विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपद् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनुपर्ने सुझाव दिए । विपद् व्यवस्थापन गर्न समन्वय बढाउनुपर्ने, सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहज रूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउँदा प्रभावकारी र छिटो हुने उनको भनाइ छ ।
सांसद जगप्रसाद शर्माले सूचना प्रविधिको सदुपयोग गर्दै विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने सुझाव दिए । विपद्का जोखिम भएका बस्तीका मानिसलाई अन्यत्र व्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ ।
यसैगरी सांसद इन्दिरादेवि गौतमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यन्वयनमा जोड दिइन् । सांसद उदयबहादुर बोहोराले समयमा नै उद्धार र राहत उपलब्ध गराउने गरी तयारी थाल्नुपर्ने सुझाव दिए ।
सांसदहरु विष्णुकुमारी सापकोटा, राजेन्द्र लक्ष्मी गैरे, किरणबहादुर श्रेष्ठ, नारायणदत्त मिश्र, गोपीबहादुर सार्की आछामीले पनि विपद् जोखिम न्यूनीकरणका लागि समयमै पूर्वतयारी गर्नुपर्ने, विपद्पछिको उद्धार राहतमा जोड दिनुपर्ने, बस्ती स्थानान्तरण गर्नुपर्नेमा जोड दिए।