पर्सा- पुर्वाग्रह राखेर पर्सा प्रहरीले नेशनल मेडिकल कलेज भेडियाहीमा छापामारी एमडी सहित दुई जनालाई नियन्त्रणमा लिएको आराेप कलेज प्रशासनले लगाएकाे छ ।
नेशनल मेडिकल कलेज प्रालि बीरगंजका प्रशासन विभागका प्रशासकिय अधिकृतले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरि यस्तो आराेप लगाएका हुन ।
बीरगंज महानगरपालिका -१५ भेडीयाहीमा रहेकोे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा प्रहरीले छापा मारेर पूर्वाग्रहपुर्ण कार्य गरेकाे अस्पतालले जनाएको छ ।
प्रहरीले मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह नियन्त्रणमा लिएपछी अस्पतालले एक प्रेस बिज्ञप्ती जारी गरि तत्काल दुबै जनाकाे रिहाईको माग गरेको हो ।
मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि सोमबार दिउँसो प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएकाे छ ।
कलेजका सेन्ट्रल लैब अनुगमन क्रममा म्याद सकिएका केही रिएजेन्ट र रसायन प्रयोगशालामा डिस्पोजल गर्न वा निष्कासन गर्ने प्रक्रियामा छुट्टै राखिएको अनुगमनको क्रममा फेला परेको अस्पतालले जनाएको छ ।
साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विभाग (NHPL) र अन्य नियामक निकायहरूको निर्देशन, दिशानिर्देश, प्रक्रिया, कार्यविधि र प्रोटोकलहरूको कडाईका साथ पालन गरेको पनि प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
यस्तै कुनै पनि प्रयोगशालामा रिएजेन्ट र रसायनहरूको म्याद समाप्त हुनु सामान्य कुरा पनि रहेको अस्पतालले जनाएको हो ।
यो तथ्य निरीक्षण टोलीलाई विधिवत व्याख्या गरिएको भएपनि निरीक्षण टोलीले कलेजको ल्याबमा म्याद नाघेका वस्तु प्रयोग गरेको आरोपमा कलेजका प्रबन्ध निर्देशक र प्रयोगशाला इन्चार्जलाई (डाक्टर) नियन्त्रणमा लिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
साथै यो कार्य अनुपयुक्त, अनुचित, अन्यायपूर्ण र असाधारण भएकोले कुनै पनि सम्भावित घटनाको बहानामा प्रबन्ध निर्देशक र प्रयोगशाला ईन्चार्जलाई हिरासतमा लिने स्पष्ट नियतका साथ यो द्वेषपूर्ण र पूर्वाग्रहपूर्ण कार्य गरेको महसुस भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता कार्यको आलोचना गर्दै त्यस्ता कार्यहरूलाई ठाडै अस्वीकार गरि कलेजका प्रबन्ध निर्देशक र प्रयोगशाला इन्चार्जलाई तत्काल रिहा गर्न माग गरेको छ ।
हालै पर्सामा सरुवा भई आएका पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले कानुुनी अधिकारकाे दुरुपयोग गरि मेडिकल कलेजमा प्रहरी आतंक मचाएकाे र यसले सिङ्गो कलेजलाई बदनाम गराउने काम गरेकाे विज्ञप्तिमा जनाईएकाे छ ।