बारा– एक लाख ७१ हजार २ सय ८० रुपैयाँ नगद सहित प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नं. १ बरियारपुरबाट १३ जना प्रतिष्ठित जुवाडेहरुलाई पक्राउ गरेको छ ।
गढीमाई ट्रष्टका पुर्व सचिव समेत रहेका मोतिलाल प्रसाद कुशवाहाको घरमा जुवा खेलाईरहेको सूचना पाएर छापामारी गरिदा घरमा खेलीरहेको अवस्थामा जुवाको खालबाटै उक्त नगद सहित विभिन्न राजनीतिक दल र व्यपारिक प्रतिष्ठानमा आवद्ध ती प्रतिष्ठित व्यक्तीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले शुक्रवार अपरान्ह नियन्त्रणमा लिएको थियो ।
शुक्रवार पक्राउ परेको जुवाडेहरुको विवरण र बरामद नगदबारेको सूचना शनिवार सार्वजनिक गर्दै जुवाडेहरुलाई अब कुनै हालतमा नछाड्ने संकेत प्रहरी अधिकारीले गरेका छन ।
प्रहरी चौकी बरियारपुरको पुरानो कार्यालय नजिकै रहेको उक्त घरमा पहिला देखी नै यसरी जुवा खेलाईदै आएको स्थानीयले बताएका छन ।
राजनीतिक पहुँच भएका ती जुवाडेहरुलाई कानुनी दायरामा ल्याउन र उनीहरुमा भएको गलत बानी हटाउन प्रहरीले हिम्मत जुटाएर अगाडी बढेको नागरिक अगुवाहरुले बताएका छन ।
पक्राउ परेका सबैलाई लागु औषध नियन्त्रण ऐन अन्र्तगतको मुद्दामा अदालतबाट म्याद थप गराई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
जुवाको खालबाटै घरधनी ५३ वर्षिय मोतिलाल सहित महागढीमाई नगरपालिका वडा नं. १ बस्ने ५६ वर्षिय राजेन्द्र साह कानु, ४३ वर्षिय मनोज प्रसाद कुशवाहा, ५० वर्षिय बिनोद प्रसाद, ६० वर्षिय जतिकर हुसेन, ४० वर्षिय मोतिलाल प्रसाद कुशवाहा, ४३ वर्षि राजु प्रसाद कुशवाहा, ५० वर्षिय अच्छेलाल महतो, ५९ वर्षिय कस्तुरी साह, सोही नगरपालिका वडा नं. २ बस्ने ३८ वर्षिय राजकिशोर प्रसाद कुशवाहा, ४१ वर्षिय जितेन्द्र तिवारी, सुवर्ण गाउपालिका वडा नं. २ बस्ने ४८ वर्षिय सुकदेव प्रसाद यादव र ३५ वर्षिय मुस्ताक खान पैठानलाई नगद सहित नियन्त्रणमा लिईएको डिएसपी सापकोटाले जानकारी दिए ।
‘पक्राउ परेका सबैजनालाई प्रहरी हिरासतमा राखेर कानुनी कारवाही सुरु गरिएको छ,’ डिएसपी सापकोटाले भने, ‘उनीहरुलाई कुनै हालतमा छोडिदैन, जे हुन्छ अदालतबाटै हुन्छ ।’ प्रहरी कार्यालयबाट छाडिने कुनै चान्स नै नभएको उनले बताए ।
मोतिलालको घरमा संचालन हुदै आएको जुवाको खालमा एक पटकमा कम्तीमा ५ लाख देखी २५ लाख सम्मको दाउ लाग्ने गरेको स्थानीयले नाम नछाप्ने शर्तमा बताए ।
विगतका प्रहरी अधिकारीलाई आर्थिक प्रलोभनमा पारी निर्वाध रुपले उक्त घरमा जुवा खेल संचालन हुदै आएको स्थानीयको आरोप छ ।
यसपाली प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई रंगेहात पक्राउ गरेपछि त्यहा संचालन हुदै आएको जुवाको अड्डाबारे खुलासा भएको बताईएको छ ।
एक लाख ७१ हजार नगद सहित प्रतिष्ठित जुवाडे पक्राउ
यो लेख शेयर गर्नुहोस