हेलिकोप्टर दुर्घटनामा भारतका सिडिएस रावत सहित १४ को मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.3k
3 मि. पढ्न लाग्ने समय

दिल्ली– भारतका चिफ अफ डिफेन्स स्टाफ विपीन रावत सहित १४ जनाको बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गएको छ ।

हेलिकोप्टरमा विपिनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिद्दर, लेफ्टीनेन्ट कर्णल हरजिन्दर सिंह, नायक गुरेश्वर सिंह, नायक जितेन्द्र कुमार, लांस नायकद्वय विवेक कुमार, बि साई तेजा र हवल्दार सत्पाल लगायत १४ जना सवार थिए ।

दुर्घटनामा हेलिकोप्टरमा सवार सबैको ज्यान गएको भारतिय संचार माध्यम आजतकले जनाएको छ ।

तमिलनाडूस्थित वेलिङ्टन तर्फ जाँदै गरेको उक्त हेलिकोप्टरमा अवतरण हुन १० मिनेट अघि दुर्घटनामा परेको थियो । विविध विशेषतायुक्त हेलिकोप्टर दुर्घटना भएपछि भारतीय वायु सेनाले छानबिन समिति गठन गरेको छ ।

रावत सवार रहेको एमआई (१७ भी ५) हेलिकोप्टर आधुनिक किसिमको हो । संसारमा अहिले सञ्चालनमा रहेका आधुनिक तथा धेरै विशेषतायुक्त रहेका हेलिकोप्टर भित्र यो पनि पर्छ ।

रुसको कजानको कम्पनीले निर्माण गरेको यो हेलिकोप्टर अन्य कार्गो हेलिकोप्टरको भन्दा धेरै सुरक्षित मानिन्छ । भारतीय वायु सेनाले सन २०१२ देखि प्रयोग गर्दै आएको भारतिय संचार माध्यमले जनाएका छन ।

भारतले सन २००८ मा रुसबाट यस प्रकारको ८० वटा हेलिकोप्टर खरिद गरेको थियो । सन २०११ मा पहिलो हेलिकोप्टर प्राप्त गरेको र अन्तिम सन २०१८ मा भारत आइपुगेको जनाईएको छ ।

यो मोडलको हेलिकोप्टरमा वेदर राडार र पछिल्लो पुस्ताका हाइभिजन उपकरणहरु जडान गरिएको छ । यसमा पीकेभी एट अटोपाइलट र केएनइआई एट सुइट छन ।

(एमआई १७ भी ५) मोडलको अर्को विशेषता भनेको यसको धेरै भारबहन क्षमता हो । यसले १३ हजार किलोको समान बोक्न सक्छ । डबल इन्जिनयुक्त यो हेलिकोप्टर ६ हजार मिटरसम्मको उचाइमा उड्न सक्छ ।

यो मोडलको हेलिकोप्टर विशेष गरी सर्च एन्ड रेस्क्युमा प्रयोग हुने गर्छ । ढुवानी र उद्धारका लागि मात्रै नभएर यसमा हतियार तथा मिसाइल समेत प्रयोग गर्न सकिन्छ । सेना ओसार्न हतियारको प्रयोग, स्कटिङ, पेट्रोलिङ, खोजी तथा उद्धार लगायत सबै किसिमका सैन्य गतिविधिमा प्रयोग गर्न सक्ने प्रकृतिले यसको डिजाइन तयार गरिएको जनाईएको छ ।

यसमा एस–८ रकेट, २३ एमएम मेसिन गन, पीकेटी मेसिन गन, एकेएम सब–मेसिन गन पनि प्रयोग गर्न मिल्ने जनाईएको छ ।

यो मोडलको हेलिकोप्टरको पहिलो मोडल सन १९७५ मा पहिलो उडान भरेको थियो । सन १९७७ देखि यसको व्यावसायिक उत्पादनसँगै बिक्री सुरु भएको सामाचारमा जनाईएको छ । सन २००७ मा यसको संख्या १२ हजार थियो । एमआईएल÷एमआई–८ मोडललाई अझ विशिष्टिकृत गरेर यो मोडल तयार गरिएको जनाईएको छ ।

यो लेख शेयर गर्नुहोस