पवन यादव
बारा – खेती गरीरहेका कोही पनि किसानले कृषि कर्मको सराहना गर्दैनन् । सर्ट पाईन्ट वा कुर्ता पैजामा लगाउनेहरु त झन्न कृषि कर्म गर्नेलाई हेय दृष्टीले हेर्ने गर्छन । उनीहरुले गरेको किसानसंगको व्यवहार पनि त्यती राम्रो हुदैन । खेतीपाती गर्नेहरु खासै पढेलेखेको हुदैनन् भने आम धारणा छ ।
सधै धुलो, हिलोसंग खेलिरहने किसानलाई शहरीया भाषामा गवार भने चलन छ । यस्ता व्यवहारबाट खिन्नता बोध गरेका किसानलाई बेलाबेलामा मौसम प्रतिकुलता र बजारले खसाएको बज्रपातबाट वर्षेणी पीडा सहने वाध्यता छदैछ । खेतीपातीबाट परिवारको गुजारा चलाउन र बालबच्चालाई पढाउन मुश्किल परीरहेको किसानहरुको गुनासो छ ।
आईपरेका अनेक समस्यालाई झेल्दै किसानी कर्मलाई निरन्तरता दिदै आएका किसानको हकमा सरकारले पनि काम गर्न नसकेको बारा कलैया २ का किसान गंगा राउतले गुनासो गरे । समयमा मल बिउ नपाएर प्रत्येक वर्ष समस्या हुने गरेको उनले बताए ।
बालीलाई चाहिने बेलामा मलखाद दिन नसक्दा उत्पादन बिग्रिने गरेको उनले बताए । ‘हामी किसानलाई कहिले मौसमले दिदैन त् कहिले बजारले, प्रत्येक वर्ष यो नियति दोहोरिदै आएको छ,’ उनले भने, ‘ कुनै बेला मौसमले साथ दियो भने उत्पादन हवातै बढ्छ तर त्यो बेला बजारले साथ दिदैन ।’ उत्पादन राम्रो भएको बेला बालीले मुल्य नै पाउदैन । बजारमा किनमेल गर्ने बिचौलियाले भाउ बिगारेर किसानलाई घाटा व्योहोर्न बाध्य बनाई दिने गरेको उनले बताए ।
उचित मुल्य पाउन नसकेपछि धेरै किसानले तरकारीको लागी प्रसिद्ध छिमी खेती गर्न छाडी सकेका थिए । तर छिमी खेतीको क्षेत्रफल घटेपछि थोरै उत्पादन भएको छिमीले बजारमा राम्रो भाउ पाउन थालेको छ । छिमीको भाउ राम्रो भएकै कारण अहिले छिमी खेतीमा किसानको आकर्षण बढेको छ ।
गत वर्षको तुलनामा यसपाली छिमी खेती गर्ने खेतको क्षेत्रफल र किसानको संख्यामा वृद्धी भएको छ । छिमी खेतीमा राम्रै आम्दानी भएको देखेर लामो समय देखी छिमी खेती गर्न छाडेका कलैया २ का किसान सुनिल कुमार यसपाली ५ कठ्ठा जग्गामा छिमी खेती गरेका छन ।
‘भारतको आदापुरबाट छिमीको बिउ र मलखाद किनेर यसपाली छिमी खेती गरेको छु,’ उनले भने, ‘यसपाली उत्पादन पनि सोचे भन्दा राम्रो भएको छ ।’ तर उत्पादन भएको छिमी बजारमा लग्दा व्यापारी, बिचौलियाले २५/३० रुपैयाँ प्रतिकिलो भाउ लगाउने गरेका छन । त्यसमा पनि प्रत्येक ५ किलो छिमी तौल गर्दा ५ सय ग्राम छिमी सितैमा ढल्टा भनेर व्यापारीलाई दिनु पर्ने बाध्यता रहेको उनले बताए ।
अहिलेको बजार पुरै बिचौलियाको कब्जामा रहेको उनले बताए । किसानबाट कौडीको भाउमा खरीद गरेको तरकारी बाली छिमीको भाउ आफुखुशी चर्को पारेर बजारमा व्यापारीले सर्वसाधारणसंग बिक्री गर्ने गरेको कलैया १६ का अर्का किसान मोतीलाल महतोले बताए ।
‘बजारमा आफैले उत्पादन राखेर किसानले बिक्री गर्न सक्दैन,’ उनले भने, ‘बजार पुरै बिचौलियाबाट कब्जा गरिएको छ ।’ व्यपारीले किसानलाई बजारमा उत्पादन राखेर बिक्री गर्न बस्न नदिएको उनले बताए । आफुले बेच्न नपाएपछि किसानले बाध्य भएर कौडीको भाउमा व्यपारीलाई नै उत्पादन बेच्ने गरेको उनले जानकारी दिए ।
किसानले आफ्नो उत्पादनको भाउ आफैले होईन, व्यपारीले लगाएको भाउमा बिक्री गर्नु परेको किसानहरुको भनाई छ । सरकारले कृषी तथा तरकारी बालीको लागत अनुसारको समर्थन मुल्य समयमै निर्धारण गर्नु पर्ने माग किसानहरुले गरेका छन ।
तरकारी बाली छिमी खेतीबाट राम्रो फाईदा हुने देखिएपछि बारामा छिमी खेती गर्ने किसान र क्षेत्रफलको संख्या पहिलाको तुलनामा यपाली बढेको जिल्ला कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।
बाराको मझौलिया, भलुही, शितलपुर, खपरताता, विश्वम्भरपुर, ईनर्वाशिरा, सिम्रौनगढ, ईटवाल लगायतका स्थानमा तरकारी खेती हुदै आएको छ ।