बारा–हिन्दु धर्मावलम्बीहरुको महान पर्व चैते छठ शुक्रवार देखी विधिवत सुरु भएको छ । मधेश प्रदेशका राजधानी जनकपुरसंगै देशैभरी प्रत्येक वर्ष कार्तिक महिना र चैत महिनामा छठ पर्व मनाउने चलन छ ।
चैत महिनामा व्रतालुलाई निराहार बस्न समस्या हुने भएकोले यस महिनामा कम र कार्तिक महिनाको छठ पर्व मनाउनेको संख्या बढी हुन्छ । हिन्दुहरुले मान्ने सबै व्रत भन्दा कठिन व्रत छठलाई मानिन्छ ।
छठ व्रतको पहिलो दिन शुक्रवार अर्थात आज व्रतालुले नहाय खाय विधि पुरा गरेका छन । उनीहरुले नजिकको जलाशय, ताल, सरोवर आदीमा नुहाएर शुद्ध भई लहसुन, प्याज नहालेको शुद्ध सात्विक भोजन सेवन गरे ।
व्रतालुहरुले पानीले सफा गरेर सुकाएको गहुलाई पानीले सफा गरिएको जातामा शुद्धता पुर्वक पिधेका छन । ब्रतको लागी गहु पिधने मेसिन राईसमिल संचालकले सफा गरेर संचालन गर्न नमान्दा ब्रतालुले आफै घरमै जातामा गहु पिधेर पिठो निकालेका हुन ।
ब्रतालुहरु नहायखाय विधी पुरा गरेर दिनभरी प्रसाद बनाउनको लागी शुद्ध गहुको पिठो तयार गर्न व्यस्त देखिए । बाराको कलैया उपमहानगरपालिका १६ की ललिता ठाकुर पनि जातामा गहु पिध्न दिनभरी व्यस्त रहिन । आफुले जाता पेल्न नसकेपछि उनले छिमेकीलाई सहयोगको लागी गुहारेकी थिईन । छिमेकीको सहयोगमा उनलाई जाताले पिठो पिध्न उनलाई ३ घण्टा बढी समय खर्चिनु पर्यो।
उनी मात्र होईन । यहाका सबै व्रतालुहरुले पुजाको लागी तयार पारिने प्रसादको लागी शुद्ध पिठो निकाल्न यसरी नै दिनभरी जातो पेलेको अर्का स्थानीय सुनिता मण्डलले बताईन ।
‘कार्तिक महिनामा गरिने छठ व्रत जस्तै चैते छठमा पनि सबै विधि पुरा गर्नु पर्ने हुन्छ,’ उनले भनिन, ‘यो महिनामा व्रत गर्नेहरुको संख्या थोरै रहने गरेकोले कार्तिक महिनामा मनाउने छठ जस्तो तामझान हुदैन ।’ अहिले आएर ५/७ वर्ष यता चैते छठ गर्ने व्रतालुहरुको संख्या बढदै गएको उनले बताईन । जिल्लाको ग्रामिण तथा शहरी क्षेत्रमा चैते छठ मनाउनेको संख्या धेरै बढेको उनले जानकारी दिईन ।
उनका अनुसार व्रतालुहरुले छठ व्रतको दोस्रो दिन अर्थात शनिवार रसियाव रोटी (खरना) विधि पुरा गर्ने छन । शुद्ध पिठोले पकाएको रोटी र सख्खर वा मिठा, दुध र शुद्ध चामलले पकाईएको रसियाव (खिर) रातीको पुजा सकेर आफुसंगै घर परिवारलाई खुवाउने चलन छ । त्यपछि व्रतालुले पानी सम्म खान पाउदैनन । त्यसैले यस पर्वलाई निर्जला पर्व पनि भन्ने गरिन्छ ।
निराहार व्रत बसेका व्रतालुले आईतवार छठ पर्वको तेस्रो दिन अस्ताउदो सुर्यलाई बासको सुपुलीमा छठको पुजा सामग्री नरिवल, फलफुल, ठेकुवा, बतासा, अक्षता लगायतका पुजा सामाग्री राखेर अर्घ दिने छन ।
त्यसपछि भ्याए घाटमै वा घरमा आएर रातभरी व्रतालुले जाग्राम बस्ने चलन रहेको मोतिसरकी किरण देवीले बताईन । त्यस क्रममा भजन किर्तन र स्थानिय भाषामा धार्मिक गित गाएर निन्द्रा लाग्न नदिने माहौल बनाईन्छ ।
पर्व अन्तिम अर्थात चौथो दिन सोमवार उदाउदै गरेको सुर्यको पहिलो किरणलाई अर्घ दिदै यस पर्वलाई विधिवत समाप्त गरिन्छ । पर्व सम्पन्न भएपछि ईष्टमित्र तथा आफन्त कहा ठेकुवा लगायतका प्रसाद (बायन) पठाउने चलन छ ।
छठ व्रत बस्दा ईच्छाएको कामना पुरा हुने जनविस्वास रहेकोले यस व्रतमा व्रतालुको संख्या बढदै गएको जनविश्वास छ । छठ व्रत बस्दा सन्तान प्राप्ती हुने, चर्मरोग निको हुने जनविश्वास छ ।
चैते छठ व्रत मान्न राजधानी जनकपुर सहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी सहित तराईका विभिन्न जिल्लामा छठीघाटहरु सजाउने काम भईरहेको स्थानीयले जानकारी दिएका छन ।