पवन यादव
बारा– अरु पेशा भन्दा किसानी पेशा धेरै कठिन छ । तर पनि यो पेशा जेनतेन गरेर गुजारा चलाईरहेका किसानले सरकारले आफुहरुको समस्या कहिल्ये नसुनेको गुनासो गरेका छन ।
खेतमा काटिएको धानको बोझा बांध्दै गरेको अवस्थामा भेटिएका बाराको कोल्हवी नगरपालिका ८ निवासी बुद्धन चौधरीले खेती गर्दा भोग्दै आएका पीडा सुनाउदै सरकार प्रति धेरै गुनासो गरे ।
किसानले जोखिम मोलेर खेती गरीरहेका छन । मौसमले साथ दियो भने बाली सप्रिन्छ । तर बाली सप्रिनु भन्दा रोगको प्रभाव र मलको अभावको कारण सोचे अनुसारको उब्जनी गर्न नसकिएको उनले गुनासो गरे ।
खेतीको समयमा सधै युरिया, डिएपी लगायतका मलको अभाव रहने गरेको र यसले कृषि बालीमा नराम्ररी प्रभाव पारेको उनले बताए । एक दिनमा कम्तीमा १२ सोरही भन्दा बढी बोझा बाँधिरहेका चौधरीले सरकार किसानको पीडा प्रति कहिल्यै गम्भिर नभएको बताए ।
‘दुनियाको हरेक पेशा गर्ने व्यक्तीको बाच्ने आधार अन्न हो,’ उनले भने, ‘ त्यही अन्न उत्पादन गर्ने व्यक्ती किसान हो, सबैको अन्नदाता ।’ तर त्यही अन्नदाता किसानलाई अन्य पेशाकर्मीसंगै सरकारले पनि उपेक्षा गर्दै आएको उनले बताए ।
किसानको पिरमर्का सुन्न र त्यसमा मल्हम लगाउने काम सरकारबाट नभएको उनको भनाई थियो । किसानलाई जहिल्यै पनि हेय दृष्टीले सरकार र अन्य पेशाकर्मीले देखिरहेको अर्का किसान कलैया उपमहानगरपालिका १६ का व्यास ठाकुरले बताए ।
किसानकै भरमा बाच्ने अन्य पेशाकर्मीले तल दर्जाको जस्तो व्यवहार गर्ने गरेको र सरकारले पनि उनीहरु जस्तै किसानलाई व्यवहार गर्दै आएको ठाकुरको भनाई छ ।
‘उद्योगी, व्यवसायीले उत्पादन गरेको लागत खर्च जोडेर मालवस्तुको मुल्य आफै निर्धारण गर्छन,’ उनले भने, ‘तर किसानले धन र परिश्रम दुबै खर्च गरेर उत्पादन गरेको बालीको मुल्य निर्धारण गर्न पाउदैन्न ।’ किसानको उत्पादनको मुल्य सरकारले पनि होईन, बिचौलिया, व्यापारीले निर्धारण गर्ने गरेको ठाकुरले बताए ।
किसानले पनि लागत खर्च अनुसार उत्पादित कृषि बालीको मुल्य निर्धारण गर्न पाउनु पर्ने र त्यसको लागी सरकारले मापदण्ड निर्धारण गर्नु पर्नेमा उनको जोड छ ।
सरकारले किसानलाई खेतीको समयमा मल बिउ सहुलियत दरमा उपलब्ध गराउनु पर्ने र विपती तथा रोगको कारण बालीमा हुने क्षतिको क्षतिपुर्ति समयमै उपलब्ध गराउनु पर्ने उनको माग छ ।
कलैया, जितपुर सिमरा उपमहानगरपालिका, कोल्हवी, सिम्रौनगढ, महागढीमाई, निजगढ, पचरौता नगरपालिका, विश्रामपुर, करैयामाई, प्रसौनी, फेटा, परवानीपुर, बारागढी, आदर्शकोतवाल, सुवर्ण, देवताल गाउपालिकाको विभिन्न गाउमा लगाईएको सयौं विगहा भन्दा बढी क्षेत्रफलको धानबाली खैरो किराको प्रकोपले नष्ट भए पनि अहिले सम्म सरकारले त्यसको तथ्यांक संकलन गर्न सकेको छैन ।
खैरो किराको प्रकोपले क्षति पुगेको बालीको तथ्यांक अहिले सम्म स्थानीय तहले उपलब्ध नगराएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए ।
स्थानीय तहबाट खटिएका कर्मचारीले तथ्यांक नल्याएसम्म क्षतिको यकिन विवरण दिन नसकिने उनले बताए । त्यो भन्दा अगाडी बेमौसमी पानीले धान तथा तरकारी बालीमा क्षति पु¥याएपनि अहिले सम्म पीडित किसानले राहत वा क्षतिपुर्ति पाउन नसकेको गुनासो गरेका छन ।