पवन यादव
बारा– एक साता देखी सुरु भएको पश्चिमी हावासंगै चलेको सेरेटोले मध्य तराईमै जाडो बढेको अनुभुति गरिएको छ । शुक्रवार बिहान बाक्लो हुस्सुसंगै बिहान चिसो भएपनि दिउसो घाम लागेपछि केही रातहत भएको थियो ।
शनिवार दिनभरी सेरेटो चलीरह्यो । सुर्य उदाएको अस्ताएको बारावासीले देख्न नपाएको बताएका छन । घाम नलाग्दा बढेको कठ्याङ्ग्रीदो जाडोलाई सह्न मुश्किल परीरहेको उनीहरुले गुनासो गरेका छन ।
जाडो बढे पनि यसपाली शनिवार सम्म स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउरा नबालेको पीडितले गुनासो गरेका छन ।
बारा सदरमुकाम कलैया दिनहु सर्वसाधारणबाट भरिभराउ रहने गर्छ । जाडोले थर्रथर्र काम्ने आगन्तुकले कलैया भरत चोकमा न्यानोको अनुभूती गर्न नपाएको गुनासो स्थानीयले गरेका छन ।
‘जाडोको बेला भरत चोकमा स्थानीय प्रहरी प्रशासनले दाउरा बाल्ने गथ्र्यो,’ स्थानीय पसले श्याम साहले भने, ‘यसपाली जाडो बढेपनि दाउरा बालिएको छैन ।’ अगन्तुक तथा स्थानीयको पीरमर्कालाई बुझेर सरोकारवाला निकायले दाउरा बाल्ने व्यवस्था मिलाउनु पर्नेमा उनको जोड छ ।
कलैया भरतचोक, देवकोटाचोक, दही बजार, कलैया अस्पताल, सेवाप्रदायक सरकारी कार्यालय, राजदेवी मन्दिर, हनुमान मन्दिर, नगर क्षेत्रमा श्रद्धालु भक्तजनको भीडभाड रहने मठ मन्दिर लगायतका स्थानमा दाउरा बाल्ने व्यवस्था मिलाउन स्थानीयले आग्रह गरेका छन ।
जाडोको कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा बढी प्रभावित भएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले जानकारी दिए ।
‘जोडो पीडितको संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय सरकार र स्थानीय प्रशासनकै हो,’ उनले भने, ‘दाउरा, न्यानो कपडाको व्यवस्थापन तथा वितरण तीनै निकायले गर्नु पर्छ ।’ स्थानीय सरकार र स्थानीय प्रशासन आफ्नो कर्तव्य पालनबाट विमुख भएको देखिएको उनले बताए ।
जाडोमा न्यानो बाड्न र दाउरा बाल्न सरोकारवाला निकाय जिम्मेवार भई अहिले देखी नै खटिनु पर्नेमा उनको जोड छ ।
जाडो बढेसंगै बारा, पर्सा, रौतहट लगायत प्रदेश नं. २ कै शहरी तथा ग्रामिण क्षेत्रमा रहेका कपडा पसलहरुमा उन्नी कपडाको कारोवार बढेको स्थानीय कपडा पसलेले बताएका छन ।
जाडो छल्न पर्याप्त उन्नी कपडा खरीद गर्न पसलहरुमा सर्वसाधारणको भीड बढेको कलैयाका कपडा व्यवसायी अजय साहले बताए ।
‘जाडो बढेसंगै उन्नी कपडाको बिक्री बढेको छ,’ उनले भने, ‘माग अनुसारको जाडोको कपडा पुर्याउन व्यापारीलाई भ्याई नभ्याई भएको छ ।’ जाडो बढेसंगै कपडाको व्यापार बढेको उनले आफ्नो अनुभव सुनाए ।
साना देखी ठुल्ला सम्म कलैया बजारका प्रायः सबै कपडा पसल ग्राहकले भरीभराउ रहने गरेको उनले बताए ।
छठ पर्व पछि सेलाएको कपडा व्यवसाय जाडोकै कारण चलायमान बनेको उनले जानकारी दिए ।
गत वर्षको तुलनामा यस वर्ष जाडोको कपडाको मुल्य हवात्तै बढेको कलैया १६ का धर्मेन्द्र साहले बताए । ‘एक हजार सम्म पाईने ज्याकेटको मुल्य २ हजार माथि पुगेको छ,’ उनले भने, ‘सामान्य आम्दानी भएका व्यक्तीको लागी बजार सहज देखिदैन ।’ ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुरको पहुच भन्दा बाहिर कपडाको भाउ पुगेको उनले बताए ।
जाडोले गरीब धनीलाई चिन्दैन । तर जाडोको कारण धनी भन्दा बढी गरीब, विपन्न, दलित परिवारका बृद्धबृद्धा, बालबालिका बढी प्रभावित भएको कलैया २ का बिरेन्द्र प्रसाद यादवले बताए ।
‘जाडोको कारण कपडा खरीद गर्न नसक्ने विपन्नको लागी राज्यले कपडा र आगो ताप्न दाउराको व्यवस्था गरिनु पर्छ,’ उनले भने, ‘जाडोले मान्छे मर्नु भन्दा अगाडी कपडा र दाउराको व्यवस्था सरकारले मिलाउन पर्छ ।’ जाडोकै कारण बारा, पर्सा लगायत प्रदेश नं. २ भरीका विपन्न, दलित, गरीबले कपडा अभावमा ज्यान गुमाउनु परेको उनले बताए ।
जोडोबाट गरीब विपन्नलाई जोगाउन न्यानो कपडा वीतरण गर्ने व्यवस्था मिलाईएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।
‘चोकचोकमा आगो बाल्न दाउराको व्यवस्था गरेर नेपाली सेना, सशस्त्र प्रहरीको जिम्मा लगाईसकिएको छ,’ उनले भने, ‘आईतवार बिहानै देखी दाउरा बाल्ने काम सुरु हुन्छ ।’ जाडो प्रभावितलाई जोगाउन आफुहरु संवेदनशील रहेको उनले बताए ।