आगो निभाउन वारुणयन्त्रकर्मीले मेयरको आदेश कुर्दा रौतहटमा करोडौंको काठ जलेर खरानी

पवन यादव
पवन यादव पाठक संख्या - 2.4k
3 मि. पढ्न लाग्ने समय

चन्द्रनिगाहपुर(रौतहट)– वारुणयन्त्र संचालकले चन्द्रपुर नगरपालिकाका मेयरको आदेश कुर्दा रौतहटमा सोमवार करोडौं मुल्य बराबरको काठ दाउरा जलेर खरानी भएको छ ।

मेयर संजय काफ्लेले वारुणयन्त्र संचालनको जिम्मा लिएको सशस्त्र प्रहरीलाई आदेश दिन ढिलाई गरेपछि वनमा लागेको आगोले विकराल रुप लिएको जनाईएको छ ।

वनमा घास फस्टाओस भन्ने उदेश्यले अनाधिकृत रुपमा वनमा प्रवेश गर्ने गोठालाहरुले आगो लगाउदा वर्षेणी यसरी डढेलो लाग्ने गरेको वन संरक्षणकर्मीले बताएका छन ।

अहिले बारा, पर्सा, रौतहट, सर्लाही, महोतरी लगायत जिल्लामा रहेको चुरे तथा वन क्षेत्रमा डढेलो हेर्न सकिन्छ । तर सम्बन्धित निकायले डढेलो नियन्त्रण गर्न हेलचक्रयाई गर्दा वनमा डढेलोले ठुलो क्षति पुर्याएको पाईएको छ ।

डढेलोलाई समयमा नियन्त्रण गर्न नसकिदा रौतहटको चन्द्रपुर नगरपालिका स्थित वन क्षेत्रमा घाटगद्दी गरिएको काठदाउरा सोमवार आगोको चपेटामा परेको छ ।

पुर्व–पश्चिम राजमार्गकै छेउमा घाटगद्दी गरिएको काठदाउरामा आगो लागेको खबर पाउने वितिकै डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र सहितको टोली घटनास्थलमा पुगेर आगलागी नियन्त्रण गर्ने प्रयास सुरु गरेको थियो ।

नियन्त्रण भन्दा बाहिर पुगेको आगोलाई निभाउन चन्द्रपुर नगरपालिकाको वारुण यन्त्रलाई सुचना दिईएको डिभिजनल अधिकृत मिश्राले जानकारी दिए ।

घाटगद्दीमा लागेको आगलागीको घटनाबारे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरलाई समेत जानकारी गराईएको उनले बताए । ‘सशस्त्र प्रहरी सन्तपुरकै जिम्मामा रहेको चन्द्रपुर नगरपालिकाका वारुण यन्त्र बाहिर निकाल्न चन्द्रपुर नगरपालिकाका मेयरको आदेश अनिवार्य रहेको रै’छ,’ डिभिजिनल अधिकृत मिश्राले भने, ‘मेयरको आदेश कुर्दाकुर्दै सशस्त्र प्रहरीले वारुणयन्त्र निकाल्न करीब २ घण्टा ढिलो गर्यो ।’ समयमा नगरपालिकाको दमकल आगलागी नियन्त्रण गर्न घटनास्थलमा नआईपुग्दा हाम्रै आँखा अगाडी हेर्दाहेर्दै घाटगद्दीको अधिकांस काठदाउरा बल्यो । काठमा लागेको आगो बल्दै गरेको दृश्य आफुहरु टुलुटुलु हेर्न वाध्य भयौं । तर जोरले बगेको तातो हावाले फैलाएको आगोले एकैछिनमा घाटगद्दीको अधिकांश काठ दाउरालाई खरानीमा परिणत गरीदिएको उनले गुनासो गरे ।

चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेसंग प्रतिक्रिया लिन उनको मोबाईल नं. ९८४५२२२९८० मा पटक पटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेन्न ।

चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, हरिअवन नगरपालिका, कोल्हवी नगरपालिका र निजगढ नगरपालिकाबाट आएको वारुण यन्त्रको मद्दतले आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको घटनास्थलमा रहेका सहायक वन अधिकृत राजेश कुमार साहले जानकारी दिए । साझ सवा ७ बजे सम्म पनि घाटगद्दीमा लागेको आगलागीलाई नियन्त्रणमा लिने प्रयास भईरहेको तर आगलागी नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए ।

आगलागीमा परेर करोडौं मुल्य बराबरको काठ दाउरा जलेर खरानी भएको अनुमान गरिएको वन कार्यालय रौतहटका अधिकारीहरुले बताएका छन । वनमा लागेको आगलागीले राजमार्गमा गुडीरहेको सवारी साधनलाई समेत असर पुर्याईरहेको पीडितले बताएका छन ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस