास गर्दै आएका ३१ वर्षीय कमल भण्डारीलाई पनि छोयो । भोलिपल्ट बिहान घरबाट निस्किनुअघि उनले श्रीमती सीतालाई भनेका थिए, ‘म आन्दोलनमा निस्किएँ, बाँचें फर्किन्छु, मरे भने सहिद बनुँला ।’ त्यस दिनदेखि उनी घर फर्किएनन् ।

बुधबार रातिसम्म सीताले श्रीमान्को बाटो पर्खिरहिन् । फोन गर्दा घण्टी बज्थ्यो, तर कसैले उठाउँदैनथ्यो । त्यो रात कमल घर फर्किएनन् । बाटो हेर्दाहेर्दै उनी निदाइन् ।

बिहीबार बिहान उनले फेरि सहास जुटाएर फोन गरिन् । यसपटक भने फोन बीएन्डसी अस्पतालका सुरक्षा गार्डले उठाएर भने, ‘तपाईंका श्रीमान् अस्पतालमा हुनुहुन्छ, भेट्न आउनुहोस् ।’ आत्तिँदै सीता अस्पताल पुगिन् । तर त्यहाँ कमलको शव देखेपछि उनी बेहोस भइन् ।

लामो समय कतारमा पसिना बगाएर ६ महिनाअघि मात्रै स्वदेश फर्किएका कमल बिर्तामोडमा घर निर्माणमा जुटिरहेका थिए । सानो परिवारसँग चिटिक्कको घरमा बस्दै सुखमय जीवन बिताउने उनका सपना अधुरै रहे ।

झापा अर्जुनधारा–११ का ३९ वर्षीय ज्ञानेन्द्र (गोपाल) सेढाईं पनि आन्दोलनमा अस्ताएका छन् । सामान्य पारिवारिक पृष्ठभूमिका ज्ञानेन्द्र सामाजिक कार्यमा पनि सक्रिय थिए । उनका बुबाआमा दुवै ७५ वर्ष नाघिसकेका छन् । परिवारको बाँच्ने आधार खेती किसानी हो ।

व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका गोपाल आयुर्वेदिक औषधालयमा काम गर्ने र योग प्रशिक्षक पनि थिए । सामाजिक कार्यप्रति उनको लगाव असाधारण थियो । उनी युवा नागरिक समाज अर्जुनधाराका सदस्य पनि थिए । गाउँमा कोही बिरामी परे, कोही विपत्तिमा परे सबैभन्दा अघि पुग्ने उनका सहपाठी सुनाउँछन् ।

मंगलबार बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर गोपाल ढले । उनका साथी सुजनराज शिवाकोटीले भने, ‘गोपालले देशलाई आफूले दिन सक्ने सबै दिए । तर अब उनको सपना पूरा होला त ?

प्रदर्शनकारीले ह्यात रिजेन्सी होटलमा २४ भदौमा तोडफोड र आगजनी गर्दा एक भारतीय नागरिकको पनि मृत्यू भएको छ । मृतक गाजियावादको नन्दग्राम स्थित मास्टर कोलोनीका निवासी ५५ वर्षीया राजेशदेवी गोला हुन् ।

भारतीय मिडियाहरूका अनुसार उनी पति रामवीर सिंह गोलासँग पशुपतिनाथ दर्शनका लागि २२ भदौमा काठमाडौं आएकी थिइन् । रामविर ट्रान्सपोर्ट व्यवसायमा संलग्न छन् । दुवैले २३ भदौमा पशुपतिनाथको दर्शन गरेका थिए । उनीहरु त्यो दिन ह्यातमै थिए ।

भोलिपल्ट प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिए । रामवीर दम्पती वरिपरिकै क्षेत्रमा घुमफिर गरेर ह्यात होटलमै बसेको थियो । राति होटलमा अचानक भागदौड मचियो । होहल्ला, आगो र धुवाँ भरियो । रामवीर दम्पतीले होटलबाट बाहिर निस्किने बाटो पाएनन् । अतालिएर चौथो तलाबाट हाम फाल्दा उनीहरु घाइते भए । उपचारका क्रममा राजेशदेवीको मृत्यु भयो ।

रामवीरलाई उद्धृत गर्दै दैनिक भास्करले लखेको समाचारमा कर्फ्युका कारण उनीहरुले काठमाडौंको बसाइ एक दिन लम्ब्याएको उल्लेख छ । विमानस्थल पनि बन्द भएको थियो । रामवीर र राजेशदेवी हरेक वर्ष पशुपतिदर्शर्नका लागि आउने गरेका थिए ।

बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउद एक वर्षदेखि काठमाडौंको कीर्तिपुरमा बसेर कोरियन भाषा सिकिरहेका थिए । गाउँघरमै मजदुरी र आफ्नो खेतीपाती गर्ने उनका बुवा कालुसिंहले जेनतेन छोरालाई भाषा कक्षा लिन काठमाडौं पठाएका थिए । ऋणधन गरेर भए पनि छोरालाई कोरिया पठाउने आमाबुबाको योजना थियो ।

२४ भदौको प्रदर्शनमा गोली लागेर गम्भीर घाइते भएका दीपकको शुक्रबार साँझ ८ बजे काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । घरनजिकैको नागार्जुन माविबाट बाली विज्ञानमा कक्षा १२ पास गरेका दीपक स्वदेशमा बसेर घरको आर्थिक अवस्था सुधार्न नसकिने देखेर कोरिया जाने योजना बनाएर भाषा सिक्न काठमाडौं आएका थिए ।

दीपकले केही दिन पहिले कोरियन भाषाको फारम भरेर परीक्षाको तयारी गरिरहेको साथी निर्मल साउदले बताए । ‘दीपक आन्दोलनमा बल्खुदेखि कालीमाटी जाने क्रममा गोली लागेर गम्भीर घाइते भएको थियो,’ उनले भने, ‘उपचारकै क्रममा अस्पतालमा मृत्यु भयो ।’

दीपकका मामा भरत मडैले भान्जाको मृत्युले परिवार, आफन्त र सिंगो पालिका शोकमा रहेको बताए । पाँच दाजुभाइमध्ये दीपक साइला हुन् ।

वैदेशिक रोजगारीको तयारी गर्दै अनलाइन व्यवसाय पनि सञ्चालन गर्दै आएका थिए, तारकेश्वर–४ काठमाडौंका २५ वर्षे धीरज श्रेष्ठ । परिवारका अनुसार उनी २३ भदौको जेन–जी आन्दोलनमा सहभागी हुन नयाँ बानेश्वर गएका थिए, जहाँ प्रहरीले युवामाथि गोली बर्साएको थियो ।

बुवा नारायणले अघिल्लो दिन युवा मारिएपछि धीरजलाई २४ भदौको प्रदर्शनमा नजान भनेका थिए । तर उनी साथीहरूसँगै टोलबाट निस्किए । ‘देशका लागि लड्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ भनेर खाना खाएर निस्किएको थियो,’ नारायणले भने, ‘गोली दागेर मारियो ।’

स्नातक अध्ययन गर्दै गरेका धीरज देशमा केही नभएको भन्दै विदेश जाने तयारीमा पनि थिए । युवा पुस्ताले परिवर्तन ल्याउन सक्ने कुरा उनीहरू सहकर्मीहरूसँग सुनाउँथे ।

धीरजलाई बालाजु बाइपास क्षेत्रमा गोली लागेको थियो । नजिकैको तारकेश्वर हस्पिटलमा उनलाई लगिएको थियो । ‘घाँटीमा गोली लागेर घटनास्थलमै मरिसकेको रहेछ । एकछिन अघि घरबाट निस्किएको छोरो सधैंका लागि अस्तायो,’ नारायणले भने ।

स्थानीय सुशील भट्टका अनुसार घरबाट निस्केको आधा घण्टामा नै धीरजलाई गोली लागेको थियो । ‘बाइपास पुग्दा बालाजु प्रहरी वृत्तमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको रहेछ । उनी त्यहीं परेछन्,’ भट्टले भने ।

संखुवासभा घर भएका प्रवीण कुलुङ काठमाडौंमा बसेर प्लस टु पढ्दै थिए । आन्दोलनकै दौरानमा उनको मृत्यु भयो । प्रवीणका हजुरबुबा दीपकले भने, ‘गोली लागेपछि नातिलाई पुरानो बानेश्वरकै फ्रन्टलाइन अस्पतालमै लगिएको रहेछ । त्यहाँ उसको मृत्यु घोषणा भएपछि टिचिङ पठाइयो ।’

प्रवीण मारिएको खबरले संखुवासभाका बिरामी आमा र बाबु विक्षिप्त छन् । ‘प्रवीण माइलो नाति हो । घरमा उसकी आमा प्यारालाइसिसको बिरामी छ । बाबु पनि उतै छन्,’ दीपकले भने।

नाति गुमाउँदा दीपकलाई खुबै पीडा भएको छ । तर परिवर्तनका लागि दिएको योगदानप्रति उत्तिकै गर्व पनि लागेको छ । ‘आफ्नो सन्तान गुमाउँदाको पीडा त कसलाई हुँदैन र,’ दीपकले भने, ‘देशलाई परिवर्तन दिएर गएको यस कुराले केही हदसम्म महसुस गर्ने बनाएको छ ।’

राज्यले आफ्नो नातिको योगदान बिर्सिने हो कि भन्ने चिन्ताले पनि दीपकलाई पिरोलिरहन्छ । ‘हामीले सहिद परिवार र राज्य पक्षबीच विभिन्न सम्झौता गरेका छौं । यही निश्चित गरेपछि मात्रै हामी शव उठाउन तयार भएका हौं । आशा छ, राज्यले उनीहरूको योगदानलाई बिर्सने छैन ।’

Share This Article