पवन यादव
बारा– सानै उमेरमा रोजगारीको लागी राजधानी काठमाण्डौं हुईकिएका ५८ वर्षिय राजेश यादव अहिले आफन्तको खोजीमा कलैयामा भौतारीरहेका छन ।
गरीबीले थलिएको परिवारको पीडा सह्न नसकेर उनी आज भन्दा करीब ५० वर्ष अगाडी बुआ र दुई दिदीबहिनीलाई घरमै छाडेर राजधानी हुईकिएका थिए । आमा बितेपछि घरमा बढेको किचलोको कारण करीब ८ वर्षको उमेरमा उनी पैसा कमाउने धोको बोकेर राजधानी हुईकिएका थिए ।
घरबाट निस्किएका राजेशलाई कलैया बरगाछी स्थित संचालन हुदै आएका तराकरी बजारमा एक व्यक्तीसंग भेट भयो । कलैयाबाट काठमण्डौं चल्ने राजहंस र जयन्ती बसको काउन्टर पनि बरगाछी नजिकै थियो ।
राजधानी काठमाण्डौं पुग्न कलैयाबाट राजहंस बसमा चढाईदिएका व्यक्तीको नाम पनि अहिले उनलाई स्मरण छैन । सुरु सुरुमा तिनै व्यक्तीले एक होटलमा भाडा माज्ने काममा लगाईदिएको राजेशले बताए ।
होटल साहुले यातना दिन थालेपछि उनी त्याहाबाट पनि खाली हात आफुलाई सहज हुने रोजगारीको खोजीमा निस्के । तर चाहना अनुसारको काम पाएनन् । झन्डै ४/५ वर्ष भौतारेपछि काठमाण्डौंमै एक पारिवारिक घरमा काम पाएको उनले सुनाए ।
लामो समय सम्म घरकै कामकाजमा खटीरहे ‘राजेश’ । समय कसैलाई पर्खेर बस्दैन भन्ने भनाई अनुसार समयले फेरिएको किशोरावस्था पार गर्दै उनी युवा अवस्थामा पुगे ।
त्यसबेला गरेको कामबाट भएको आम्दानी मध्ये केही रकम जम्मा भयो । हातमा कमाईको पैसा परेपछि उनी कलैयामा रहेको घर परिवारलाई स्मरण गरेका थिए ।
तर बढी पैसा कमाउने लोभमा राम्रो कामको लोभमा भौतारिएका राजेश सिन्धुपाल्चोकमा पुगेका थिए । सिन्धुपाल्चोककै एक गरीब परिवारकी पहाडी मुलकी केटी प्रमिला श्रेष्ठसंग बिहे गरे ।
हातमा भएको सबै पैसा खर्च भएपछि फेरी पुरानै हालतमा फर्केका राजेश श्रीमति सहित घरकै काम गर्न राजधानी काठमाण्डौं फर्के । काठमाण्डौं स्थित टोप बहादुर रायमाझीको घरमा दम्पतीले काम पाए । त्यहा झन्डै २० वर्ष काम गरेपछि माझी परिवारको विश्वास जितेका राजेशलाई नेता टोपबहादुरले काठमाण्डौं महानगरपालिकामा डेली रोजको सरसफाईकर्मीको काममा लगाई दिए ।
त्यसपछि अहिले सम्म सरसफाईकर्मीकै काम गरीरहेको राजेशले जानकारी दिए । टोपबहादुरकै घरमा काम गरीरहेकै बखत जेठो छोरा प्रशान्त र छोरी प्रकृतिको जन्म भएको उनले बताए । अहिले छोरा १९ वर्ष र छोरी १७ वर्षको पुगेका छन । दुबै जना कक्षा ९ मा पढीरहेको उनले बताए ।
आफन्तसंग भेट्न माईती सिन्धुपाल्चकोक पुगेकी श्रीमति प्रमिलालाई २०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पले खोसीदिएको उनले भकानिदै आफ्नो पीडा सुनाए ।
त्यसपछि छोराछोरीहरु काठमाण्डौंमै मामाघरमा बस्दै आएको उनले जानकारी दिए । आफु चाही विगत १५ वर्ष देखी आफन्तको खोजी गर्दै कलैया–काठमाण्डौं ओहोरदोहोर गर्दै आएको उनले बताए । ‘आमा बुआ बितेपनि दुई दिदी मध्ये कोही त बाचेका होलान भने आशामा छु,’ उनले भने, ‘दुई दिदी मध्ये कोहीसंग त भेट होला ?’ कान्छी दिदीको नाम काईलीको हो । बैरियामा आफ्नो पुरानो घर भएको उनले बताए ।
आफ्नो बुआको नाम अर्जुन यादव र आमाको नाम सुशीला देवी रहेको दाबी गर्दै आएका राजेशले आफ्न्तलाई चिन्ने कोही त भेटी हाल्छन कि भन्दै विदाको बेलामा कलैया आईपुग्ने गरेको बताए ।
दिदीहरु कहा छन आफुलाई कुनै अतोपतो नभएको उनले बताए । आफन्तसंग भेट नहुदा आफुले अहिले सम्म नागरिकता समेत बनाउन नपाएको उनले दुखेसो पोखे ।
बालबच्चको पढाईमा पनि नागरिकता नबनेकै कारण समस्या भईरहेको उनले बताए । दिदीहरु मध्ये कोही भेटिदिएको भए आफ्नो नागरिकता बन्ने उनी विश्वस्त रहेको बताउछन ।
पुर्व खानेपानी तथा सरसफाई मन्त्री टोपबहादुर रायमाझीले पनि नागरिकता नभएकै कारण महानगरपालिकामा स्थायी गराउन नसकेको राजेशले बताए । आफन्तसंग पहिचान गराउन सहयोग गरीदिन उनले आग्रह गरेका छन ।