मानव र वन्यजन्तुको द्वन्द कम गर्न बाघ–मित्र मधेश–अभियान’ को मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा उद्घोष

पवन यादव
पवन यादव पाठक संख्या - 134
5 मि. पढ्न लाग्ने समय

बारा– मानव र वन्यजन्तुको द्वन्द कम गर्न ‘बाघ–मित्र मधेश–अभियान’को बारामा सोमवार मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले उद्घोष गरेका छन ।

‘बाघ–मित्र मधेश–अभियान’को उद्घोष गर्दै मुख्यमन्त्री सिंहले आन्तरिक तथा बाह्य लगानीकर्तालाई निम्त्याएर पर्सा निकुन्जमा पर्यटन क्षेत्रमा लगानी गर्न आफूले उत्प्रेरित गर्ने पनि प्रतिबद्धता समेत जनाएका छन ।

विश्व बाघ दिवसको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज मुख्यालय आधाभारमा सोमवार आयोजित मानव बाघ सहअस्तित्व र सम्वृद्धि बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी सम्मेलन मार्फत पर्यटन क्षेत्रको विकासका निम्ती जोड दिईने बताए ।

आन्तरिक तथा बाह्य लगानीकर्तालाई निम्त्याएर मधेश प्रदेश सरकारले निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी गरीरहेको उनले जानकारी दिए ।

‘बाघ–मित्र मधेश–अभियान’ संचालन गर्न परियोजना प्रस्ताव गरी पेश गर्न मुख्यमन्त्री सिंहले निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरिएको बताए ।

नवगठित कार्यदलमा डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंह र डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कुमार कर्ण सदस्य रहेको उनले जानकारी र्दिए ।

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज र कोशि टप्पु वन्यजन्तु आरक्षलाई लक्षित गरी काम सुरु गर्ने तयारी आफुले गरेको मुख्यमन्त्री सिंहले बताए ।

‘चितवन राष्ट्रिय निकुञ्ज र ठोरीसंग जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन विकासको प्रचुर सम्भावना मैले देखेको छु,’ मुख्यमन्त्री सिंहले भने, ‘पर्सा निकुञ्जमा सक्दो बढी पर्यटक भित्रियाउन सरोकारवाला सबैले आ आफ्नो स्तरबाट प्रयास गर्नु पर्छ ।’ पर्सा निकुञ्जको प्रवद्र्धनका लागि मधेश प्रदेश सरकारले फास्ट ट्रयाकमा काम गर्ने र यसका लागि आवश्यक ऐन कानूनहरु पनि बनाउने उनले प्रतिबद्धता समेत जनाए ।

संघ सरकारको फेरबदलसंगै प्रदेश सरकारमा पनि फेरबदल हुने क्रम चल्ने गरेको भए पनि आफ्नो कार्यकाल जति अवधिको भएपनि पर्यटन क्षेत्रको विकासका लागि सक्दो कार्य गर्ने प्रतिबद्धता मुख्यमन्त्री सिंहले व्यक्त गरे ।

उक्त अवसरमा कार्यक्रमका बिशिष्ट अतिथि समेत रहेका जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले चितवन, ठोरी र भारतको बाल्मिकी टाइगर रिजर्भको संगमस्थल रहेको पर्सा राष्ट्रिय निकुञ्जको मधेश प्रदेश सरकारले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको बताए ।

‘पर्सा निकुञ्जमा पर्यटक भित्रियाउन आफुले लगानी गर्न अगाडी सर्दा पनि कानुनी वाधा अडचनको कारण काम गर्न सकिन,’ उनले भने, ‘सफारी गाडीमा अनुदान दिने आफ्नो योजना पनि विफल भयो ।’ योजना विफल भएसंगै यहाका पर्यटन व्यवसायी समेत निरुत्साहित भएको उनले बताए ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संगम ठोरीको शिकारीबास गाउमा इको टुरिजमको सम्भावना रहेकाले त्यहा ठूला लगानीकर्ता ल्याएर होटल व्यवसाय सञ्चालन गर्न वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नु पर्नेमा उनको जोड थियो ।

निकुञ्जमा बाघ सहित हाती, गैडा, गौरीगाई लगायत वन्यजन्तुको संख्या बढ्नुमा सबभन्दा बढी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितीको प्रभावकारी संरक्षणको भूमिकाको देन भएको जनहित मध्यवर्ती उपभोक्ता समिती सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठले बताए ।

‘निकुञ्जको छेउका बासिन्दाले वन्यजन्तुको प्रहार खेपेर भएपनि वन्यजन्तु संरक्षण गर्छन,’ उनले भने, ‘तर राज्यले निकुञ्ज छेउका वासिन्दा तथा मध्यवर्ती उपभोक्ता समितीका निम्ती केही सोचेको देखिदैन ।’ राज्य तथा निकुञ्ज कार्यालयले स्थानीय सरोकारवालाको आर्थिक उन्नतीका निम्ती कार्यक्रम ल्याउन आग्रह गरे ।

उक्त अवसरमा पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले एक कार्यपत्र प्रस्तुत गर्दै बाघको संख्या वृद्धीका लागि गरिएको प्रयास स्वरुप निकुञ्जमा तिब्र गतिमा बाघको संख्या बढेको बताए ।

‘निकुञ्ज घोषणा हुनु अगाडी यहा सन २००७ मा ८ वटा बाघ मात्रै थियो,’ उनले भने, ‘सन २०२२ मा आईपुग्दा बाघको संख्या बढेर ४१ पुगेको छ ।’ पछिल्लो समय निकुञ्ज छेउछाउका मानव बस्तीमा मानव र बाघबीचको द्वन्द्व अत्यधिक बढेर ५ महिनामा ५ वटा बाघ मारिएको र उद्धार गरिएका ३ बाघ पनि मरेको उनले जानकारी दिए ।

बाघ र मानवबीचको द्वन्द घटाउन तथा बाघलाई मित्रु जिव बनाउने अभियान सञ्चालन गरिएको उनले बताए । बाघको उद्धार, संरक्षण लगायतका अभियान सञ्चालन गर्न बारा, पर्साका जनता र निकुन्ज प्रशासनले सहकार्य गर्नु पर्नेमा उनले जोड दिए ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष सिताराम अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पर्सा राष्ट्रिय निकुञ्जका प्रवक्ता एवम संरक्षण अधिकृत सन्तोष भगतले संचालन गरेका थिए ।

उक्त कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले स्वागत गरेका थिए भने डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कुमार कर्णले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा मध्यवर्ती वन उपभोक्ता समितीका पदाधिकारी, संरक्षणकर्मी, संचारकर्मी लगायतको सहभागिता थियो ।

यो लेख शेयर गर्नुहोस