ठुलाबडाले प्रशय दिन थालेपछि तराईमा दाईजो झन–झन बढदै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
4 मि. पढ्न लाग्ने समय

पवन यादव

बारा, ८ मंसिर– दाईजो लेनदेन रोकिनु त परै जाओस । पहिलाको तुलनामा अहिले दाईजो लेनदेन झन्नझन्न बढदै गएको छ ।

छोरीलाई शिक्षित बनाउने अभिभावक त झन्न पीडित बनेका छन । छोरी होस वा छोरा सबैलाई एक नासले शिक्षादिक्षा हासिल गराउन पनि अभिभावकले ठुलो रकम खर्च गर्नु परेको छ ।

अहिलेको शिक्षा पनि धेरै महंगो छ । तर पनि जेनतेन गरेर छोरीलाई उच्च शिक्षा हासिल गराउद पनि अभिभावकले सुःख पाउन सकेका छैनन् । अभिभावकले आफ्नो कर्तव्य भुलेका छैनन् । छोरालाई बढी पढाउदा दाईजो बढी पाउने अभिलाशा राखेर तराई मधेशका अभिभावकले शिक्षामा लगानी गर्न जोड दिन्छन ।

तर छोरीलाई जति धेरै पढाईयो त्यति धेरै दाईजो दिनु पर्ने बाध्यात्मक स्थिती तराई मधेशमा सुरु भएको छ । बिहे गर्ने बेला छोरीको पढाई अनुसार नै पढेलेखेको ज्वाई खोज्नु पर्ने मान्यता छ । त्यसलाई पुरा गर्न अभिभावकले घरखेत बेचेरै भएपनि ठुलो रकमको जोहो गरेर दाईजोको डिमाण्ड पुरा गर्नु पर्ने बाध्यता छ ।

छोराजस्तै छोरीलाई पढाएर योग्य बनाएका अभिभावकहरु अहिले आएर पछुतो गर्नु पर्ने अवस्था दाईजो डिमाण्डकै कारण आएको अभिभावकहरु बताउछन । दाईजो मधेशको लागी खतरनाक रोग सावित भएको छ ।

जिवनभरको कमाई खर्चेर छोरीलाई पढाउनु पर्ने र बिहे गर्ने बेला घरखेत बेचेर दाईजो दिनु पर्ने बाध्यता रहेको कलैया उपमहानगरपालिका वडा नं. १ की मिना चौधरीले बताईन ।

दाईजोबाट तराई मधेशका कोही अभिभावक अछुतो छैन । ठुलठुला पदमा बसेकाहरु पनि आफ्नो हैसियत अनुसार छोरीको बाबुसंग दाईजो माग्ने गर्छन । छोरीका अभिभावकले कहाबाट दाईजोको जोहो गर्छन त्यसको कुनै प्रवाह छोराका अभिभावकलाई हुदैन ।

दाईजोको व्यवस्था नगरिए छोरीको विवाह नै हुन नसक्ने कलैया उपमहानगरपालिका वडा नं. ५ का मोतिलाल साहले बताए । दाईजो छोरीको लागी अभिश्राप बनेको उनले बताए । दाईजो माग गर्ने विरुद्ध प्रहरीमा उजुरी दिदा छोरीको बिहे नहुने त्रासले नदिएको साहको भनाई छ ।

छोरीका अभिभावकले आफ्नो चाहना र क्षमता अनुसार दिदा खासै फरक पर्दैन । तर दाईजोको डिमाण्डले छोरीका बुवालाई बढी प्रताडित बनाउने गरेको छ । कतिपय अभिभावक केटीलाई महत्व दिन्छन । तर धेरै अभिभावक केटी भन्दा पनि दाईजोलाई प्राथमिक्ता दिने गरेका छन ।

५१ रुपैयाँ दाईजो लिएर बिहे गरेका ८० वर्षिय चिरकुट साहले अहिले दाईजोको माग अत्याधिक बढेको बताउछन । छोरीको बिहे गर्दा अहिले कम्तीमा ४÷५ लाख दाईजो दिनै पर्ने अवस्था रहेको उनको भनाई छ ।

दाईजोकै निहुका कारण बारा, पर्सामा छोरी बुहारी मारिने, ससुरालमा सासु–ससुरा, नन्द लगायतबाट शारिरिक तथा मान्सिक यातना सह्न बाध्य छन । दाईजो अशिक्षा, बालविवाहका कारण पर्सा, बारा लगायत प्रदेश नं. २ भरी नै महिला हिंसाका घटना पछिलो समय बढेको छ ।

प्रहरीमा दिनहु महिलाहिंसाका घटनाका उजुरी आउने गरेको छ । तर दाईजो लिएको वा लिने विरुद्धमा अहिले सम्म प्रहरी प्रशासनमा उजुरी नपरेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए । उजुरी आए कानुन बमोजिम कारवाही हुन्छ । तर अहिले सम्म उजुरी नआएको उनले बताए ।

दाईजो÷दाईजो सबैले भन्छन तर दाईजोको विरुद्ध कसैले आवाज उठाउदैन्न । दाईजो विरुद्ध गैरसरकारी संघसंस्था चलाएकाहरु पनि आफ्नो छोराछोरीको बिहे गर्दा सुरुमै दाईजोको शर्त राख्छन ।

आफ्नो जागिर जोगाउन चेतनामुलक कार्यक्रम गरेर बजेट सक्याउछन । तर प्रहरीमा उजुरी दिदैन्न । दाईजो लिने विरुद्ध अहिले सम्म कारवाही भएको देखीदैन । दाईजो लिएदिएको विषयमा अहिले सम्म बारामा कुनै उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाईजोको उजुरी नआएपनि दाईजोकै कारण घरेलु हिंसा उब्जिएको प्रहरी अधिकारीहरुको भनाई छ । तसर्थ घरेलु हिंसा रोक्न दाईजो प्रथालाई रोक्नु पर्नेमा सरोकारवालाको जोड छ ।

यो लेख शेयर गर्नुहोस