धुवाधुलोबाट गृहणीलाई जोगाउन ग्यास सहित चुल्हो सेट वितरण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
4 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा – तराई मधेशका अधिकांश घरमा दाउरा र गोईठाबाट गृहणीले बिहान बेलुकाको खाना पकाउने गर्छन । यो चलन खासगरी दलित, विपन्न र जिल्लाको ग्रामिण क्षेत्रको विभिन्न समुदायमा अझै कायमै छ ।

ग्रामिण क्षेत्रका अधिकांश गृहणीले बिहान बेलुकाको छाक टार्न दिन भरी दाउराको जोहोमा भौतारिदै हिड्ने गर्छन । त्यसमा पनि चुल्होबाट निस्केको धुवाधुलोले गृहणीको स्वास्थ्यमा नराम्रो असर गर्ने गर्छ ।

प्रदुषणकै कारण यहाका अधिकांश गृहणीले स्वासप्रश्वासको समस्या झेल्दै आएका छन । चुल्होमा बालिएको दाउरा तथा गोईठा बाल्ने क्रममा बढी धुवा निस्किने गर्छ । त्यसले पारीरहेको नराम्रो प्रभावबाट बाराको सुवर्ण गाउपालिका ४ हर्दियाकी ६० वर्षिया प्राणी देवी अछुतो थिईनन् ।

ससुराल बसेको बेला देखी उनले नियमित चुल्हाचौका सुरु गरेको उनले बताईन । अहिले सम्म दाउरा गोईठाकै उपयोग गरेर खाना पकाउने लगायतका काम गर्दै आएको उनले बताईन ।

‘धुवा खानु त हाम्रो लागी सामान्य भईसकेको छ,’ उनले भनिन, ‘चुल्हो बालेपछि धुवा ननिस्कीने कुरै भएन ।’ युवा अवस्थामा धुवाको खासै असर नदेखिए पनि त्यसको असर वृद्ध अवस्थामा देखा पर्न थालेको उनले जानकारी दिईन ।

पहिलाको तुलनामा अहिले दाउरा माथीको पहुच असहज बन्दै गएकोले आफुहरुले समस्या झेल्न वाध्य हुनु परेको उनले बताईन ।

जाडो र वर्षातको बेला खाना पकाउन धेरै समस्या झेल्नु परेको उनले सुनाईन । वडा कार्यालयबाट सोमवार ग्यास तथा चुल्हा सेट पाएपछि उनी धेरै खुशी भएको बताईन । वडाले ग्यास वितरण गरेर सराहनिय काम गरेको अर्का स्थानीय ७० वर्षिय सहवीर महराले बताए ।

‘हामी गरीबहरुको लागी वडाध्यक्षले राम्रो काम गरेका छन,’ उनले भने, ‘ग्यासले हाम्रो भान्साको स्वरुप नै फेरिएको छ ।’ ग्यासले खाना पकाउदा भाडाकुडा पनि कालो नहुने र भाडो टिकाउ पनि हुने उनले जानकारी दिए ।

प्राणी, महरा सहित स्थानीय विक्रम यादव, जगीलाल राम, भरत राम लगायत वडाभरीका ५ सय ३५ पटा परिवारलाई ग्यास तथा चुल्हा सेट वितरण गरिएको सुवर्ण गाउपालिका ४ का वडाध्यक्ष ढोलेन्द्र प्रसाद यादवले बताए ।

६ सय १० परिवारलाई ग्यास सिलिण्डर सहितको चुल्हो वितरण गर्ने लक्ष्य सहित टेण्डर प्रक्रिया मार्फत प्रति ग्यास सिलिण्डर तथा चुल्हा सेट खरीद गर्न ७ जार २ सयमा ठेक्का लागेको उनले बताए ।

टेण्डर प्रक्रिया मार्फत खरीद गरिएको ग्यास सहित चुल्हो सेट पाएर वडावासी धेरै खुशी भएका छन ।

ग्यास जडान गरेपछि मधेशका अधिकांश भान्सा धुवा रहित हुने विश्वास व्यक्त गरिएको वडाध्यक्ष यादवले बताए ।

‘यसले नगरका गृहणीलाई धुवाधुलोबाट जोगाउछ,’ उनले भने, ‘वडावासीको चाहना अनुसार ग्यास चुल्हो वीतरण गरेका छौं ।’ ग्यासबाट वडाभरीका २ हजार ९ सय जना व्यक्ती प्रत्यक्ष रुपमा लाभान्वीत हुने उनले बताए ।

ग्यास वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुवर्ण गाउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउपालिका भरीकै भान्सालाई धुवा रहित बनाउने लक्ष्य अनुरुप ग्यास सहित चुल्हा वीतरण गर्ने कार्यक्रम संचालनमा ल्याईएको बताए ।

अहिले सम्म गाउपालिकाको वडा नं. ८ र ४ मा ग्यास चुल्हा वितरण कार्य भईसकेको उनले बताए । ग्यास पाउन छुटेका परिवारलाई पनि दोस्रो लटमा ग्यास सहितको चुल्हा सेट उपलब्ध गराईने गाउपालिका अध्यक्ष यादवले आश्वासन दिएका छन ।

ग्यास वीतरण कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीवास्तव, जिन्सी शाखाका कर्मचारी संजिव राम, वडासदस्यहरु सियाराम प्रसाद यादव, जटाहा प्रसाद यादव, ईन्द्रास्नी देवी, स्थानी समाजसेवी शिवनाथ प्रसाद यादव, रामसागर प्रसाद यादव, गौरी शंकर प्रसाद यादव लगायतको उपस्थिती थियो ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस