बारामा आपतकालिन सेवा दिने कलैया उपमहानगरपालिकाको दमकल साता देखी थन्कियो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.5k
5 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– कही आगलागी हुदा पीडित तथा स्थानीयले सबभन्दा पहिला दमकल टोलीलाई सम्पर्क गर्छन । आगलागीलाई दमकलकै सहारामा नियन्त्रणमा लिन सकिन्छ ।

आगलागीबाट हुने जनधनको क्षति कम गर्ने उपयुक्त माध्यम दमकल नै हो । दमकल २४ सै घण्टा चुस्तदुरुस्त हालतमा रहीरहन्छ भने विश्वास आम जनमानसमा रही आएको छ । साईरन र घण्टी बजाउदै बाटोमा निस्केको दमकलको लागी तत्कालै सडक खाली गरीदिने गरिन्छ ।

आगो निभाउन निस्केको दमकलले ठक्कर दिदा पनि कानुन लाग्दैन भने मान्यता छ । दमकल ईमर्जेन्सी सेवाको लागी अति महत्वपूर्ण साधन हो । त्यसैले दमकललाई जहिल्यै पनि चुस्तदुरुस्त र चालु अवस्थामा राखिनु पर्ने बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासको जोड छ ।

‘दमकललाई आगलागी नियन्त्रण गर्ने कार्यमा मात्र प्रयोग गरिनु पर्छ,’ उनले भने, ‘पछिल्लो समय दमकललाई आगलागी नियन्त्रण गर्न भन्दा भिआईपीको स्वागतमा प्रयोग गर्ने क्रम बढदो छ ।’ सडकमा उडेको धुलो कम गर्न पानी हाल्न पनि पालिकाहरुले मनलाग्दी दमकलको दुरुपयोग गरेको पाईन्छ । यस्तो कार्यलाई अविलम्ब रोकिनु पर्नेमा उनको जोड छ ।

उनका अनुसार, गर्मीको बेला सडकमा उडेको धुलो कम गर्न दमकलबाटै सडकमा पानी छर्ने गरिएको थियो । कोरोना महामारीको बेला औषधी छर्न दमकल प्रयोग गरिएको थियो । विभिन्न पाउडर घोलेर दमकलकै पम्पबाट एक्सप्रे गरिएको थियो ।

यसरी अन्य काममा प्रयोग गरिदा दमकलको पार्टपुर्जा छिट्टै बिग्रिने गर्छ । बारम्वार अन्य काममा प्रयोग गरिएकै कारण कलैया उपमहानगरपालिकाको दमकल विगत एक साता अघि देखी बिग्रेको उनले जानकारी दिए ।

एक साता अघि पम्प विग्रेर ठप्प भएको दमकल अहिले सम्म मर्मत भई संचालनमा आउन नसकेको कलैया ११ रंगपुरका आगलागी पीडित रामबाबु प्रसाद यादवले जानकारी दिए ।

‘दमकल जस्तो ईमर्जेन्सी सवारी साधन यतिका दिन सम्म बिगारेर राख्न मिल्छ,’ उनले भने, ‘कलैया उपमहानगरपालिकाको कमजोरीकै कारण अहिले सम्म दमकल मर्मत हुन सकेको छैन ।’ कलैया उपमहानगरपालिकाको दमकल बिग्रेर आगो नियन्त्रण गर्न प्रयोग गर्न नसकिदा आफुले ठुलो क्षति व्योहोर्नु परेको उनले गुनासो गरे ।

रंगपुरमा राखिएको परालको कुन्यूमा बुधवार साढे ८ बजे लागेको आगोलाई समयमा नियन्त्रण गर्न नसकिदा करीब २ लाख भन्दा बढीको पराल जलेर नष्ट भएको छ ।

‘घटना स्थल भन्दा करी डेढ किलोमिटरको दुरीमा रहेको कलैया उपमहानगरपालिकाको दमकल काम नलाग्दा समयमा आगलागी नियन्त्रण गर्न सकिएन,’ आगलागी पीडित रामबाबुले भने, ‘घटनास्थल भन्दा करी ९ किलोमिटर टाढा रहेको महागढीमाई नगरपालिकाको दमकल आउन झण्डै एक घण्टा लागेको थियो ।’ तर कलैया उपमहानगरपालिकाबाट करीब १० मिनेटमा दमकल घटनास्थलमा पुग्थ्यो ।

पानी अभावमा समयमा नियन्त्रण गर्न नसकिएको आगलागीले ठुलो क्षति पुर्याएको उनले गुनासो गरे । उनी आगलागी हुनासाथ कलैया उपमहानगपालिकामा जानकारी गराए । नगरपालिकाले बारुणयन्त्र विग्रेको जानकारी दियो ।

उनी हतार हतारमा जिल्ला प्रहरी कार्यालय बारामा फोन सम्पर्क गरे तर प्रहरीले पनि कुनै वास्ता नगर्दा अतालिए । के गर्ने ? कसलाई भन्ने हतार हतारमा चारैतिर फोन घुमाए । तर कहि कतै कुनै सीप लागेन ।

आखिरमा पटक पटकको प्रयासबाट अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाराको कनट्रोल नम्बरमा सम्पर्क गर्दा फोन सम्पर्क भएको उनले बताए । प्रहरी मार्फत महागढीमाई नगरपालिकाको बारुणयन्त्रको सहयोगमा राती साढे ९ बजे अगालागी नियन्त्रणमा लिईएको उनले जानकारी दिए ।

बिग्रेको पम्प मर्मत हुन नसक्दा दमकल संचालनमा ल्याउन नसकिएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले बताए ।

एक साता देखी पम्प बिग्रेर दमकल थन्किएको र त्यसलाई मर्मत गरी संचालनमा ल्याउने प्रयास भईरहेको उनले दाबी गरे । ‘दमकलको पम्पको सामान नै यहा पाईरहेको छैन,’ उनले भने, ‘छिट्टै नै पम्प मर्मत गरी दमकल संचालनमा ल्याने छौं ।’ आज भोलीमै दमकल संचालनमा आउने उनले आश्वासन दिए ।

कर्मचारी, ईन्धन र मर्मत सम्भार लगायतका गरी दमकल व्यवस्थापन गर्न प्रत्येक महिना करीब ४ लाख रुपैयाँ खर्च हुदै आएको उनले जानकारी दिए । वारुण यन्त्र आगलागी नियन्त्रण गर्ने उदेश्यले संचालनमा ल्याईएको हो ।

अहिले जाडो महिनाको समय छ । घरमा आगो ताप्नको लागि शहर बजारमा हिटर लगायतका विभिन्न विद्युतीय उपकरणहरु ताप्न प्रयोग गरिन्छ । भने गाउँ तिर घरमै घुर लगाएर मानिसहरु शरीरलाई न्यानो राख्न आगोको व्यवस्था गर्छन । यस्तो परिस्थितिमा अलिकति लापरवाही हुने वितिकै घरमा आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।

यस्तो अवस्थामा वारुण यन्त्रको आवश्यकता पर्दछ । आपातकालिन सेवाको रुपमा रहेको बारुणयन्त्र हप्तौ देखि थन्किएर रहे पनि उपमहानगरपालिकाले यसको मर्मत सम्भार गरेर संचालनमा ल्याउन सकेको छैन् ।

पालिकाहरुले नगर क्षेत्रमा हुने आगलागीलाई समयमै नियन्त्रण गर्न दमकलको व्यवस्थापनको नाममा ठुलो रकम खर्च गर्दै आएका छन ।

यो लेख शेयर गर्नुहोस