बारा–दुई साता अघि गोली प्रहार गरी हत्या गरिएका रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरीभूषण कुशवाहाको हत्यारालाई पक्राउ गर्न माग गर्दै क्याम्पसका विद्यार्थी तथा शिक्षक सडकमा उत्रिएका छन ।
न्याय देउ, हत्यारालाई पक्राउ गर, शान्ती सुरक्षा कायम गर जस्ता नारा अंकित प्ले कार्ड बोकेर शिक्षक, विद्यार्थी, क्याम्पस संचालक समितीका पदाधिकारी, राजनीतिककर्मीहरु शुक्रवार सडकमा ओर्लिएका हुन ।
रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैया परिसरबाट निस्केको जुलुश नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडी सडकमै बसेर करीब एक घण्टा धर्ना दिएका छन ।
घटनाको निश्पक्ष छानबीन नगरेको र घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउदै उनीहरुले प्रहरी प्रशासन विरुद्ध चर्का नारावाजी गर्दै बिहान ९ बजे देखी १० बजे सम्म सडकमै बसेका थिए ।
क्याम्पस पोशाकमै आन्दोलनमा होमिएका विद्यार्थीको हुल कलैया–बीरगंज सडक खण्डमा धर्नामा बसेपछि एक घण्टा सवारी आवागमन समेत रोकिएको थियो ।
प्रहरीले अपराधीको पहिचान खुलिसक्दा पनि अज्ञात समुहले गोली चलाएको भनी ढाकछोप गर्नुले सशंकित भएका शिक्षक, विद्यार्थीले प्रहरीलाई सच्चिन आग्रह गर्दै सचेत गराउन सडकमा उत्रिनु परेको बताए ।
धर्ना समापन कार्यक्रमलाई रामराजा क्याम्पसमा अध्यापन गराउदै आएका शिक्षक रविन्द्र गिरीले प्रहरी प्रशासन अपराधीलाई पक्राउ गर्नु भन्दा पनि घटनालाई ढाकछोप गरेको बताए ।
प्रहरी प्रशासनलाई बारम्वार ताकेता गर्दा पनि प्रहरीले शिक्षक, विद्यार्थीको मौनताको फाईदा उठाउदै घटनालाई फरक मोडमा लग्न खोजेको बताउदै रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाका संचालक समिती अध्यक्ष जंगबहादुर चौरसियाले बाराका प्रहरी प्रमुख महेन्द्र खडकालाई अन्तिम चेतावनी दिएका छन ।
अब पनि प्रहरीले आफ्नो कदम नसच्याए आन्दोलनलाई कडा बनाउने र त्यसको सम्पुर्ण जिम्मेवारी प्रहरीले लिनु पर्ने उनीहरुले बताएका छन ।