पर्सा– पर्सा राट्रिय निकुञ्जको बाटो हुदै पछिल्लो समय लागु औषधको ओसारपोसार भईरहेको खुलासा भएको छ ।
निकुञ्जको बाटो भएर सहज रुपले गाजा, चरेश ओसारपोसार गर्न प्रहरी वाधक नहुने संकेत पाएपछि तस्करहरु निकुञ्जकै बाटो प्रयोग गर्न थालेको प्रहरी अधिकारीहरुको भनाई छ ।
मकवानपुरबाट पर्सा निकुञ्जकै बाटो भएर पर्सा जिल्ला आई पुगेको चार सय ८९ किलो लागु औषध सहित एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेपछि तस्करी रुटको खुलासा भएको हो ।
पक्राउ परेका एक युवकलाई बरामद चरेश र गाजा सहित सार्वजनिक गर्दै प्रहरीले लागु औषध तस्करी प्रहरीको लागी मुख्य चुनौती बनेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सार्ले शुक्रवार दिउँसो कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद भएको लागु औषध चरेश, गाजा र गाजाको धुलो सहित पक्राउ परेका पर्सा कालिकामाई गाउँपालिका वडा नं. १ मुडली बस्ने ४० वर्षिय फुलसरिफ मियाँलाई सार्वजनिक गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ अकवा गाउँको बाँसघारीबाट बिहिवार राती करीब ८ बजे मियाँलाई ३० किलो लागु औषध गाजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कुमोध ढुंगेलले जानकारी दिए ।
मियाँलाई गाँजा सहित नियन्त्रणमा लिएर प्रहरी टोलीले सोधपुछ गर्दा सोही बाँसघारीमा जमिन मुनी गाडिएको अवस्थामा एक सय ९२ किलो चरेश र २ सय ६७ किलो गाजाको धुलो (पोल्याण्ड) बरामद गरेको प्रहरी उपरिक्षक ढुंगेलले जानकारी दिए ।
बरामद भएको लागु औषध सहित मियाँलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । केही वर्ष अगाडी लागु औषध गाँजा खेतीको लागी प्रसिद्ध पर्सामा उत्पादन हुन छाडेको गाँजा छिमेकी जिल्ला मकवानपुरबाट पर्सामा भित्रिएको प्रहरी उपरिक्षक ढुंगेलले बताए ।
खुल्ला सिमानाका कारण लागु औषध ओसारपोसार गर्ने कार्यलाई नियन्त्रणमा लिनु नेपाल प्रहरीको लागी प्रमुख चुनौती बनेको प्रहरी उपरिक्षक ढुंगेलको भनाई छ ।
लागु औषध नियन्त्रण नेपाल प्रहरीलाई मात्र नभई भारतिय प्रहरीको लागी पनि प्रमुख चुनौती बनेको छ । केही लागु औषध भारतबाट नेपाल र केही लागु औषध नेपालबाट भारत तस्करी हुदै आएको छ । यस बाहेक साउन महिना भरीमा मात्र पर्सा प्रहरीले लागु औषध चरेश, नाईट्रोभेट, डाईजेपाम, फेनारगन, नुरफिन, गाँजा, ट्रामाडोल, नाईट्राजेपाम सहित ४ महिला र २६ पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिएर लागु औषध ऐन अन्र्तगत मुद्दा चलाएको छ ।
लागु औषधको सहज आपुर्तिले नेपाली युवायुवती दुव्र्यसनीमा फस्दै गएकोले यसलाई नियन्त्रण गर्न सुरक्षा निकाय सहित समाज नै जागरुक हुनु पर्नेमा सरोकारवालाले जोड दिएका छन ।