बारामा मोटरसाईकल दुर्घटनामा निर्माण व्यवसायी युवकको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 131
2 मि. पढ्न लाग्ने समय

बारा– भरतपुर निर्माण व्यवसायी संघको सदस्यता लिएको परिचयपत्र बोकेको एक युवकको बारामा मोटरसाईकल दुर्घटनामा ज्यान गएको छ ।
कलैयाबाट पिलुवा तर्फ जादै गरेको लु ९५ प ६३५४ नम्बरको कालो रंगको पल्सर मोटरसाईकल बिहिवार राती करीब १०/११ बजे आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा मोटरसाईकल चालक २५ वर्षिय संदिप कुमार यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

दुर्घटनामा परेका युवकको आफैले चलाएको मोटरसाईकलले थिचिएर घटनास्थलमै मृत्यु भएको र घटनाबारे बिहान मात्र प्रहरीले जानकारी पाएको उनले बताए ।

बिहानको घुमफिर (मोर्निङ्ग वाक) गर्दै दुर्घटना स्थल कलैया उपमहानगरपालिका १६ मा पुगेका युवाहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बिहान करीब ७ बजे घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले शव उठाएर अस्पताल पुर्याएको थियो ।

टाउकोमा गम्भिर घाउचोट लागेका ती युवकलाई समयमा अस्पताल नपुर्याउदा अत्याधिक रक्तश्राव भएर उनको घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रत्यक्षदर्शी स्थानीयले अनुमान गरेका छन ।

मृतकको शव परिक्षणको लागी कलैया अस्पतालमा राखिएको छ । मृतकको परिचयपत्रको आधारमा सोधखोज गर्ने क्रममा नागरिकताबाट खुलेको परिचय अनुसार मृतक युवक कलैया उपमहानगरपालिका वडा नं. ११ थरुवापिपरा निवासी २५ वर्षिय संन्दिप कुमार यादव रहेको खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाईकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण उत्तझिटकैया हनुमान मन्दिरमा रहेको सशस्त्र प्रहरी पोष्ट भन्दा करीब १/२ सय मिटरको दुरीमा पर्छ । तर यती फरकमा २४ सै घण्टा ड्युटी खटी रहने पोष्टका सशस्त्र प्रहरीले दुर्घटनाको सुईको समेत पाएनन् । उक्त स्थनमा बारम्वार मोटरसाईकल दुर्घटना हुदै आएको स्थानीयले जानकारी दिएका छन ।

दिनमा जतातै १५ देखी २५ वर्ष उमेर समुहका युवाले तिब्र गतिमा मोटरसाईकल कुदाएको देख्न सकिन्छ । तर यसलाई सम्बन्धित निकायले नियन्त्रण गर्न सकेको छैन । सवारी चेकिङ्गमा खटिएका चेकिङ्ग टोली अगाडीबाटै तिब्र गतिमा मोटरसाईकल कुदाएर भाग्ने गरेको र त्यहा प्रहरी मुकदर्शक बन्न वाध्य हुनु परेको प्रत्यदर्शीले बताएका छन ।

पछिल्लो समय मधेश प्रदेशका जिल्लाहरुमा ग्रमिण भेकमा बनेको कालोपत्रे सडकमा सवारी दुर्घटना बढेको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन प्रदेश कार्यालय पथलैयाले जनाएको छ ।

 

यो लेख शेयर गर्नुहोस