कलैया बजार क्षेत्रको सडकमा वर्षौ देखी दोहोरिदै आएको नियती, सुख्खामा धुलाम्य, वर्षामा हिलाम्य

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
3 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– कलैया बजार कुनै नयाँ होईन । एक सय वर्ष भन्दा बढी पुरानो बजार हो । यो बजार भित्र अहिले अढाई सय भन्दा बढी साना ठुला व्यापारी, व्यवसायी अटाएका छन । नुन देखी सुन सम्मको मालसामान, खाद्यान, तरकारी तथा फलफुल, भाडाकुडा आदी खरीद गर्न कलैया नगर सहित वरीपरीका दर्जनौं गाउका मानिसहरु कलैया बजारमा आउने गर्छन ।

दिनहुँ हजारौंको संख्यामा सर्वसाधारण किनमेल गर्न कलैया बजारमा आउने गरेको स्थानीयले बताएका छन । बारा जिल्लाकै जेठो नगरपालिकाको रुपमा कलैयालाई चिनिन्छ । कलैया नगरपालिका हाल कलैया उपमहानगरपालिकामा स्तरोन्ती भएको छ ।

देशको शासन व्यवस्था फेरिएसंगै कलैया नगरपालिकाको स्वरुप फेरिएको छ । तर एक सय वर्ष भन्दा बढी पुरानो कलैयाकै मुख्य बजारको मुहार अझै फेरिएको छैन । सुख्खाको बेला धुलाम्य, वर्षाको बेला हिलाम्य भईरहने कलैया बजारको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ ।

बजारमा किनमेल गर्न आउने सर्वसाधारणले धुलो र हिलोको समस्या सधै खेपीरहेपनि सुधारको पक्षमा आवाज उठाउदैनन् । सरोकारवाला निकायलाई दबाब दिने काम पनि नगरेको स्थानीयको भनाई छ ।

उपमहानगरपालिकाले वास्ता गर्न छाडेपछि कलैया बजारका ठेकदार र व्यापारी मनोपोली गरीरहेकै कारण बजारको अवस्था झन्न नाजुक बन्दै गएको कलैया बजारका पुराना व्यवसायी संजय गुप्ताले बताए ।

‘बजार व्यवस्थापन गर्नेतिर कसैले ध्यान दिएको छैन,’ उनले भने, ‘उपमहानगपालिका र वडा कार्यालय त झन्न मौन बसेको देखिन्छ ।’ मेयर सहितको जनप्रतिनिधीको टोलीले बजारको अनुगमन नगर्दा बजारको अवस्था झन्नझन्न नराम्रो बन्दै गएको उनले बताए ।

सबैले बजारबाट आम्दानी लिन खोज्छन । तर यसलाई व्यवस्थित पार्न, यहाको सडक तथा नालाको मर्मत सम्भार गर्न, सडक तथा फुटपाथ व्यवस्थानि गर्ने तिर कसैको ध्यान नगएको उनले गुनासो गरे ।

बजारको नाला जाम भई पानीको निकास नहुदा र व्यापारीले मनलाग्दी पसल थाप्दा बजारको सडक हिलाम्य बनेको उनले बताए ।
कलैया बजारमा बिक्री गर्न राखिएको तरकारी खसेर नाला जाम हुने गरेको र त्यसबाट उत्पन्न समस्यालाई आफुहरुले समाधान गर्दै आएको दाबी कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरिओम साह सोनारले गरे ।

अलिअलि केही स्थानमा हिलो भएको आफुले पनि जानकारी पाएको उनले बताए । ‘यदी कही पानी जमेको छ भने त्यसको निकास बनाएर बगाउछौं,’ उनले भने, ‘बजारमा नाला जाम भएर पानी जमेको गुनासो आएको छैन ।’ गुनासो आएको समस्यालाई तत्कालै समाधान गर्ने गरिएको उनले दाबी गरे ।

बजारमा फुटपाथ अतिक्रमण, बजारको पार्किङ्ग अतिक्रमण गरी पसल कवल थाप्नेलाई वडाध्यक्ष सोनार कारवाही गर्न तत्पर नदेखिएको सरोकारवालाले गुनासो गरेका छन ।

बजारमा ठेकेदार र व्यवसायीले मनलाग्दी गर्दा पनि भोट गुम्ने डरले वडाध्यक्ष तथा मेयर मौन बसेको स्थानीयले आरोप लगाएका छन ।

यो लेख शेयर गर्नुहोस