वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

मटिअर्वा भन्सारमा संचालन गरिएको हेल्पडेस्क बालबालिकाको लागी बन्यो विश्राम स्थल

बारा– सिमा नाका खुलेपछि भारतसंग जोडिएको मटिअर्वा भन्सारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वसाधारणको लागी हेल्प डेस्क संचालनमा ल्याएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सुविधाको लागी बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको निर्देशनमा हेल्प डेस्कको स्थापना भएको हो ।

हेल्प डेस्कमा कम्तीमा १८ घण्टा बसेर सर्वसाधारणलाई सेवा दिने प्रहरीको कर्तव्य हो । तर माथिलो निकायको निर्देशनलाई समेत ड्युटीमा खटिने प्रहरीले वास्ता गरेको देखिदैन ।

भन्सार कार्यालय अगाडी ब्यानर, कुर्सी, टेवल राखेर देखावटी रुपमा हेल्प डेस्क संचालन गरिएको स्थानीयले बताएका छन ।

प्रहरीले ब्यानर, कुर्सी राखेको हेल्पडेस्कमा स्थानीय बालबालिकाहरु बस्ने गरेका छन । शनिवार पनि हेल्प डेस्कामा राखिएको कुर्सीमा स्थानीय बालबालिका बसेको भेटिए ।

कुर्सीमा बसेका बालबालिकाले आफुहरु सधै यसरी नै हेल्पडेस्कको कुर्सीमा बस्ने गरेको बताए । ‘प्रहरी यहा कहिले पनि बस्दैन,’ ती बालकले भने, ‘हामी नै सधै बस्छौ ।’ खाली कुर्सी भएपछि किन नबस्ने ? कसैले यहा बस्नबाट नरोकेको ती बालकले बताए ।

सिमा क्षेत्रमा खटिएका प्रहरीले ईमान्दारी र कर्तव्य निष्ट भएर कतिको काम गर्दो रहेछन आज क्यामरामा कैद भएको यो तस्वीरले नै पुष्टी गरेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक/एक जना गरी २ जना दिनको १८ घण्टा अनिवार्य ड्युटी गर्नु पर्ने निर्देशन दिईएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाले बताए ।

‘सर्वसाधारणलाई सेवा पुर्याउने उदेश्यले हेल्प डेस्क संचालनमा ल्याईएको हौं,’ उनले भने, ‘सुरक्षाकर्मीसंगै पालिकाबाट पनि एक जना कर्मचारी खट्नु पर्ने हो ।’ कार्यव्यस्तताका कारण संचालनमा ल्याईएको हेल्प डेस्कको अनुगमन गर्न आफुले नभ्याएको उनले बताए । उनीहरु के कसरी काम गरीरहेका छन आफुलाई जानकारी नभएको उनले बताए । चाडै नै हेल्प डेस्कको अनुगमन गरेर भएका कमीकमजोरी सुधार गर्ने प्रजिअ कटुवालले आश्वासन दिए ।