तराई मधेशको मौलिक पर्व समा चकेवा सम्पन्न

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 871
4 मि. पढ्न लाग्ने समय

पवन यादव

बारा– दाजु बहिनीको प्रेमको प्रतिकको रुपमा रहेको तराई–मधेशको मौलिक पर्व समा चकेवा शुक्रवार विधिवत सम्पन्न भएको छ ।

बारा सदरमुकाम कलैया लगायत पर्सा, रौतहट, सर्लाही लगायत प्रदेश २ भरीकै किशोरीहरुले समाचकेवाको माटोको मुर्तिलाई शुक्रवार मध्यरातमा नजिकको जलाशयमा सेलाएका छन ।

गाउ गाउमा किशोरीहरु समुह÷समुह बनाएर समाचकेवा खेलेका हुन । गोर्बधन पुजा देखी उनीहरु समाचकेवा खेल्न सुरु गरेका थिए ।

कार्तिक पुर्णिमा सम्म खेलिने यो मौलिक पर्व बिशेष गरी तराई मधेशका रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, धनुषा, महोतरी, नवलपरासी लगायत छिमेकी राष्ट्र भारत बिहारका विभिन्न गाउ तथा शहरी क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु मुलकी अविवाहित किशोरीले मनाउने गर्दछन ।

द्वापरयुगमा भगवान श्रीकृष्णले आफनो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान कृष्णका १६ हजार गोपिनीहरुले भगवान कृष्णको सम्झनामा मनाउने समा चकेवा कालान्तरमा दाजु बहिनीको प्रेम र सदभावको मौलिक पर्वमा रुपान्तरित भएको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाका पुरोहित धिरेन्द्र मिश्रले बताए ।

‘यो पर्वमा पहिला दाजुलाई गितीशैलीमा बहिनीले मार्ने र फेरी गिती शैलीको माध्यमले नै जिवित बनाउने गर्छन,’ उनले भने, ‘यस दृश्यलाई सर्वसाधारणले अभिरुची पुर्वक अवलोकन गर्ने र गीत सुन्ने गर्दछन ।’ आफुले पनि अभिरुची पुर्वक किशोरीहरुले गाएको समाचकेवाको लोकगित सुन्ने गरेको उनले बताए ।

दुई साता सम्म मनाईने यस सांस्कृतिक पर्वमा रातको समयमा गाउ घरका खासगरी कुमारी कन्याहरु एकत्रित भई माटोले बनाईएको मूर्तिहरुको लोक गित गाएर पुजा आजा गर्ने गर्दछन ।

पर्वको अन्तिम दिन पुर्णिमाको रातमा उक्त मुर्तिहरुलाई परम्परागत गित गाउदै फुटाउछन । अनि गाउ घर नजिकको नदी, जलाशय, पोखरी, सरोवर आदिमा लगि सेलाएर आफ्ना दाजु भाईहरुलाई मिठाई पकवान आदी खुवाएर यो पर्व विधिवत रुपमा सम्पन्न गर्ने चलन छ ।

‘मुर्ति सेलाउने दिन किशोरीहरुले आ आफ्नो अभिभावकबाट संकलन गरेको भेटीलाई एकत्रित गरी त्यसबाट दुध, चिनी, तरकारीको परिकार खरीद गर्छौ,’ कलैया उपमहानगरपालिका २ औधापुरकी किशोरी सोनी कुमारी ठाकुरले भनिन, ‘घरमा उपलब्ध भएको चामल संकलन गर्छौ र पकाउछौं ।’ यसरी पकाएको परिकार आफुसंगै गाउका दाजुभाईलाई समेत बोलाएर श्रद्धापुर्वक खुवाउने गरेको उनले बताईन ।

समा चकेवामा चकेवा (दाजु), समा (भाउजु), खिडलिच (बहिनी), बृन्दावन र चुङ्गला (भाईहरु) समेत गरी पा“च जनाको रंगीन मुर्तीहरु कुशले बनाईएको रंगीन भाडोमा राखेर गाउ भरी घुमाएर घर घरै अन्न, नगद आदी उपहार स्वरुप संकलन गर्ने गरिएको उनले जानकारी दिईन ।

पर्वको अन्तिम दिन अर्थात शुक्रवार राती भेटी स्वरुप उठेको अन्नपात र नगदबाट भोज भतेर गरी गाउ भरीका मान्यजन र ईष्ट मित्रहरुलाई एकत्रित गरेर खाने खुवाने चलन रही आएको अर्का किशोरी खुशबु कुमारीले बताईन ।

उक्त अवसरमा नाच गान गरेर मनोरंजन गर्ने चलन समेत रहेको उनले जानकारी दिईन । यस पर्वको अवसरमा तराईका अधिकांश गाउमा आर्केष्ट, लवण्डा नाच, बिहुलाको नाच, ड्रामाको आयोजना गरिएको स्थानीयले बताएका छन ।

यस पर्वमा मुर्तिहरुको अलावा केसार, फूल, कचो, चुलेसी, गाजल बनाउने भाडो (कजरौटा) आदी प्रयोग हुने गरेको उनले बताईन ।

दाजु बहिनीको रक्त सम्बन्धलाई प्रगाढ बनाउदै यस पर्वको एक पात्र चुङ्गलाको खराब छविलाई ईङ्गित गर्दै उसको कृतिम दाडी जुङ्गा जलाउदै समा चकेवा खेल्ने गरीन्छ । लोपन्मुख रहेको यस पर्वलाई जिवन्त राख्नका लागी सबै सचेत हुनु पर्ने बेला आईसकेको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए ।

‘दाजु भाई–दिदी बहिनीको प्रेम सम्बन्ध झल्काउने पर्व हो समा चकेवा,’ उनले भने, ‘यसले माया स्नेह बढाउछ ।’ विस्तारै हामीले लोक संस्कृति झल्काउने यस्ता चाड पर्व हराउने क्रम बढेको उनको बुझाई छ । सबैले आ आफ्नो स्थानबाट रिती संस्कतीलाई झल्काउने चाडपर्वको जगेर्णा गर्नु पर्ने उनले जोड दिए ।

यो लेख शेयर गर्नुहोस