नवलपरासी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीबासको पुल भाँचिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो ।
अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबास देखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै लच्किएको हो ।
डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा प्रहरीले रोकेको छ ।
एकै ठाउँमामा गाडीको चाप धेरै नहोस् भन्नका लागि अरुणखोला र बर्दघाटमा पूर्व–पश्चिम हिँडेका गाडी रोकिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेका मध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । पुलमा फसेको लरी निकाल्न समेत समस्या भएको प्रहरीको भनाइ छ ।