पवन यादव
बारा– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागी कलैया उपमहानगरपालिकाको सभापति पदको लागी संस्थापन पक्षबाट पाण्डे र ईतर पक्षबाट गुप्ता भिडने पक्का भएको छ ।
संस्थापन ईतर पक्षको शुक्रवार कलैयामा सम्पन्न भेलाले नगर सभापतिमा संजय गुप्तालाई अघि सार्ने अन्तिम निर्णय गरेको थियो । बाकी अन्य उम्मेदवारको नामावली आईतवार सम्म टुंगो लागेको छैन । उम्मेदवारको अन्तिम नामावली ल्याउन छलफल जारी रहेको नेपाली कांग्रेंसका नेता मुकेश कुशवाहाले जानकारी दिए ।
त्यसको दुई दिन पछि संस्थापन पक्षको आईतवार कलैया स्थित दुर्गा माविमा सम्पन्न भेलाले नगर सभापतिमा पुरुषोतम पाण्डेलाई अघि सार्ने निर्णय गरेको छ ।
दुबै पक्षबाट आधिकारिक उम्मेदवार घोषणा भएपछि पाण्डे र गुप्ता आमुने सामुने भिडने पक्कापक्की भएको हो ।
संस्थापन पक्षले आईतवार नै आफ्नो पक्षको सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक नामावली अनुसार उपसभापतीमा अम्बिका प्रसाद यादब र नुर हसन मन्सुर, सचिवमा मुकेश यादब र सुरेश साह तेलि, सह सचिवमा सुभाष जयसवाल र मेहिलाल चौधरीलाई अगाडी सारिएको नेपाली कांग्रेसका नेता एवम पुर्व मन्त्री फरमुल्लाह मंसुरले जानकारी दिए ।
संस्थापन पक्षका देउवा निकटका प्रभावशाली नेता केन्द्रिय सदस्य समेत रहेका पुर्व मन्त्री फरमुल्लाह मन्सुरको प्रमुख आतिथ्यमा भएको भेलाले संस्थापन पक्षको उम्मेदवार टुंगो लगाएको हो ।
भेलामा काग्रेंस बाराका अर्का प्रभावशाली नेता एवम केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य राधेचन्द्र प्रसाद यादब, काग्रेंस बाराका सभापती जयचन्द्र प्रसाद चौरसिया, कलैया ४ का वडाध्यक्ष जट्टाशंकर सहनी, वडा नं. २५ का वडाध्यक्ष राजेस्वर स्वर्णकार लगायत नेताहरुको उपस्थिती थियो ।
उपमहानगर सभापतिको यही मंसिर ७ गते निर्वाचन हुने मिती तय गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले जानकारी दिए ।