पवन यादव
रौतहट – रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा गाउ नजिकै शनिवार राती करीब १० बजे भारतीय नम्बर प्लेटको कार आफै अनियन्त्रित भई भएको दुर्घटनामा कारमा सवार चार जना भारतियको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रनिगाहपुरबाट गौर तर्फ आउदै गरेको यूके.१२ सी २९०० नम्बरको सुजुकी स्वीफ्ट कार दुर्घटना पछि कार सडकबाट कारीब २० मिटर तल पानीमा डुब्बेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम डिएसपी नारायण चिमोरियाले जानकारी दिए ।
तिब्र गतिमा गुडेको कार अनियन्त्रित भई रोडको पश्चिम तर्फ खाडलमा रहेको पानीमा डुबेको अवस्थामा फेला पारिएको र कारमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भईसकेको उनले जानकारी दिए ।
गाडीमा जम्मा चार जना सवार रहेको र चारै जनाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।
मृतकहरुको हालसम्म पहिचान खुल्न नसकेको तर उनीहरुको साथबाट फेला परेको कागजात अनुसार मृतक सबै भारतिय नागरिक भएको प्रशस्त आधारहरु देखिएको डिएसपी चिमोरियाले बताए ।
दुर्घटनाग्रस्त कारलाई राती नै प्रहरीले क्रेनको सहयोगले पानीबाट निकालेको छ । मृतकहरुको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याईएको प्रहरीले जनाएको छ ।
मृतकहरुको पहिचान खुलाउनको लागी भारतीय प्रहरीसंग समन्वय भईरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी चिमोररियाले बताए ।
प्रारम्भिक अनुसन्धानबाट गाडीमा सवार सबैले अत्याधिक मदिरा सेवन गरेको र चालकले पनि मदिरा सेवन गरेको खुलेको छ । मदिराकै कारण सवारी दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।