प्रतापपुर (मनहरी)– चोरी शिकारी तथा दुर्घटनामा परेर मर्ने वन्यजन्तुको संख्या बढे पनि पर्सा राष्ट्रिय निकुञ्जले सुरक्षा सतर्कता अपनाएपछि पछिल्लो समय निकुञ्जमा वन्यजन्तुको संख्या बढेको छ ।
संख्या बढेकै कारण निकुञ्ज भित्र घुमफिर गर्न आउने पर्यटकलाई सहजै गौडा, मृग सहितका वन्यजन्तु देखा पर्न थालेको संरक्षणकर्मीले बताएका छन । त्यसैले यहाँ पछिलो समय भारतिय पर्यटकको चाप बढ्न थालेको छ ।
यस अघि भारतको रक्सौल शहर घुम्दै धेरै पर्यटक नेपाली गन्तव्यमा पुग्ने तयारी गर्थे । उनीहरुले रक्सौल–बीरगंज नाका हुदै नेपाल प्रवेश गर्ने मुख्य नाका बीरगंज भन्सार नै हो । नेपाली भन्सारमा भन्सार काटेर उनीहरुले अगाडीको यात्रा तय गर्छन । नाकाबाट छुटेको भारतिय पर्यटक सवार सवारी साधन एकै पटक सौराहामा रुक्ने गर्छ ।
किन भने सौराहाको आलिशान होटलमा बस्ने र त्यहा नजिकै देखिने वन्यजन्तुको अवलोकन गर्ने भारतिय पर्यटकहरुको पहिलो रोजाई हुन्छ । उनीहरुले सब भन्दा बढी गैंडा हेर्ने रहर गर्छन । बीरगंज नाका नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्ज माथी विश्वास नलागेर उनीहरु एकै पटक सौराहा हुईकन्थे ।
तर ती सबै पर्यटकको लागी कम्तीमा एक/दुई दिन सहजै पर्सा राष्ट्रिय निकुञ्जमा बिताउन सक्ने माहौंल अहिले तयार भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज भित्र सहजै रुपले गैंडा, मृग, चितलको बथान, बदेल, मयूर, लगायतका पशुपंक्षी एकै स्थलबाट हेर्न सक्ने वातावरण निकुञ्ज कार्यालयले बनाएको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख एवम वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिएका छन ।
‘अहिले पर्सा र चितवन राष्ट्रिय निकुञ्ज दुबै स्थानमा एउटै टिकटबाट प्रवेश पाउने व्यवस्थामा हामी लागेका छौं,’ उनले भने, ‘यो नियम लागु गर्न पहिलो चरणको काममा छलफल भईसकेको र थप निती कार्यक्रम तयार गरी हाल प्रक्रियामा रहेको छ । चाडै नै यो व्यवस्था लागु हुने छ ।’ २९ औं वन्यजन्तु सप्ताह दिवसको अवसर पारेर पहिलो चरणमा बारा, पर्सा, मकवानपुरका स्थानीय पत्रकारहरुलाई पहिलो पर्यटकको रुपमा गन्तव्य स्थलको अवलोकन गराईएको उनले जानकारी दिए ।
आम पर्यटक सम्म पर्सा राष्ट्रिय निकुञ्जले निर्माण गरेको प्रतापपुर पोष्ट पनि एकदमै लाभदायक गन्तव्यको रुपमा विकसित भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रवक्ता एवम सहायक संरक्षण अधिकृत सन्तोष भगतले जानकारी दिए ।
गन्तव्यको प्रचार प्रसारमा टेवा पर्याउन पत्रकारहरुलाई आन्तरिक पर्यटकको रुपमा गन्तव्य अवलोकन भ्रमण गराईएको उनले जानकारी दिए ।
भ्रमणमा निस्केका पत्रकारहरुले प्रतापपुरमा आहाल खेल्दै गरेको एकसिंगे गैंडाको तस्विर, भिडियो क्यामरामा सहजै कैंद गर्न भ्याए । गैंडा मात्र होईन । त्यही बेला बँदेलको लस्कर, मयूर र साझ पखँ मयुर, बदेल सहित मृग, चितल, हरिणको दुई सय भन्दा बढीको ३/४ वटा झुन्ड सहितका पुशुपंक्षी हेरेर खुशीले गदगद भएको अनुभव पत्रकारले सुनाए ।
पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु तथा चरा चुरुगींको संख्या बढेकोले उनीहरुलाई सहजै देख्ने वातावरण बनेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष सिताराम अर्यालले बताए ।
‘रातीमा आउने जंगली हातीको बथान पनि प्रतापपुरमै हेर्न सकिन्छ,’ उनले भने, ‘हामीले पर्यटकको रात्रीवासको लागी होम स्टेको व्यवस्थापन गरेका छौं । विस्तारै होटल व्यवस्थापनको तयारी समेत सुरु गरेका छौं ।’ निकुञ्जमा आउने पर्यटकको लागी होटल निर्माण लगायतका काम सुरु गर्न नीतिगत वाधा अडचन फुकाउन आफुले पहल गरीरहेको उनले बताए ।
यहा आउने पर्यटकको लागी हाती सफारी, पैदलमार्ग, सुरक्षित बास बस्ने स्थल समेतको व्यवस्थापन गरिएको उनले बताए । आफुले सधै यो अस्थानमा वन्यजन्तु हेर्ने गरेको अध्यक्ष अर्यालले बताए ।
बारा, पर्सा र मकवानपुर जिल्लाको वन क्षेत्र अगोटेर घोषणा भएको पर्सा निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको संख्या अचाकली वृद्धी भएको निकुञ्जका प्रवक्ता भगतले बताए ।
उनका अनुसार २०७९ मा गणना गरिएको वन्यजन्तुहरुको तथ्यांक अनुसार निकुञ्जमा एक सय ५ संख्या रहेको गौरी गाईको संख्या बढेर अहिले एक सय ६४ पुगेको छ । त्यस्तै १८ वटा संख्या रहेको बाघको संख्य बढेर ४१ पुगेको छ । पर्सा निकुञ्जमा मात्रै ४५ देखी ६० वटा हातीको संख्या रहेको उनले बताए ।
रेकर्डमा ३ वडा संख्या गैंडा पनि बढेर अहिले ८/९ संख्यामा पुगेको र ती गैंडाको प्रमुख वासस्थान प्रतापपुर घासे मैदान बनेको उनले जानकारी दिए ।
अहिले भारतिय पर्यटकको लागी नजिक र सहज रुपले वन्यजन्तु हेर्ने गन्तव्य पर्सा निकुञ्ज बनेको आम पर्यटकको भनाई छ । वन्यजन्तुमा रुची राख्ने पर्यटकको लागी धेरै सजिलो गन्तव्यको रुपमा मनहरी भन्दा दक्षिणमा रहेको प्रतापपुर निकुञ्ज क्षेत्र बनेको स्थानीय पर्यटन व्यवसायीले बताएका छन ।