पर्सा– शव परिक्षण नै नगराई बिहिवार अन्तिम संस्कार गर्न लागिएका एक भारतिय युवतीको शव प्रहरीले बीरगंजबाट नियन्त्रणमा लिएको छ ।
हतार हतारमा दाहसंस्कार गर्न लागिएकी भारत बिहार घर भएकी युवती १९ वर्षीया जयुनत खातुनको शव नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
किशोरी मृत्युको कारण शंकास्पद देखिएपछि शव नियन्त्रणमा लिएर परिक्षणको लागी नारायणी अस्पतालमा पठाईएको उनले बताए ।
मृतक किशोरीको रक्तस्राव भईरहेकोले बलात्कार भएको हुन सक्ने आशंकामा शव नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
जबर्जस्ती करणी पश्चात अत्याधिक रक्तस्राव भएर सिकिस्त बनेकी किशोरीको उपचारको क्रममा मृत्यु भएको हुन सक्ने आशंका गरिएको उनले बताए ।
‘युवतीको मृत्युको कारण लुकाउन हतारमा शव गाड्न खोजिएको थियो,’ उनले भने, ‘घटना शंकास्पद देखिएपछि शव नियन्त्रणमा लिएका हौं ।’ शव परिक्षण रिपोर्ट नआएसम्म युवतीको मृत्युको कारण बारे केही भन्न नमिल्ने उनले बताए ।
शव गाड्ने बेलामा देखिएको आफन्तको गतिविधी शंकास्पद भएको सुचना आएपछि प्रहरी खटाएर युवतीको शव नियन्त्रणमा लिईएको उनले जानकारी दिए ।
घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका सोधपुछका लागि मृतकका आफन्त सहित चार जनालाई नियन्त्रणमा लिईएको प्रहरी उपरिक्षक पाण्डेले बताए ।
घटनाबारे अनुसन्धान भइरहेकोले प्रहरी नियन्त्रणमा परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए । घटना पर्साका एक धनाड्य तथा राजनीतिक परिवारसंग जोडिएकोले यसलाई गम्भीरता पुर्वक लिईएको उनले स्पष्ट पारे ।
श्रोतका अनुसार प्रहरीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारका एक सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।