पवन यादव
बारा– रातो कलम चलाउने व्यक्ती सधै कुर्सीमै बस्ने गर्छन भने आम बुझाई छ । सरकारी कार्यालयका कर्मचारी हाकिम सधै सुकिला–मुकिला भएरै बस्छन । उनीहरु अन्य कुनै काम आफै गर्दैन्न । काम पुरा गराउन तल्लो दर्जाको कर्मचारीलाई खटाउछन । उनीहरु सधै कुर्सीमै चिप्केर दिन बिताउछन । सधै कुर्सीमा चिप्केर बस्ने र कागज मिलाउदै सेवा प्रवाह गर्ने जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीहरुको कार्यशैली शुक्रवार फरक देखियो ।
बाराका जनताको लागी नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउन, विभिन्न मुद्दाका फाईल मिलाउने, टिप्पणी आदेश लेख्ने, रातो कलम चलाउने सबै कर्मचारी कार्यालय समयमै कुर्सी छाडेका थिए । कार्यालय सकिन समय बाकी रहेकै बेला उनीहरु कागज, कलम छाडेर कार्यालयमै झाडु, हसिया, टोकरी उठाए ।
लामो समय देखी फोहोरले जाम भएको कार्यालय वरीपरीको नाला, कार्यालय परिसर भित्रको फोहोर तथा क्वार्टर वरीपरि उम्रेको झारपात सफा गर्न जुटेपछि कार्यालयमा काम गराउन आएका सेवाग्राही आश्चर्यमा परेका थिए ।
‘हाकिमहरु पनि मेस्तर जस्तै सरसफाई गर्दो रहेछन,’ राष्ट्रिय परिचयपत्र बनाउन लाईनमा बसेका एक युवकले भने, ‘हाकिमले सफा गरेको कार्यालय फोहोर पार्नु हुदैन ।’ कार्यालयमा आउने सेवाग्राहीले अब सरसफाईमा ध्यान दिनु पर्ने उनले बताए ।
कार्यालयमा जथाभावी फोहोर नफाल्न र सार्वजनिक स्थललाई कसरी सफासुग्घर राख्ने भने सन्देश दिने उदेश्यले कर्मचारीहरु कार्यालय सरसफाई गर्न जुटेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जानकारी दिए ।
‘वातावरण स्वच्छ भएपछि मात्र मानिस स्वस्थ्य रहन्छ,’ उनले भने, ‘त्यसैले पहिला वातावरण स्वच्छ राख्न सरसफाईमा जुटेका छौं ।’ अबको जिल्ला प्रशासन सफा र सुन्दर रहन्छ । कार्यालयलाई फोहोर पार्ने व्यक्तीलाई कानुन बमोजिम कारवाही गरिने उनले बताए । सुरु सुरुमा चेतावनी दिएरै एक पटकको लागी सचेत गराएर छाड्छौं । दोहो¥याएर गल्ती गर्नेलाई कानुनी कारवाही गरिने उनले जानकारी दिए ।
यसरी नै सबैले आ आफ्नो वरीपरीको स्थल सफासुग्घर पार्नु पर्छ । आफ्नो लागी आफैले सरसफाई गर्नु पर्नेमा उनको जोड छ । सरसफाईबाटै धेरै रोगबाट बच्न सकिने उनले बताए ।
सहायक प्रजिअ सेढाईकै अगुवाई प्रशासकिय अधिकृत, नायब सुब्बा, खरदार, कार्यालय सहयोगी, सुरक्षाकर्मी सबै सरसफाई गर्न खटिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।
सरसफाईको क्रममा उनी पनि कार्यालय परिसरमै अन्य कर्मचारीसंगै बाहिरै बसेका थिए । कार्यालयलाई फोहोर बनाउनेलाई कानुनी कारवाहीको दायरामा ल्याईने चेतावनी समेत उनले दिएका छन ।
कार्यालयमा सुर्ति, गुटखा, प्लाष्टीकजन्य वस्तु प्रवेशमा कडाई गरिने कार्यालयका अधिकारीहरुले बताएका छन । यस्ता वस्तु बोकेका व्यक्तलाई चेकजाच गरी ती सबै वस्तु बाहिरै फाल्न लाउने निर्देशन जारी गर्ने तयारी समेत गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी समेत रहेका सहायक प्रजिअ सेढाईले बताए ।
सरसफाई गर्नु अघि कार्यालय परिसर तथा नालामा यत्रतत्र फालिएको प्लाष्टिकको बोतल, गुटखाको खोल, ड्राईफुड प्याक गरिने खाली झोला लगायतबाट कार्यालय फोहोर देखिएको थियो ।