काठमाण्डौं — अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावमा निर्वाचित डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिका रूपमा सोमबार शपथ लिएका छन् । उनलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले राजधानी वासिङ्टन डीसीस्थित संसद् भवन यूएस क्यापिटल हिलको रोटुन्डा भवनमा आयोजित विशेष समारोहमा शपथ गराएका हुन् । ट्रम्प यसअघि सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए ।
नेपाली समयअनुसार राति १०ः४५ बजे भएको समारोहमा ट्रम्पसँगै जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको शपथ लिए । भान्सलाई भने न्यायाधीश ब्रेट काभानोले शपथ दिलाएका हुन् । सामान्यतः शपथ समारोह क्यापिटल हिलको बाहिर हुने भए पनि यस पटक अत्यधिक चिसोका कारण भवनभित्र गरिएको हो ।
यसअघि सन् १९८५ मा रोनाल्ड रेगनको शपथ समारोह पनि क्यापिटल हिलभित्र गरिएको थियो । शपथपछि ट्रम्पले अमेरिकामा ‘आत्मविश्वास पुनःस्थापना’ गर्नुपर्ने बताए । ‘अमेरिकाको स्वर्ण युग सुरु भएको’ बताउँदै उनले आफ्नो नेतृत्वमा ‘अमेरिका फस्टाउने र सम्मानित हुने’ दाबी गरे । ‘हामी राष्ट्रिय सफलताको रोमाञ्चक नयाँ युगको सुरुवातमा रहेको बारे म विश्वस्त र आशावादी छु, परिवर्तनको उभारले देशलाई व्यापक बनाएको छ,’ ट्रम्पले भनेका छन् ।
उनले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गर्दै आफू शान्तिकामी भएको दाबी गरे । ट्रम्पको शपथ समारोहमा पूर्वराष्ट्रपतिहरू, नेताहरू र प्रभावशाली अर्बपतिहरू इलन मस्क र जेफ बेजोसलगायत उपस्थित थिए ।
शपथग्रहण समारोहका लागि करिब २ लाख समर्थकहरू वासिङ्टन पुगेका थिए । समारोहमा अमेरिकन आइडल विजेता तथा गायिका क्यारी अन्डरवुडले ‘अमेरिका द ब्युटिफुल’ गीत प्रस्तुत गरेकी थिइन् । अमेरिकी डिस्को समूह ‘द भिलेज पिपुल’ ले पनि कार्यक्रममा प्रस्तुति दिने घोषणा गरेको छ । चुनावी अभियानका बेला ट्रम्पले आफ्ना र्यालीहरूमा उक्त समूहका वाईएमसीए र माचो म्यान गीतहरू बजाएका थिए ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पका लामो समयदेखि मित्र र सहकर्मी गायिका ली ग्रीनउड र ओपेरा गायक क्रिस्टोफर माचियोले पनि प्रस्तुति दिएका थिए । पद तथा गोपनीयताको शपथ लिएसँगै ट्रम्प र भान्स दुवैले अध्यागमनलगायतका २ सय वटा कार्यकारी आदेश जारी गरेका छन् । ती आदेशहरूमा आप्रवासन तथा सीमा, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, लिखतहरूको गोप्यता, विदेश नीति, गर्भपतन, टिकटकलगायतका मुद्दा समावेश रहेका बीबीसीले जनाएको छ ।
ट्रम्पले आफूले जारी गरेका ऐतिहासिक कार्यकारी आदेशहरूले अमेरिकाको पूर्ण पुनःस्थापना र क्रान्तिको सुरुवात हुने उनको भनाइ छ । ‘अमेरिकीहरूलाई आज मेरो सन्देश यो हो कि हामीले फेरि एक पटक साहस, जोस र इतिहासको सबैभन्दा ठूलो सभ्यताको जीवन्तताका साथ काम गर्ने समय आएको छ,’ ट्रम्पले भनेका छन् ।
आप्रवासन र सीमासम्बन्धी नीतिअन्तर्गत ट्रम्पले ‘अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन कार्यक्रम सुरु गर्ने’ वाचा गरेका छन् । फक्स न्युजका अनुसार उनले राष्ट्रिय सीमा आपत्काल घोषणा गर्ने र सेनालाई दक्षिणी सीमा सुरक्षित गर्न मद्दत गर्ने आदेश दिने अपेक्षा गरिएको छ ।
ट्रम्पले आफ्नो भाषणमा आप्रवासी संकटलाई सम्बोधन गर्न नसकेको भन्दै बाइडेन प्रशासनको कडा आलोचना गरे । ‘अघिल्लो प्रशासनले हाम्रो देशमा अवैध रूपमा प्रवेश गरेका खतरनाक अपराधीहरूलाई सुरक्षित स्थान र सुरक्षा प्रदान गरेको छ,’ ट्रम्पले भनेका छन् ।
त्यस्तै, उनले संघीय अध्यागमन अधिकारीहरूलाई गिर्जाघर र विद्यालयहरूमा छापा मार्नबाट रोक्ने लामो समयदेखिको नीति अन्त्य गर्ने बताएका छन् । तर, यस्ता सामूहिक निर्वासन कार्यक्रम लागू गर्न अर्बौं डलर खर्च हुने र कानुनी चुनौतीहरूको सामना गर्ने जनाइएको छ ।
ट्रम्पले ‘मेक्सिकोमै रहनुस्’ नीति कडाइका साथ लागू गर्ने जनाएका छन् । त्यसका लागि उनले अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय आपत्काल’ घोषणा गर्ने, लागूऔषध कारोबारीलाई आतंककारी घोषित गर्ने भएका छन् ।
पहिलो कार्यकालमा ट्रम्पले मेक्सिको सीमाबाट अमेरिका पसेका ७० हजार गैरमेक्सिकन शरणार्थीलाई फिर्ता गरेका थिए । मेक्सिको सीमामा पर्खाल लगाउने उनको योजना त सन् २०१७ देखिकै हो । उनले पहिलो कार्यकालमा नै सीमामा पर्खाल बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । पर्खालका केही भागहरू निर्माण गरिएको भए पनि अझै धेरै काम बाँकी छ । यो कार्यकालमा उनले ती पर्खाललाई पूर्णता दिने प्रयास गर्नेछन् ।
त्यस्तै, उनले अमेरिकी माटोमा जन्मेकै आधारमा जो कोही पनि अमेरिकी नागरिक हुने १५० वर्ष पुरानो संवैधानिक अधिकार ‘हास्यास्पद’ भएको बताउँदै खारेज गर्ने बताएका छन् । तर जन्मसिद्ध नागरिकताको अधिकार अमेरिकी संविधानले स्पष्ट रूपमा ग्यारेन्टी गरेका कारण कार्यकारी आदेश जारी गरेकै कारण हट्ने सम्भावना देखिँदैन ।
अमेरिकी उत्पादनलाई प्राथमिकता दिने बताउँदै आएका ट्रम्पले आयातित सामानहरूमा व्यापक कर लगाउने भएका छन् । पहिलो कार्यकालमा ट्रम्पले चीनविरुद्ध लगाएका केही करलाई जो बाइडेनले निरन्तरता दिएका थिए । यस पटक उनले सबै आयातमा १० प्रतिशत कर लगाउने र क्यानडा तथा मेक्सिकोका सामानमा २५ प्रतिशत कर लगाउने भएका छन् । चीनबाट आयात हुने वस्तुहरूमा ६० प्रतिशतसम्म कर लगाउने विषयमा उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताइएको छ । तर, यस्ता करले अमेरिकामा उपभोग्य वस्तुहरू अझ महँगो बनाउने र मुद्रास्फीति बढाउन सक्ने विशेषज्ञहरू बताउँछन् ।
चिनियाँ सामानमा करको दायरा बढाउने घोषणा गरे पनि उनले शपथग्रहण समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई निम्तो दिएका थिए । तर, राष्ट्रपति सीले विशेष प्रतिनिधिका रूपमा समारोहमा भाग लिन उपराष्ट्रपति खान जङलाई वासिङ्टन पठाएका छन् । त्यसका साथै, ट्रम्पले चीन भ्रमणका लागि इच्छुक रहेको बताइसकेका छन् ।
ट्रम्पले जो बाइडेन प्रशासनले लागू गरेका जलवायु नीतिहरू खारेज गरेका छन् । निवर्तमान राष्ट्रपति बाइडेनले हरित रोजगारीलाई बढावा दिन, प्रदूषण नियमन र पूर्वाधारलाई सबैभन्दा ठूलो उपलब्धिका रूपमा अघि सारेका थिए । ट्रम्पले अमेरिकी ऊर्जा उत्पादन बढाउने भएका छन् ।
त्यस्तै, जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका अलग हुने ट्रम्पको नीति छ । सन् २०१७ मा राष्ट्रपतिको पदभार ग्रहण गरेको ६ महिनाभित्र उनले पेरिस जलवायु सम्झौताबाट अलग हुने निर्णय लिएका थिए । सन् २०२१ मा राष्ट्रपति बनेसँगै बाइडेनले सम्झौतामा पुनः सामेल हुने निर्णय गरेका थिए ।
ट्रम्पले सन् २०२१ को जनवरी ६ को क्यापिटल हिल दंगामा दोषी ठहरिएका सयौं व्यक्तिहरूलाई क्षमादान गरेका छन् । घटनामा संलग्न १५ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो । तीमध्ये कम्तीमा ६ सय जनामाथि संघीय अधिकारीहरूलाई आक्रमण वा अवरोध गरेको आरोप लगाइएको थियो । ट्रम्पले १९६३ मा राष्ट्रपति जोन एफ केनेडीको हत्या र सन् १९६८ मा सिनेटर रोबर्ट केनेडी र नागरिक अधिकार नेता मार्टिन लुथर किङ जुनियरको हत्यासँग सम्बन्धित गोप्य दस्ताबेजहरू सार्वजनिक गर्ने भएका छन् ।
विदेश नीतिलाई पनि ट्रम्पले प्राथमिकता राखेका छन् । यसअघि उनले रुस–युक्रेन युद्ध पहिलो दिनमै अन्त्य गर्ने बताएका थिए । तर, पछि उनले युद्ध अन्त्यका लागि ६ महिना लाग्न सक्ने बताएका थिए । यसबारे के गर्ने भन्ने प्रस्ट भएको छैन । ट्रम्पले क्युबालाई आतंकवादको राज्य प्रायोजकहरूको अमेरिकी सूचीबाट हटाउन बाइडेनको हालैको निर्णय रद्द गर्न पनि कार्यकारी आदेश जारी गरेको बताइएको छ । उनले भेनेजुएलाविरुद्धको प्रतिबन्ध पुनःस्थापना गर्न पनि सक्छन् । अघिल्लो प्रशासनमा पनि यी दुवै देशहरू ट्रम्पको निसानामा परेका थिए ।
ट्रम्पले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनलाई स्थगन गरेका छन् । उनको आदेशले कम्पनीको ५० प्रतिशत सेयर किन्न अमेरिकी साझेदार खोज्न समय दिएको छ । यसअघि टिकटकमाथि प्रतिबन्धको पक्षमा देखिएका ट्रम्पले गत चुनावमा आफ्ना भिडियो अर्बौंले हेरेको भन्दै भिडियो प्लेटफर्महरूमा आकर्षित भएका थिए ।
सन् २०२० को अमेरिकी जनगणनाअनुसार अमेरिकामा १ लाख ८५ हजारदेखि २ लाख १५ हजार प्रवासी नेपाली रहेको अनुमान छ । सर्वाङ्गीण विकास अध्ययन केन्द्र आईआईडीएस ले गरेको अध्ययनअनुसार अमेरिकामा रहेका प्रवासी नेपालीमध्ये ३४.७ प्रतिशत प्रविधि क्षेत्रमा कार्यरत छन् ।
ट्रम्पले अघि सारेका आप्रवासनलगायतका मुद्दाले भने अमेरिकामा रहेका नेपालीहरू पनि प्रभावित हुने देखिन्छ । खासगरी, विद्यार्थीका रूपमा अमेरिका पुगेर स्थायी बसोबासको तयारी गरिरहेकाहरू, भिजिटलगायतका भिसामा अमेरिका पुगेर बसिरहेकाहरू तथा अवैध बाटोबाट अमेरिका पुगेकाहरू प्रभावित हुने निश्चित छ ।
अमेरिकामा अध्ययनरत विद्यार्थी तथा दक्ष कामदारहरूमाझ डर र अनिश्चितता फैलिएको छ । अमेरिकामा शैक्षिक सत्र २०२३/०२४ अन्तर्गत ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनरत छन् । अन्तर्राष्ट्रिय विद्यार्थीसँग सामान्यतया गैरआप्रवासी भिसा हुन्छ । यस्तो भिसाले उनीहरूलाई अमेरिकामा अध्ययन गर्न अनुमति दिने भए पनि देशमा बस्नका लागि कानुनी मार्ग प्रदान गर्दैन । यसको अर्थ ठूलो धनराशि खर्चेर अमेरिका पुगेका अधिकांश विद्यार्थीहरू अध्ययन सकेलगत्तै फर्कनुपर्ने अवस्था आउन सक्छ ।
त्यस्तै, अमेरिकाले ‘एच–१बी’ भिसामार्फत हरेक वर्ष करिब ८५ हजार जनालाई आप्रवासन अनुमति दिने गरेको छ । उनले ट्रम्पले आफ्नो पहिलो कार्यकालमा ‘एच–१बी’ भिसामा प्रतिबन्ध लगाएका थिए ।
ट्रम्पले सबैखाले वर्ग, उच्च दक्ष जनशक्तिहरूलाई रोजगार दिने ‘विविधता, समानता र समावेशीकरण ९डीईआई० नीति खारेज गर्न ठूला प्रविधि कम्पनीहरूलाई दबाब दिइरहेका छन् । मेटा, वालमार्ट र अमेजनलगायतका प्रमुख कम्पनीहरूले यो नीति खारेज गरिसकेको जनाइएको छ ।
यद्यपि उनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्धमा भने खासै फरक पर्ने सम्भावना देखिँदैन । तर, ट्रम्प प्रशासनले अख्तियार गर्ने कतिपय नीतिले भने नेपाललाई अप्रत्यक्ष प्रभाव पार्न सक्छ । त्यसमा जलवायु परिवर्तनदेखि स्वास्थ्यलगायतका क्षेत्रहरू पर्नेछन् ।
त्यसका साथै, अमेरिकाले नेपाललाई विभिन्न शीर्षकअन्तर्गत दिँदै आएको सहयोग पनि कटौती हुने सम्भावना छ । पछिल्लो पाँच वर्षमा अमेरिकाले नेपाललाई करिब एक खर्ब रुपैयाँभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ । त्यस्तै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएड० ले सन् २०२४ जुलाईमा पाँच वर्षको अवधिमा करिब ६५ करोड ९० लाख अमेरिकी डलर ९करिब ९२ अर्ब रुपैयाँ० बराबरको सहयोग उपलब्ध गराउने जनाएको थियो ।
ट्रम्पले ‘अमेरिका फर्स्ट’ लाई विदेश नीतिको प्रमुख नाराका रूपमा अघि सारेका छन् । यस अर्थमा एसियामा उनको विदेश नीति नेपालका दुई छिमेकी भारत र चीनमा केन्द्रित हुने देखिन्छ । पहिलो कार्यकालमा ट्रम्पले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव कायम राख्ने र चीनको प्रभाव कम गर्ने उद्देश्यले ‘इन्डो–प्यासिफिक’ रणनीति घोषणा गरेका थिए ।
कार्यकारी आदेश राष्ट्रपतिद्वारा संघीय सरकारलाई जारी गरिने लिखित आदेशहरू हुन् । नीतिगत परिवर्तनहरूका लागि राष्ट्रपतिले जारी गर्ने यस्ता आदेशका लागि संसद्को अनुमोदन आवश्यक पर्दैन । तर, यस्ता कार्यकारी आदेशहरू कानुनको दायराभित्र रहनुपर्छ र तिनीहरूको कानुनी समीक्षा पनि हुन सक्छ ।
पहिलो कार्यकालमा ट्रम्पले २ सय २० कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । तीमध्ये केहीले अदालतमा चुनौतीको सामना गरेका थिए । तर, संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत रहेको अवस्थामा ट्रम्पले गरेका लगभग सबैजसो आदेशहरू कार्यान्वयनमा आउने देखिन्छ । त्यसमाथि ट्रम्पको कब्जामा भएकाले सत्तारूढ रिपब्लिकन पार्टीभित्रबाट पनि उनले कुनै चुनौतीको सामना गर्नॅपर्ने देखिँदैन ।
निवर्तमान राष्ट्रपति जो बाइडेनले १ सय ६० कार्यकारी आदेश जारी गरेका थिए । लगातार दुई कार्यकाल राष्ट्रपति बनेका बाराक ओबामा र जर्ज बुसले क्रमशः २ सय ७७ र २ सय ९१ वटा कार्यकारी आदेश जारी गरेका थिए । ट्रम्प नोभेम्बर ५ मा भएको चुनावमा रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिमा विजयी भएका थिए । उनले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गरेका हुन् । ट्रम्प ३ सय १४ इलेक्टोरल मतसहित विजयी भएका हुन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत आवश्यक पर्छ । ह्यारिसले २ सय २६ इलेक्टोरल मत पाएकी थिइन् ।
यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका ट्रम्प सन् २०२० मा जो बाइडेनसँग पराजित भएका थिए । चार वर्षअघि बाइडेनसँग पराजित भएका ट्रम्पले चुनावी नतिजा अस्वीकार गरेका थिए । त्यस क्रममा ट्रम्पले कार्यकर्तालाई उक्साएका कारण २०२१ जनवरी ६ मा संसद् भवन क्यापिटल हिलमा दंगा मच्चिएको थियो । त्यसले अमेरिकी राजनीतिमा उनको छवि नराम्ररी बिग्रिएको थियो । उक्त कदमपछि ट्रम्प विपक्षी डेमोक्रेटिकका साथै केही रिपब्लिकन नेताको आलोचनाको सिकार बनेका थिए ।
त्यसयताका चार वर्षमा उनले विभिन्न झमेला झेले । उनीविरुद्ध संघीय र विभिन्न राज्यका अदालतमा मुद्दा दायर भए । केही मुद्दामा दोषी ठहर भए । तर, उनी पार्टीभित्रको दबदबा कायम राख्दै रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका थिए । त्यसपछि सम्हालिएका ट्रम्प पुनः अमेरिकी राजनीतिको सर्वोच्च पदमा आइपुगेका हुन् ।