खडेरीले बाराका किसान आक्रान्त

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 7
3 मि. पढ्न लाग्ने समय

बारा– यस वर्षको गर्मीयाम सुरु भए यता पहिलो पटक वर्षा हुदा गर्मी र सुख्खाले आक्रान्त बनेका किसान केही राहत महशुस गरेका थिए । तर पुन: मौसमले कोल्टो फेरेपछि यहाका मानिसलाई बेजोड गर्मीको सामना गर्नु परीरहेको छ ।

गर्मी र सुख्खाले जनजिवनलाई मात्र असर पुर्याएको छैन । यसले सबभन्दा बढी कृषि क्षेत्रलाई प्रभावित बनाएको छ । सिचाई सुविधा पुगेका केही किसानले मात्र चैते धान लगाएका छन ।

तर बाली लगाईसकेको किसानलाई त्यसलाई जोगाउनै धौं धौं परीरहेको छ । मौसमी वर्षामा टिकेको बालीनालीलाई उब्जाउन अहिले भूमिगत सिचाईलाई विकल्पमा लिईएपनि त्यो धेरै खर्चिलो भएकोले किसान थप चिन्तित बनेका छन ।

समय समयमा वर्षा किसानलाई धेरै समस्या भएको कलैया उपमहानगरपालिका वडा नं. १७ ब्रम्हपुरीका किसान रामईश्वर पटेलले बताए ।
‘प्रयाप्त वर्षा नहुदा अहिले सम्म अर्को बाली किसानले लगाउन सकेका छैनन् ।,’ उनले भने, ‘सचिाईको विकल्पको रुपमा रहेको विद्युतिय मोटर समेत भोल्टेज नपुगेर संचालनमा कठिनाई भईरहेको छ ।’ अहिले त आफुहरुलाई सिचाई गर्न झन समस्या बढेको उनले जानकारी दिए ।

परम्परागत रुपमा संचालन हुदै आएको बाँध पईन बन्द हुदा अहिले किसानलाई सिचाई गर्न धेरै समस्या भएको कलैया उपमहानगरपालिका वडा नं. १७ कै अर्का किसान करीमन पटेलले बताए ।

‘खेति गर्दा सब भन्दा बढी सिचाईमै खर्च हुने गरेको छ,’ उनले भने, ‘आकाशे पानीको भरमा खेती गर्दै आएका किसानलाई यसपाली लगानी उठान समेत मुश्किल पर्ने आकलन गरिएको छ ।’ सिचाईमै धेरै पैसा खर्च भएको उनले सुनाए ।

बाली उत्पादनको प्रमुख आधार नै सिचाई हो । तर सुख्खा भईदिएपछि किसानलाई स्यालो ट्युवेलबाट पनि सिचाई गर्न समस्या भईरहेको कलैया उपमहानगरपालिका वडा नं. १६ उत्तरझिटकैयाका किसान हरी यादवले बताए ।

धेरै ठाउमा ट्युवेलमा पानी आउने समेत छाडीसकेको छ । त्यसैले सतही सिचाईलाई प्राथमिकता दिनु पर्नेमा कृषि ज्ञान केन्द्र बाराका निमित्त प्रमुख राजनारायण प्रसाद साहले बताए ।

‘तराई मधेशमा बसोवास गर्ने अधिकांश परिवार कृषिमा अधारित छन,’ उनले भने, ‘उनीहरु सबै आकाशे पानीको भरमा खेती गर्छन ।’ तर यसपाली चाहिएको बेलामा वर्षा नभईदिदा किसानलाई समस्या भएको उनले बताए ।

स्थानीय खोला, नदी सुकेर परम्परागत रुपमा संचालित बाँधपईन समेत ठप्प हुदा किसानलाई सिचाईमा थप आर्थिक भार थपिएको उनले बताए ।  उनका अनुसार, गत वर्ष चैते धान १६ हजार हेक्टर, भदैया धान १२ हजार ९ सय हेक्टर र अगहनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाईएको थियो ।

यस वर्ष १७ हजार हेक्टरमा चैते धान लगाई सकेको अवस्था छ । चैत्े धानको खेती बढे पनि खडेरीले किसानलाई चिन्तित बनाएको उनको भनाई छ ।

सिचाईको लागी प्रयोग हुदै आएको खोला नाला खडेरी पुर्ण रुपमा सुकीसकेका छन । स्यालो ट्युवेलको ग्राउण्ड लेवल पनि घटी सकेको छ । त्यसैले देशको ठुला नदीको पानीलाई नहरको माध्यमबाट सतही सिचाईको रुपमा प्रयोग गर्नु पर्नेमा विज्ञहरुको जोड छ ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस