पवन यादव
बारा– बाराको महागढीमाई नगरपालिका ६ पत्तरहट्टीबाट एक १३ वर्षिय बालकलाई अपहरण गरी भाग्दै गरेको अवस्थामा बुधवार दुई जना भारतिय अपहरणकारी पक्राउ परेका छन ।
बुधवार दिउसो करीब २ बजे स्थानीय दिनेश सहनीको छोरा १३ वर्षिय सुशान्त सहनीलाई अपहरण गरी मोटरसाईकलमा भाग्दै गरेका भारतिय अपहरणकारीलाई स्थानीयले लखेट्न सुरु गरेका थिए ।
त्यही क्रममा प्रहरीलाई पनि अपहरणको घटनाबारे जानकारी गराईएको थियो । चारै तिरबाट नाका बन्द भएपछि अपहरणकारीहरु तेलकुवा स्थित गण्डक नहरमा अपहरित बालकलाई फाली भागन् सुरु गरेका थिए ।
भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा अपहरणकारीहरु भारत बिहार पुर्वी चम्पारण अठमोहान कोईरगामा जितनथाना टोल बस्ने २५ वर्षिय बिक्रम सहनी र २२ वर्षिय मुन्ना कुमार साह पक्राउ परेका हुन ।
उनीहरुलाई भारतिय नम्बर प्लेट बि.आर. ५ ए.जे. २१९६ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
उद्धार गरिएका बालकलाई आफन्तको जिम्मा लगाईएको र अपहरणमा संलग्न दुबै भारतिय युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान सुरु गरिएका प्रनि यादवले बताए ।
लामो समय श्चिात बारामा अपहरणको घटना दोहोरिएको प्रहरी तथ्यांकले देखाएको छ । सिमावर्ती जिल्लामा फितलो भएको सुरक्षा व्यवस्थाको फाईदा उठाउदै भारतिय अपहरणकारी नेपाली बालबालिकालाई लक्षित बनाउन थालेका छन ।
अपहरणकारीबाट बालबालिकालाई सुरक्षित राख्न अभिभावक सचेत हुनु पर्नेमा सरोकारवालाहरुको जोड छ ।