काँग्रेस महाअधिवेशन प्रतिनिधी निर्वाचन बारामा हस्तीहरु पछारिए

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 876
2 मि. पढ्न लाग्ने समय

बारा– लामो समय देखी नेपाली काँग्रेस बाराको वागडोर सम्हाल्दै आएको पुराना नेताहरुलाई यसपाली मतदाताले पाखा लगाएका छन ।

काँग्रेस बाराका मुख्य हस्ती मानिएकाहरु नै यसपाली मतबाट फालिएका छन । काँग्रेसलाई डो¥याउदै आएका नेताहरुको हातबाट क्षेत्र सम्हाल्ने कमाण्डीङ्ग डोरी फुत्केको छ ।

नेपाली कांग्रेसको जारी १४ औ महाधिवेशनमा नेपाली कांग्रेस बाराका पार्टी सभापति, पुर्व सभापति, पुर्व सचेतक सहितका मुख्य हस्तीहरु नै महाअधिवेशन प्रतिनिधीमै पराजित भएका हुन ।

नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र प्रसाद चौरसिया सहित संबिधानसभा सदस्य तथा काँग्रेस बाराका पुर्व सभापति लालबाबु सिंह, नेपाली काँग्रेसका पुर्व सचेतक शोभाकर पराजुली, संबिधानसभा सदस्य एवम नेपाली काँग्रेस बाराका पुर्व सचिव रामअयोध्या यादव लगायत मूख्य हस्तीहरु नै पराजित भएका हुन् ।

देउवा प्यानलबाट निर्वाचन क्षेत्र नम्बर ३ को मतपत्रमा खुल्ला तर्फको क्रम संख्या १ मा नाम राखेर चुनाव लडेका पार्टी सभापति जयचन्द्र प्रसाद २ सय ६७ मत ल्याएर पराजित बनेका हुन् । निर्वाचन क्षेत्र नम्बर ३ मा ५ सय ९८ मत खसेको थियो ।

निर्वाचन क्षेत्र नम्बर ४ बाट महाअधिबेशन प्रतिनिधीमा पौडेल समुहबाट चुनाव लडेका संबिधानसभा सदस्य तथा पुर्व सभापति लालबाबु सिंह २ सय ५ मत ल्याएर पराजय व्योहोरेका छन् ।

स्वतन्त्र उम्मेदवार बनेका पुर्व सचेतक शोभाकर पराजुली ७२ मत ल्याएर पराजित बनेका छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा ५ सय ३ मत खसेको थियो ।

यसैगरी नेविसंघबाट उदयीमान भएका नेता राजेश रौनियार, समाजसेवाबाट काँग्रेसको राजनीतिमा छलाङ मारेका भैयाराम यादव, कांग्रेसका पुराना नेता किशोरी यादव सहितका हस्तीहरुलाई मतदाताले रोज्न अस्वीकार गरेका छन ।

मतदाताको रोजाईमा पर्न नसकेका यी हस्तीहरुको अबको राजनीतिक यात्रा कसरी अगाडी बढ्ने हो भन्दै कलैयाका चिया पसलहरुमा नेताहरुले अडकलवाजी गर्न थालेका छन ।

पछिल्लो समय नेपाली काँग्रेस बारामा नातावाद, कृपावाद, जातिवादले बढावा पाएको असन्तुष्ट काग्रेंस प्रेमीहरुले गुनासो गरेका छन । यसले काँग्रेसलाई सबल होईन, दुर्बल बनाउने काम मात्र गरेको भन्दै उनीहरुले चिन्ता जाहेर गरेका छन ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस