भारतमा किनमेल गर्न जाने उपभोक्ता सुरक्षाकर्मीबाटै पीडित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
4 मि. पढ्न लाग्ने समय

बारा– भारतिय सिमानासंग जोडिएको मटिअर्वा लगायत गाउका वासिन्दालाई किनमेल गर्न भारतिय बजार नै पुग्नु पर्छ । सिमावर्ती क्षेत्रका ९९ प्रतिशत नेपाली भारतिय बजारमा निर्भर छन ।

घर व्यवहार चलाउने देखी लिएर विहावारी सम्मका लागी मालसामान किनमेल गर्न उनीहरु भारतिय बजार नै पुग्न पर्छ । किनभने ती गाउबाट सदरमुकाम कलैया किनमेल गर्न आउदा चर्काे सवारी भाडा र दिनभरीको समय खर्चिनु पर्छ ।

भारतिय बजार नजिकै पर्छ र त्याहा मालसामान पनि सस्तोमा पाउने भएकोले हरेक नेपाली भारतिय बजारमै पुग्ने गरेको कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शंकर गुप्ताले बताए ।
घर व्यवहार चलाउन किनमेल गरी मालसामान ल्याउने व्यक्तीलाई सिमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले अनावश्यक दुःख दिने गरेको उनले बताए ।

‘लाईन तथा व्यवहार मिलाएका तस्करको मालसामान सुरक्षाकर्मीले रोक्दैन्न,’ उनले भने, ‘सर्वसाधारणलाई विभिन्न बहाना बनाई अल्झाउने, दुःख दिने गर्छन ।’ तर तस्करलाई रोक्दैनन् । यसले तस्कर र सुरक्षाकर्मीबीच मिलोमतो रहेको पुष्टी गर्ने गरेको उनले बताए ।

सिमा क्षेत्रमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सिमा सुरक्षा गर्नु भन्दा पैसा कमाउनेतिर बढी केन्द्रित भएको देखिएको वडाध्यक्ष गुप्ताले आरोप लगाए ।
सर्वसाधारणहरुले भारत विहारको आदापुरबाट आफनो घरायसी उपभोगका लागि ल्याउने गरेको दैनिक उपभोगका वस्तुहरु ल्याउँदा सिमामा खट्ने सुरक्षाकर्मीहरुले दुख दिने गरेको वडाध्यक्ष गुप्ताको भनाई छ ।
उनीहरुले तस्करहरुलाई छुट दिएको र सर्वसाधारणलाई दुःख दिने गरेको वडाध्यक्ष गुप्ताले बताए । मटिअर्वाबाट सदरमुकाम कलैया ९ किलोमीटरको दुरीमा रहेको छ । मटिअर्वाबाट सदरमुकाम कलैया आउन जान आधी घण्टा जति लाग्छ र समान समेत महंगो पाइने गरेको मटिअर्वाका एक वृद्धले बताए ।

कलैया पुग्न अटोमा जाने हो भने पनि ५० रुपैयाँ भाडा लाग्छ । तर यहाँबाट भारत विहारको आदापुर पोखरासम्म हिडेर पुग्न २० मिनेट लाग्छ र समान पनि कलैया बजार भन्दा सस्तो पाइन्छ । त्यसैले यहाँका स्थानीयहरु विशेष गरि भारतबाट नै दैनिक उपभोग्य चिज वस्तुहरु किनेर ल्याउने गरेको उनले जानकारी दिए ।’ भारतबाट दैनिक उपभोग्य वस्तुहरु किनेर ल्याउँदा सुरक्षाकर्मीहरुले पैसा माग्ने विभिन्न बहानामा दुःख दिने गरेको उनले बताए ।

सर्वसाधारणलाई पारिबाट सरसमान ल्याउन दुःख दिए पनि तस्करहरुलाई छुट दिएको र उनीहरु सहज रुपमा मालसमानहरु ओेसार पसार गर्ने गरेको उनले आरोप लगाए । तस्करहरुले माल समान वारिपारि ओसार पसार गरे वापत पैसा दिने गरेको उनले भने, ‘यहाँ दिनमा मात्र होइन राती राती मालसमान वारिपारि हुने गरेको स्थानीयले जानकारी दिएका छन ।

मालसमान वारिपारि गर्दा तस्करहरुले सुरक्षाकर्मीहरुलाई पैसा दिने गरेका छन । दिनहुँ जसो मटिअर्वा भन्सारबाट सुरक्षाकर्मीहरुको मिलोमतोमा मालसमान ओसार पसार हुने गरेको छ । यहाँबाट दैनिक तस्करहरुले सुरक्षाकर्मीहरुको मिलोमतोमा अवैध रुपमा मालसमान ओसार पसार गरे पनि कुनै कारवाही गरिदैन । उनीहरुको लागि छुट दिइएको छ ।

तस्करहरुले साइकल मोटरसाइकल लगायतका सवारी साधनमा खुलेयाम रुपमा तस्करी गरेपनि सम्बन्धित निकाय मौन देखिएका छन् । उनीहरु माथि कुनै कारवाही हुँदैन । तर सर्वसाधारणहरुले आफनो प्रयोगको लागि दुई चार किलो समान ल्याए भने उनीहरुलाई विभिन्न बहानामा दुःख दिने गरिएको उनले आरोप लगाए ।’

बाराको सिमावर्ती गाउ, नाकाको अनुगमन सुरु गरिएको र त्याहाको वास्तवीक समस्या बुझ्ने काम भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए । प्रहरी र तस्करसंग मिलेमतो रहेको कुराबारे आफुलाई केही जानकारी नभएको उनले बताए । बदमासी गर्ने सुरक्षाकर्मीलाई कानुन बमोजिम कारवाही गरिने उनले बताए ।

यो लेख शेयर गर्नुहोस