पवन यादव
रौतहट– विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भने उखान टुक्कालाई चरितार्थ गर्दै मंगलवार तिब्र गतिमा गुडाईएको स्कारपियो दुर्घनामा परेको छ ।
रौतहटको नरकटियामा जन्ती गएको स्कारपियो घर फिर्ती हुने क्रममा गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्र्तगत रौतहटको गरुडा नगरपालिका १ जयनगरमा दुर्घटनाग्रस्त भएको हो ।
तिब्र गतिमा गुडाईएको बि.आर. ०५ पी.ए. ६९५३ नम्बरको भारतिय स्कारपियो अनियन्त्रित भई सडक भन्दा करीब १५ फिट गहिरो खाल्डोमा फिल्मी स्टाईलमा पल्टिदा स्कारपियोमा सवार ६ जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाईते भएका छन ।
मृत्यु हुनेमा रौतहट गढीमाई नगरपालिका ३ गम्हरिया बस्ने १६ वर्षिय शेख नौसाद, सोही ठाउकै २२ वर्षिय शेख सैनुल्लाह, ५५ वर्षिय डा. मोसाफिर अन्सारी, २५ वर्षिय शेख छोटु, शेख आमुल्लाहका छोरा १५ वर्षिय अजिबुल्लाह र नाम, थर वतन नखुलेको ४५ वर्षिय एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतकहरु मध्ये ३ जनाको शव गरुडा स्थित गरेण्डी अस्पताल, एक जनाको गरुडा स्थित हेल्थ ल्याण्ड हस्पिटल र एक जनाको सुकदेव चोक स्थित शिवदर्शन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी स्कारपियोमा सवार गम्हरियाकै १६ वर्षिय शेख अलफाज, १५ वर्षिय शेख अमानत र १७ वर्षिय शेख करिमुल्लाह गम्भिर घाईते भएका छन ।
घाईतेहरु मध्ये अलफाजको बीरगंजमा र बाकी दुई जनाको गरुडा स्थित गरेण्डी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
स्कारपियोमा ९ जना सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । भोजभतेर खाएर फर्किदै गरेको स्कारपियो तिब्र गतिका कारण दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटना पछि घटना स्थलमा ईलाका प्रहरी कार्यालय गरुडा, ईलाका प्रहरी कार्यालय शिवनगर, प्रहरी चौकी सुकदेव चोक र अस्थायी ट्राफिक प्रहरी पोष्ट सुकदेव चोकबाट खटिएको नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको टोलीले पुगेको थियो ।
घटनास्थलमै ज्यान गुमाईसकेका ४ जनाको शव गाडीबाट निकालेर प्रहरीले अस्पताल पुर्याएको थियो । सोही दुर्घटनामा घाईते भएका ५ जना मध्ये २ जनाको उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बाकी ३ जना घाईतेहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
नेपाली सडकमा गुडेको भारतिय नम्बर प्लेटका सवारी साधनको गति जहिले पनि ७०/८० भन्दा माथी रहने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
तिब्र गतिमा सवारी साधन गुडाउने चालकलाई नियन्त्रणमा लिएर कारवाही गर्न खोज्दा जिल्लाकै विभिन्न राजनीतिक दलका नेताहरुको दबाबमा छोडनु परेको ट्राफिक प्रहरीले जनाएको छ ।
यसले तिब्र गतिमा सवारी गुडाउने चालकको मनोबल बढने गरेको र त्यसैको परिणाम यो दुर्घटना पनि रहेको ट्राफिक प्रहरीको भनाई छ ।
कालोपत्रे भएको साँघुरो सडकमा चालकले तिब्र गतिमा सवारी कुदाउदा रौतहट, बारा, पर्सा लगायतका जिल्लामा सवारी दुर्घटना पछिल्लो समय बढेको प्रहरी अधिकारीहरुको भनाई छ ।