पवन यादव
बारा– बिहिवार राती देखी सुरु भएको अविरल वर्षा शुक्रवार राती अवेर सम्म रोकिएको छैन । बेमौसमी वर्षाबाट केही कृषि बाली लगाएका किसानलाई फाईदा पुगेको छ भने मसुरो सहितको बाली लगाउने किसानल ठुलो नोक्सानी बेहेर्नु परेको छ ।
बेमौसमी वर्षाले मुसुरो लगाउने किसानलाई ठुलो घाटा लगाएको छ । पानी खेतमा जमीसकेको कलैया उपमहानगरपालिका १६ का किसान रामएकवाल मण्डलले बताए ।
‘खेतमा जमेको पानीकै कारण मसुरोको बोट पहेलो भई सुक्छ,’ उनले भने, ‘मसुरोको बोटसंग वर्षाको पानीको प्रभावलाई थेग्न सक्ने क्षमता हुदैन ।’ कमजोर बिरुवा पानीकै कारण मर्ने गरेको उनले जानकारी दिए ।
यसपाली मसुरो खेती पनि ठुलो क्षेत्रफलमा गरिएको छ । खेति पहिलाको तुलनमामा महंगो भएको छ । खेतीपातीमा गरिएको लगानी उठाउन धौं धौं परीरहेको बेला किसान माथि प्राकृतिकले पनि विपतीको बज्र प्रहार गरीरहेको छ ।
प्रकृतिक प्रहारकै रुपमा बिहिवार देखी सुरु भएको बेमौसमी वर्षा रहेको र यसले कृषि वालीमा अकल्पणीय क्षति पुर्याएको अर्का किसान शम्भु यादवले बताए ।
‘यसपाली मसुरो बाली राम्ररी सप्रेको थियो,’ उनले भने, ‘तर वर्षाले खेतिमा गरिएको मिहनेत र लगानी डुबाउदै छ ।’ ईमान्दारिता र लगनका साथ गरिएको कृषि वालीमा किसानले प्रत्येक वर्ष डुबान, बेमौसमी वर्षा, असिना, रोग तथा किराको प्रकोप लगायतका विपतीको सामना गर्दै आएको उनले बताए ।
बाराको श्रीपुर, सखुई लगायतका स्थानमा बेमौसमी वर्षासंगै असिना पनि खसेको स्थानीयले जानकारी दिएका छन ।
असिनाले यस क्षेत्रका सबै कृषि बालीमा क्षति पुर्याएको स्थानीय नन्दलाल चौधरीले जानकारी दिए । बिहिवार राती वर्षासंगै असिना खसेको उनले बताए ।
वर्षाले उखु किसानलाई समस्या उत्पन्न गरेको छ । उखु खेत गिलो भएकोले अहिले उखु कटान, लोडिङ्ग, ढुवानी लगायतका कार्य गर्नमा समस्या उत्पन्न गरेको मझौलियाका उखु किसान राजेश रामले बताए ।
‘अहिलेको वर्षाले साउन, भदौंको झल्को देखाएको छ,’ उनले भने, ‘जाडो महिनामा यसरी वर्षा हुदैनथ्यो ।’ लामो समयको अन्तराल पछि यस वर्षको जाडोमा साउन भदौं जस्तो पानी परेको उनले बताए ।
अहिलेको वर्षाले मसुरो वालीमा नराम्रो असर पार्ने जिल्ला कृषि ज्ञान केन्द्र कलैयाले जनाएको छ ।
वर्षाले कति क्षेत्रफलको मसुरो बालीमा असर पुर्याएको हो तथ्यांक आउन बाकी रहेको कार्यालयले जनाएको छ ।