काठमाडौं – मृतकका परिवारले माग सम्बोधन नभएसम्म शव नबुझ्ने बताएका छन् । मृतक परिवार मिलेर जेन-जी आन्दोलनका मृतक तथा घाइते परिवार संघर्ष समिति पनि गठन गरेका छन् ।
मृतकका परिवार अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न र आफ्नो माग सम्बोधनका लागि बालुवाटार निवास अगाडि कुरिरहेका छन् । मृतकका आफन्त कमल सुवेदीका अनुसार शनिबार प्रधानमन्त्री कार्कीसँग माग सम्बोधन गर्ने विषयमा मौखिक सहमति भएको थियो ।
आइतबार लिखित गर्ने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता जनाएका थिए । मृतकका आफन्तले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्णलाई सहिद घोषणा, सहादत प्राप्त गर्नेलाई राजकीय सम्मानका साथ अन्त्येष्टि र चक्रपथ परिक्रमा गरी शवयात्रा गर्नुपर्ने, सहिद परिवारलाई उचित क्षतिपूर्तिका साथै सचिवस्तरीय पेन्सनको व्यवस्थालगायतका माग राखेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेसँगै जेन-जी आन्दोलनमा मृत्युवरण गरेकालाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेकी छिन् ।