रतनपुर स्वास्थ्य चौकीलाई स्तरोन्ती गर्न पहल सुरु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 681
2 मि. पढ्न लाग्ने समय

निजगढ– चुरेको फेद तथा जंगलको बीचमा रहेको रतनपुरीबासीको सुविधाको लागी रतनपुर स्वास्थ्य चौकीलाई स्तरोन्ती गर्न पहल थालिएको छ ।

वन्यजन्तुको आक्रमण परी घाईते भएकाहरुलाई गाउमै गुणस्तरिय उपचार सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्ती गराउन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले पहल थालेका छन ।

निजगढ नगरपालिका ९ मा रहेको रतनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनको शनिवार उदघाटन गर्दै मेयर खनालले प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पताल निर्माण भईरहेकोले रतनपुर स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति गर्न पहल थालिएको बताए ।

मेयर खनालले नागरिकको स्वास्थ्य सुरक्षाको लागी नगरपालिकाले सञ्चाल गरेका कार्यक्रम र योजना फलदायी भएको दाबी गरे ।

स्थानीय सरकार गठन हुनुभन्दा अघिको अवस्था र स्थानीय सरकार गठन भएपछीको नगर क्षेत्रको स्वास्थ्य सुरक्षाको सवालमा उल्लेख्य प्रगति भएको उंनले बताए ।

नगरपालिकाले न्युनतम शुल्कमा स्वास्थ्य परिक्षण गर्नको लागी प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा आधुनिक ल्याबको व्यवस्था, बिभिन्न रोगका औषधिहरुको निशुल्क व्यवस्था, प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा संचालित सर्पदंश उपचार केन्द्रको प्रभावकारीता, निजगढ र रतनपुरमा बर्थीङ सेन्टर संचालन, नगरका वडाहरुमा स्वास्थ्य क्लिनिक संचालन, विद्यालयका शिक्षक र विद्यार्थीहरुको लागी सामुदायिक विद्यालयहरुमा स्वास्थ्यकर्मीको व्यवस्था, नगरस्तरीय अस्पताल निर्माण लगायत स्वास्थ्य सुरक्षाको लागी आवश्यक अन्य योजना र व्यवस्थापनका कारण नगर क्षेत्रका नागरिकहरुलाई सहजता भएको मेयर खनालले बताए ।

ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षामा पंहुच पुर्याउनको लागी रतनपुर स्वास्थ्य चौकीमा आवश्यक उपकरण सहित स्वास्थ्यकर्मी, एम्बुलेन्सको पनि व्यवस्था गरिएको उनले बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालले नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम मार्फत महिलाहरुको प्रजनन प्रणालीमा सुधार आएको बताईन । कार्यक्रमलाई थप व्यवस्थित बनाउन नगरपालिकाले प्रयास गरिरहेको उनले बताईन ।

भवन उद्घाटन कार्यक्रममा भवन निर्माणका लागी जग्गा दान गर्ने जग्गादाता लगायत भवन निर्माणमा सहयोग गर्ने स्थानीयलाई सम्मान समेत गरिएको थियो ।

यो लेख शेयर गर्नुहोस