माओवादी अध्यक्ष प्रचण्ड सहितका नेतामा कोरोना संक्रमण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 741
2 मि. पढ्न लाग्ने समय

पवन यादव
काठमाण्डौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।
कोरोना संक्रमण पुष्टी भएसंगै प्रधानमन्त्री देउवा सहित शीर्ष नेताहरुमा खैलाबैला मचेको छ ।

सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा दाहालमा कोरोना संक्रमण पुष्टी भएको हो । दाहाललाई मात्र होईन, माओवादीका शीर्ष नेताहरुमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

दाहालसँग निरन्तर सम्पर्कमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । त्यस्तै, माओवादी नेताहरु मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटा लगायतलाई पनि कोरोन संक्रमण भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहितका शिर्ष नेतासंगै दाहाल पनि सहभागी भएका थिए ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ लगायत सहभागी थिए ।

दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैठकमा सहभागी सबै नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन ।
दाहालको सचिवालयले स्वास्थ्यमा असहजता देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रवार बेलुकी एन्टिजेन र आरटी–पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जनाईएको छ ।

दाहालका स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण पुष्टी भएको जनाईएको छ । त्यसअघि दाहाललाई बधाई दिन आएका र उनीसँग बैठकमा रहेका नेता तथा कार्यकर्ताहरुमा पनि कोरोना संक्रमण भेटिएको बताईएको छ ।

 

यो लेख शेयर गर्नुहोस