बारा– संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपालमा कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको संक्रमण प्रवेश हुन नदिन भारतसँगको सिमानाकामा हुने आवागमन नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले कोरोना विरुद्धको खोपको पूरा मात्रा लगाएको प्रमाण तथा पिसिआर रिपोर्टका आधारमा मात्रै यात्राको अनुमति दिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
बैठकमा समितिका सभापति जयपुरी घर्तीले खुल्ला सिमानाका कारण भारतबाट नेपालमा ओमिक्रोन भाइरस संक्रमण भित्रिन् सक्ने सम्भावना बढी रहेकाले नियन्त्रणका लागि आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका हुन ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाका कारण थप क्षति हुन नदिनु सरकारको पहिलो प्राथमिकता भएको र यसका लागि सरकारले सम्भव भएसम्मका सबै स्रोत, साधन र उपायहरु अपनाउने उनले बताए ।
मन्त्री खतिवडाले कोरोना विरुद्धको खोप सबै नागरिकसम्म पुर्याउन सरकारले स्थानीय खोप केन्द्रहरुमा खोपको आपूर्ति बढाउने तथा खोप केन्द्र थप गर्ने लगायतका कामहरु गरिरहेको पनि बैठकलाई जानकारी दिएका छन ।
यही महिनाको अन्त्य सम्ममा विद्यार्थी, ज्येष्ठ नागरिक लगायत खोप खोप प्राप्त गर्न बाँकी रहेको लक्षित समूहसम्म पुग्ने गरी सरकारले खोप अभियान सञ्चालनको तयारी गरिरहेको उनले जानकारी दिए ।