मधेश प्रदेशमा डुबेरै ३ वर्षमा ५४२ को मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 221
3 मि. पढ्न लाग्ने समय
जनकपुर- सडक निर्माण, विस्तार वा स्तरोन्नतिका क्रममा छेउछाउबाट माटो निकालेपछि बनेका खाल्डामा डुबेर बालबालिकाको मृत्यु हुने घटना मधेश प्रदेशमा बढेकाे छ मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षमा धनुषामा मात्रै ३९ जनाको डुबेर मृत्यु भयो, जसमा बालबालिकाको संख्या मात्रै २३ छ ।
मधेशमा वर्षाका बेला माटो वा ग्राभेल निकालिएका खाल्डामा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु हुने घटना रोकिएको छैन । प्रदेश प्रहरी कार्यालयबाट प्राप्त १० महिनाको तथ्यांक हेर्दा हरेक महिना औसत ११ जना बालबालिकाको मृत्यु डुबेर हुने गरेको छ ।
चालु आर्थिक वर्ष ०८१/०८२ को जेठ ६ गतेसम्म मधेश प्रदेशका ८ जिल्लामा डुबेर २ सय २ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार यस अवधिमा पानीका दह वा खाल्डोमा डुबेर सर्लाहीमा ३७ जनाको मृत्यु भयो । जसमा १५ जना बालबालिका छन् । सप्तरीमा डुबेर मृत्यु भएका २९ जनामा १५ जना बालबालिका छन् । महोत्तरीमा डुबेर २७ जनाको मृत्यु भएकामा २१ जना बालबालिका छन् । पर्सामा १८ मध्ये ९, बारामा १० मध्ये ६, सिरहामा १२ मध्ये ९ बालबालिकाको यही अवधिमा अनाहकमा ज्यान गयो । धनुषामा ३९ मध्ये २३ जना बालबालिका र रौतहटमा ३० मध्ये १८ जना बालबालिकाको डुबेर मृत्यु भयो ।
प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा मधेशमा डुबेर ५ सय ४२ जनाको मृत्यु भएको देखिन्छ । जसमा बालबालिकाको संख्या मात्रै ३ सय २१ जना छ । अर्थात् डुबेर हुने मृत्युमा बालबालिकाको हिस्सा ५९ प्रतिशत छ ।

 

हरेक वर्ष डुबेर बालबालिकाको मृत्यु हुने गरे पनि यसमा न स्थानीय तह न त प्रदेश सरकार वा संघको ध्यान देखिन्छ । यही हेलचेक्र्याइँले हरेक वर्ष डुबेर मृत्यु हुने संख्या बढ्दो छ । २०७९/०८० मा १५५ जनाको डुबेर मृत्यु भयो । ०८०/०८१ मा यो दरमा १९ प्रतिशतभन्दा धेरैले वृद्धि भएर १८५ पुग्यो । ०८१/०८२ को १० महिनामा भने यो दर अघिल्लो वर्षभन्दा ९ प्रतिशतभन्दा धेरैले बढेर २०२ पुग्यो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार बाढीले बगाएका, खोलामा हाम फालेका घटना एकाध भए पनि धेरैजसो खाल्डाखुल्डीमा जमेको पानीमा र केही पोखरी वा जलाशयमा डुबेर बालबालिकाको मृत्यु हुने गरेको छ । ‘डुबेर बालबालिकाको ज्यान जाने घटना मधेश प्रदेशमा ठूलै समस्या बनेको छ ।’ बाढी, पहिरो, शीतलहर, गर्मी, आगलागी, हावाहुरी लगायतलाई विपद् भन्दै मधेशका १ सय ३६ वटै पालिका र प्रदेश सरकारले पूर्वतयारी गरेको देखिन्छ । तर, पोखरी, नदी, खोल्सा, ठेकेदारले जथाभावी खनेर अलपत्र छाडेका गहिरो खाल्डोमा डुबेर मृत्यु हुनेलाई क्षतिपूर्ति त के तिनै तहका सरकारले प्राथमिकतामा राखेको देखिदैन । डुबेर मृत्युु हुने घटना राेक्न तिनै तहका सरकार गम्भीर हुनु पर्नेमा सराेकारवालाकाे जाेड छ ।

 

यो लेख शेयर गर्नुहोस