बारा– बाराको कलैया अस्पतालमा आवश्यकता भन्दा बढी कर्मचारी न्यूक्ती गरेर आर्थिक भार थपिएपछि अहिले अस्पतालको हाल बेहाल बनेको छ ।
अस्पताल व्यवस्थापन समिती अध्यक्ष प्रकाश चौगाई र अस्पताल प्रमुख एवम् निमित्त मेडिकल सुपरीटेन्डेन डा. अजय कुमार गुप्ताले निहित स्वास्र्थ पुर्ति गर्न अस्पताल माथी आर्थिक भार थप्दै आफुखुशी कार्यालय सहयोगी र स्वीपर पदमा कर्मचारी न्यूक्त गरेको सरोकारवालाले आरोप लगाएका छन ।
ती दुबै जनाकै मिलोमतोमा कमीशनको लोभमा दरबन्दी भन्दा बढी संख्यामा विभिन्न पदमा कर्मचारी न्युक्ती गरिएको छ । उनीहरुले आवश्यक कानुनी प्रक्रिया नै पुरा नगरी आ आफ्नो मान्छेलाई नियम विपरित कामकाजमा खटाएका छन ।
चार महिना देखी दुबै जनाले होचुवा तालमा स्वीपर पदमा सुधा देवी र ईन्दु देवी पासवानलाई खटाएका छन । तर यी दुबै जनाले कामकाजमा खटेको जानकारी अस्पताल प्रशासनलाई समेत नरहेको अधिकारीले बताएका छन ।
यी दुबै जना अस्पतालबाट कसरी तलब भत्ता बुझीरहेका छन भने विषयमा कलैया अस्पतालकै लेखा प्रमुख रामबालक प्रसाद यादवसंग जानकारी माग्न खोज्दा उनी कुनै प्रतिक्रिया दिन नमानेको र आफुलाई यस विषयमा कुनै जानकारी नरहेको बताएका छन ।
लेखापाल समेतलाई कर्मचारी न्यूक्तीबारे जानकारी नहुनु आफैमा आश्चर्यजनक कुरा भएको सरोकारवालाले बताएका छन । कलैया अस्पतालका एक पुराना कर्मचारीका अनुसार, अस्पताल फार्मेसीमा औषधीको अभाव रहेको र स्वयम अस्पताल विकास समितीका अध्यक्ष चौगाईले पदिय धाक देखाउदै फार्मेसीबाट एक लाख ८० हजार रुपैयाँ लिएका छन ।
अस्पतालको पैसा निजी काममा खर्च गर्न कुनै नियमले मिल्दैन तर अध्यक्ष चौगाईले यसरी अस्पताल फार्मेसीको रकम दुरुपयोग गर्नु गलत भएको ती कर्मचारीले बताए ।
अस्पतालमा उपचार गराउन आएका गरीब, असहायको उपचार तथा औषधी खरीदमा विकास समिती अध्यक्षले गरेको सिफरिसको बक्यौता रकम तिर्न फार्मेसीबाट उक्त रकम लिएको कलैया अस्पतालका प्रमुख एवम् निमित्त मेडिकल सुपरीटेन्डेन डा. अजय कुमार गुप्ताले बताए ।
‘पदिय अधिकार प्रयोग गर्ने क्रममा भएको खर्च व्योहोर्न अध्यक्ष चौगाईले फार्मेसीको रकम खर्च गरेका हुन,’ उनले भने, ‘अध्यक्षको सफिारिसमा भएको खर्चको कागजी प्रक्रिया मिलाउने काम भईरहेको छ ।’ केहीको कागज मिलिसकेको छ । बाकीको आवश्यक काजपत्र मिलाउने काम भईरहेको उनले बताए ।
अस्पतालका मेसु गुप्ताले फार्मेसीको रकम हिनामिना गर्ने अध्यक्षलाई पक्षपोषण गरेको श्रोतको आरोप छ । ६० जना भन्दाबढी दैनिक ज्यालादारीमा कर्मचारी न्यूक्ती गरेर अस्पतालमाथि आर्थिक भार थपिएको छ । यी सबै कर्मचारीलाई तलब भत्ता वापत मासिक १० देखी १५ लाख रुपैयाँ सम्म खर्च भईरहेको श्रोतको भनाई छ ।
सबैको तलब भत्तामा वार्षिक डेढ देखी २ करोड रुपैयाँ अस्पतालले खर्च गर्दै आएको श्रोतले जनाएको छ । यस्तै अस्पतालले बिरामीबाट विभिन्न किसिमका चेकजाँचको नाममा संकलन गरिएको शुल्क र फार्मेसीबाट भएको आम्दानी गरी वार्षिक ३ देखी ४ करोड आम्दानी गर्दै आएको श्रोतले जनाएको छ ।
सोही रकमबाट कर्मचारीको तलब, भत्ता, ल्याब, एक्सरे, औषधी खरीद लगायतमा खर्च हुदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा आवश्यकता भएकै कारण करारमा कर्मचारी भर्ना गरेर जसोतसो अस्पतालको सेवा संचालन गर्दै आएको मेसु गुप्तले दाबी गरे ।
तर अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीले अस्पताल कर्मचारीबाट समयमै सेवा पाउन नसकिएको गुनासो गरेका छन । स्पतालको प्रयोगशालामा जचाईएको ब्लड रिपोर्ट, युरिन रिपोर्ट आउनै ढिलो भएकै कारण आफ्नो बिरामीले १४ घण्टा सम्म उपचार सेवा नपाएको कलैया १ निवासी मुना प्रसाद गुप्ताले आरोप लगाए ।
कलैया अस्पतालका सूचना अधिकारी नायब सुब्बा प्रेम प्रसाद पंडितलाई समस्याबारे जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको उनले आरोप लगाए । सूचना अधिकारी पंडितले आफुले पनि गुनासोबारे जानकारी पाएको र यस सम्बन्धमा सम्बन्धित ड्युटीवालासंग सोधपुछ गरिने बताए ।
अस्पतालको फोहोर व्यवस्थापन भएन
सरसरफाईकै कारण ५० प्रतिशत रोगबाट बच्न सकिन्छ । बिरामी जाच्ने बेलामै चिकित्सकले सेवाग्राहीलाई यस्तो सल्लाहा सुझाव दिने गर्छन । तर त्यही अस्पतालमा उपचार गराउन आउने सेवाग्राही अस्पतालको दुर्गन्धित शौचालय प्रयोग गर्न वाध्य छन ।
शौचालय फोहोर मात्रै छैन । अस्पताल बाहिरको पुरुष शौचालय र स्नान घरमा केही दिन देखी ढोका नै नरहेको सेवाग्राहीले गुनासो गरेका छन । ढोका बिनाको शौचालय प्रयोग गर्न निकै समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन ।
अस्पताल सरसफाई नगरेकै कारण पुर्व मेसु डा.विकास साहलाई स्थानीय सांसद, मेयर सहिताका नेताले दुव्र्यवहार गर्दै अस्पतालबाट सरुवा गराएका थिए । तर अहिले पनि असपतालको सरसफाईमा खासै सुधार नदेखिएको सेवाग्राहीले गुनासो गरेका छन ।
अस्पतालको हालत दिनप्रतिदिन नाजुक बन्दै गएपनि सरोकारवाला निकाय चुप लागेर बस्दा सेवाग्राही थप आक्रोशित बनेका छन । उनीहरुले अस्पताललाई कसैले नहेरेको गुनासो गरेका छन । कार्यालयमा स्वीपर र कार्यालय सहयोगी गरी ४० जना खटिएपनि उचित सरसफाई हुन सकेको छैन ।
मंगलवार पनि बिहान देखी दिउसो सम्म अस्पतालको प्रयोगशाला तथा एक्सरे गरिने रुमको बाहिरको प्यासेज सफा नगरेको पाईएको सेवाग्राहीको गुनासो छ ।
स्वीपरको सिफ्ट आफुसंग राय सल्लाह नै नगरी निर्धारण गरिदा यस्तो समस्या आएको अस्पतालका सूचना अधिकारी पंडितले बताए ।
अस्पतालमा देखिएका समस्या समाधान गर्न कार्यालय प्रमुखसंग छलपल गरेर अगाडी बढ्ने जानकारी समेत उनले दिए ।