पवन यादव
बारा– कलैया–बीरगंज सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका २५ विजय आयल स्टोर्स नजिकै बुधवार राती भएको सडक दुर्घटनामा दाजु भाईको ज्यान गएको छ ।
भारतिय नम्बरको स्कारपियोको ठक्करबाट गम्भिर घाईते भएका कलैया उपमहानगरपालिका ५ निवासी ५५ वर्षिय सितल साह र उनका भाई ४० वर्षिय नरेश साहको उपचारको क्रममा वीरगंज स्थित नेशनल मेडिकल कलेजमा राती करीब साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
मृतक दुबै दाजु भाई रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कलैयाबाट बीरगंज तर्फ जादै गरेको बि.आर.०५ ए.आर. ५१५१ नम्बरको भारतिय स्कारपियोले विपरित दिसाबाट कलैया तर्फ आउदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दाजुभाईको ज्यान गएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने स्कारपियो सहित त्यसमा सवार चार जनालाई नियन्त्रणमा लिईएको डिएसपी थापाले जानकारी दिए । ‘नियन्त्रणमा लिएकाहरु मध्ये स्कारपियो चालक हुन सक्छ,’ उनले भने, ‘अहिले सम्म स्कारपियो चालकको पहिचान खुल्न सकेको छैन ।’ तिब्र गतिमा रहेको स्कारपियो मोटरसाईकललाई ठक्कर दिएपछि घटनास्थल भन्दा करीब एक सय मिटर पर आफै दुर्घटनाग्रस्त भएको उनले जानकारी दिए ।
दुर्घटनामा संलग्न मोटरसाईकललाई समेत नियन्त्रणमा लिईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मृतक दुबैको शव नेशनल मेडिकल कलेजमै परिक्षण गरी अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।