मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन अन्र्तगत दोस्रो परियोजना सम्पन्न, पाईपलाईनबाटै नियमित रुपमा पेट्रोल र मट्टितेल आयात हुने

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 79
5 मि. पढ्न लाग्ने समय

अमलेखगंज(बारा)– भारतको मोतिहारीबाट अमलेखगंजसम्म पेट्रोलियम पाईपलाईनबाट नियमित रुपमा डिजेल आयात गर्दै आएको नेपाल आयम निगमले अहिले पाईपलाईनबाटै नियमित रुपमा पेट्रोल र मट्टीतेल ल्याउने तयारी पुरा गरेको छ ।
गत जनवरीबाटै पेट्रोल र मट्टीतेल भित्रियाउने लक्ष्य राखिएपनि कोरोना माहामारीका कारण पाईपलाईनको दोस्रो परियोजना एक वर्ष ढिलो हुन गएको थियो । अहिले पाईपलाईनको दोस्रो परियोजना सम्पन्न भई पाईपलाईबाटै पेट्रोल र मट्टीतेल ल्याएर सफल परिक्षण समेत गरीसकिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगंजका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए ।
‘पाईपलाईनबाटै पेट्रोल र मट्टीतेल ल्याउन डिपोभित्र सम्पुर्ण तयारी पुरा भईसकेको छ,’ उनले भने, ‘यही जनवरी महिना देखी पट्रोल र मट्टीतेल नियमित रुपमा भित्रियाउने लक्ष्य राखिएको छ ।’ पाईपलाईन अन्र्तगत दोस्रो परियोजनाको उद्घाटन जनवरी महिनामै हुने भनिए पनि मिति चाही तय हुन नसकेको उनले बताए ।


परियोजना उद्घाटनको लागी सरकारलाई अनुरोध गरीसकिएको तर उद्घाटन मिति अहिले सम्म तय हुन नसकेको उनले जानकारी दिए ।
उनका अनुसार, पाइपलाइन परीक्षण गर्न तत्कालका लागि पाइपलाइनबाटै पहिलो चरणमा ५ हजार ५ सय किलोलिटर पेट्रोल र एक हजार किलोलिटर मट्टितेल ल्याईएको छ । पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ । यससंगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारी पुरा भईसकेको छ ।
जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि उद्घाटन नभएकै कारण पट्रोल र मट्टीतेल भित्रियाउने काम रोकिएको उनले बताए ।
पाइपलाइन विस्तार परियोजना अन्तर्गत अमलेखगंजस्थित प्रादेशिक डिपोमा डिपोमा ४ वटा नयाँ ट्यांक निर्माण भएको छ । जसमा ५१ हजार किलोलिटरको दुई वटा र ४१ हजार किलोलिटर क्षमता भएको दुई वटा गरी ४ वटा ट्यांक निर्माण गरिएको छ । जसमा ३ वटा पेट्रोल भण्डारण गर्न र एउटा डिजेल भण्डारण गर्न प्रयोग गरिने छ । त्यससंगै दुई वटा ट्रान्समिक्स ट्यांक समेत निर्माण भएको छ । यो योजना अन्र्तगत डिपोभित्र २ किलोमिटर नयाँ पाईपलाईन बिच्छयाईएको छ ।


अहिले डिपोमा कुल २ करोड ५५ लाख ९३ हजार लिटर डिजेल, एक करोड ७४ लाख ९८ हजार लिटर पेट्रोल र २२ लाख ६० हजार लिटर मट्टीतेल भण्डारण गर्न सक्ने गरी ट्यांक निर्माण भएको प्रादेशिक डिपो प्रमुख आचार्यले जानकारी दिए ।
यसैगरी पेट्रोल ढुवानीका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे–रिफिलर) पम्प हाउस र प्रयोगशाला समेत निर्माण गरिएको उनले बताए । डिपोमा एउटा ट्यांकर लोड गर्न कम्तीमा ३० देखी ४० मिनेट भन्दा बढी समय लाग्थ्यो तर अब त्यो समयको समेत बचत हुने छ । अब २० मिनेटमै एउटा ट्यांकर लोड हुने छ ।
उक्त परियोजना अन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ ।
सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर विभिन्न कारणले केही दिनअघिमात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यको भनाई छ ।
आगलागी जस्ता दुर्घटनाबाट जोगिन डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक समेत निर्माण गरीएको छ ।


पाईपलाईन परियोजना अन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गते देखी पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ ।
आयोजनाको उद्घाटन भएलगतै पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पेट्रोलियम पदार्थको नियमित आयात पाइपलाइनबाटै हुने उनले बताए ।
मेतिहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडामा करीब ४० देखी ५० प्रतिशत बचत हुने, सवारी दुर्घटना र सिमा क्षेत्रमा हुदै आएको सवारी जाम पनि हटेर जाने विश्वास लिईएको डिपो प्रमुख आचार्यले जानकारी दिए ।
पाईपलाईनबाटै भित्रिएको पेट्रोलियम पदार्थ थानकोट, विराटनगर, नेपालगंज, पोखरा, जनकपुर समेतमा आपुर्ति गरिने आचार्यले जानकारी दिए ।
अमलेखगंज डिपोबाट प्रतिदिन १५ सय किलोलिटर डिजेल, ५ सय किलोलिटर पेट्रोल र ८० किलोलिटर मट्टीतेल बिक्री हुदै आएको छ ।
३ सय किलोलिटर क्षमता भएको पाईपलाईनलाई पुर्ण क्षमतामा संचालन गरिएको छैन । अहिले एक सय ५० देखी २ सय किलोलिटर क्षमतामा मात्र पाईपलाईन संचालन हुदै आएको छ । डिजेल, पेट्रोल र मट्टीतेल गरी प्रतिदिन ६ हजार किलोलिटर ईन्धन पाईपलाईनबाटै आयात गर्न सकिने उनको भनाई छ ।
दोश्रो चरणको परियोजना अन्र्तगतको संरचना ९९ सय करोड भारुको लागतमा पुरा गरिएको उनले जनाए ।

यो लेख शेयर गर्नुहोस